गाउँलाई ज्येष्ठ नागरिककै भर

मेनुका ढुंगाना

(अछाम) — दसैंतिहारका बेला मंगलसेन नगरपालिका १३ की धौली धामीले खुबै रमाइलो महसुस गरिन् । उमेरले ६७ वर्षकी उनी खुसी हुनुको खासै कारण केही थिएन । चार वर्षपछि ३ छोरा चाडबाडको मौका पारेर भारतबाट घर आएका थिए ।

गाउँलाई ज्येष्ठ नागरिककै भर

छोराहरू आएपछि घरको माहोल नै बदलिएको उनले महसुस गरिन् तर यो खुसीको माहोल धेरै टिकेन । तिहार सकिएको भोलिपल्ट उनको घर पहिलाजस्तै खाली भयो । छोराहरू फेरि कामको खोजीमा भारत हिँडे । ‘छोराहरू हँसाउँदै घर आए, रुवाउँदै गए,’ छोरालाई मंगलसेन बसपार्कसम्म पुर्‍याउन आएकी धौलीले भनिन्, ‘मलाई सञ्चो पनि थिएन । छोराले जिल्ला अस्पतालमा लगेर उपचार गराएर आफू बम्बै गए ।’

छोराहरू फर्केर जाँदा उनी निराश मात्रै छैनन् । सहाराको चिन्ता छ । गाउँमै उब्जनी हुन छाडेको धेरै भयो । खेतबारी बाँझै छ । ‘पानी नभएर यो वर्ष खेत रोप्नै पाइएन,’ छोरा नरेश धामीले भने, ‘पहिले त एक वर्ष बम्बै नजाँदा पनि खेतबाट उब्जनी हुने धानले गुजारा चल्थ्यो । अहिले त त्यै खेत पनि रोप्न पाइएन ।’ उनका अनुसार खेत बाँझै भएपछि मंसिर/पुसमा भारत जानेहरू अगाडि नै जान थालेका छन् । बम्बै नगईकन गुजारा चल्दैन । बुवाआमालाई एक्लै छाडेर जानु रहर होइन बाध्यता हो ।’

नातिको सहारामा बस्दै आएकी तुर्माखाँद गाउँपालिकाकी ७६ वर्षीया धनी विक अब एक्लो कसरी बस्ने भन्ने चिन्तामा छिन् । छोरीको घरमा बस्दै आएकी उनलाई अब सहारा पाउनै मुस्किल छ । ‘छोरी खिमा कामको खोजीमा भारत गइन् । छोराछोरी गत पुसमै गइसके । अब म घरमा एक्लै भएँ ।’ गहभरि आँसु निकाल्दै धनीले भनिन्, ‘सन्तानको सुख/सयलमा रमाउने मेरो रहर अधुरै रह्यो ।’

रातो रङमा चामल मुछ्दै छोरीको बिदाइका लागि अक्षता बनाउँदासम्म उनका आँखाबाट आँसु बगिरहे । कुन्तीका कित्थु रानाका छोरा, बुहारी, नातिनातिना सबै बुधबार भारत हिँडे । उमेरको उत्तरार्द्धमा छोराछोरी भारत लागेपछि उनी एक्लो भएकी छन् ।

परम्परागत रूपमा चलिआएका र वर्षको एकपटक मात्र आउने चाडपर्वको समयमा मात्रै गाउँघर भरिभराउ हुने गर्दछ । त्यसपछि उही पुरानै उराठ लाग्ने अवस्था हुने गरेको उनको भनाइ छ । गाउँमा रोजगारका अवसर नहुनु र आर्थिक अवस्था कमजोर हुनुले महिला पनि भारतकेन्द्रित हुन थालेका हुन् ।

स्थानीयका अनुसार गाउँमा बिजुली पुगेको छ । कच्ची भए पनि मोटरबाटोको सुविधा छ । घरघरमा पानीका धारा छन् तर गाउँमा बस्न मानिस इच्छुक छैनन् । उर्वर जमिन बाँझो छ तर अछामका धेरैजसो गाउँ जहिल्यै सुनसान देखिन्छन् । यहाँ काम गर्ने खालका युवाहरूको कर्मथलो भारत हो । खेतीपाती लगाउने सिजनबाहेकका महिनामा अछामका गाउँमा पुरुष भेट्टाउन मुस्किल पर्छ ।

‘भारतमा काम गरेर कमाएको पैसाले तराईमा घरजग्गा किन्ने यो गाउँमा धेरै छन् । उतै बसाइँ सराइ गर्छन्, गाउँ दिन प्रतिदिन सुनसान हुँदै छ,’ अर्का स्थानीय रतन भुलले भने, ‘खेतबारीमा उत्पादन छैन । अन्य रोजगारीका अवसर गाउँमा पाउन मुस्किल भएपछि भारत नगएर त परिवार पाल्न सकिँदैन ।’ अछामका अधिकांश युवा रोजगारीको खोजीमा भारतका सुरत, पुना, मुम्बईलगायत ठाउँमा जाने गरेका छन् ।

प्रकाशित : कार्तिक १८, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?