कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्ती आक्रमणबाट महिला घाइते

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका १ हात्तीथलामा हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । सोमबार दिउँसो शुक्लाफाँटा मध्यवर्ती क्षेत्रको वैजनाथ सामुदायिक वनभित्र घाँस काट्न गएकी स्थानीय ४० वर्षीया जानकी धामी घाइते भएकी हुन् ।

जानकीको दायाँ खुट्टाको घुँडा भाँचिएको छ । उनको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि भारत रिफर गरिएको छ । जानकी बिहान १० बजे खाना खाएरनजिकैको सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । दिउँसो २ बजेतिर वनमा आएको हात्तीको झुन्डले आक्रमण गरेको उनले बताइन् ।


‘सबैजना वनमा घाँस काटिरहेका थियौं, अचानक ५/६ हात्ती आए,’ उनले भनिन्, ‘सबै भाग्न थाल्यौं पछाडीबाट सुँडले फालेर च्यापेर गयो ।’ उनका अनुसार सामुदायिक वनको कार्यालयनजिकै ३५/४० महिला घाँस काटिरहेका थिए । अचानक हात्ती आएपछि सबै भागेका हुन् । उनी अन्तिममा थिइन् ।


यसअघि असोज अन्तिमतिर कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका १० बंशाहाका ६५ वलदेव बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । सिद्ध वैजनाथ सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट उनको मृत्यु भएको हो । कञ्चनपुरमा ५ वर्षयता हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।


हात्तीथला क्षेत्रमा २ महिनादेखि जंगली हात्तीले अन्नबालीमा नोक्सान पुर्‍याउँदै आएको थियो । बीचमा केही दिन सामुदायिक वनमा हात्ती देखिएका थिएनन् । सामुदायिक वनका कोषाध्यक्ष गणेशबहादुर धामीका अनुसार सोमबार धेरै

दिनपछि उक्त क्षेत्रमा हात्ती देखापरेका हुन् ।


भारतको दुधवा नेसनल पार्कबाट शुक्लाफाँटा छिर्ने हात्तीहरूले जिल्लाको दक्षिणी क्षेत्रमा समेत अन्नवालीमा ठुलो क्षति पुर्‍याउने गरेका हुन् ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?