१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

झकिझकाउ जलाशय 

पश्चिम तराई–मधेसमा समेत छठ पर्व मनाउनेहरु बढ्दै गएका छन् । पहाडी समुदायले पनि यो पर्व धुमधामसाथ बनाउन थालेका छन् । 
भवानी भट्ट, निर्मला खडायत

(कञ्चनपुर) र (धनगढी) — धनगढीस्थित मोहना नदी किनार दुलहीझैं सिंगारिएको छ । छठ पूजा गर्ने व्रतालुहरूले पूजा गर्नका लागि मोहना नदीलाई सिंगारेका छन् । धनगढीको चौराहादेखि गेटहरू बनाएका छन् । ४ वटा केराका थुम्बाको मण्डप बनाएर नदीमा देवताको मुर्ति थपना गरेका छन् । झिलीमिली बत्तिले मोहना घाटको रुप नै फेरिएको छ । 

झकिझकाउ जलाशय 

उता कञ्चनपुरको महेन्द्रनगरमा बसोबास गर्ने तराई मुलका बासिन्दाले महाकाली नहर किनारलाई झकिझकाउ बनाइएका छन् । नदी किनारमा राखिएका फलफूल तथा पूजासामग्रीले नहर किनार निकै आकर्षक देखिएको छ ।


‘छठ पर्व बिहीबार नै सुरु भइसक्यो । शनिबार छठको तेस्रो दिन । यस दिनमा अस्ताउँदै गरेको सूर्यको अर्घ दिएर पूजा गरिन्छ,’ छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले भने, ‘केही वर्षअघिसम्म पनि यहाँ छठ मनाउनेहरू ८/१० जना मात्रै थिए । अहिले २ सयभन्दा बढी त मण्डप मात्रै बनेका छन् ।’


लामो समयदेखि महेन्द्रनगरमै बसोबास गरिरहेका जनकपुरका हरि ठाकुरले भने, ‘हरेक वर्ष छठको भीड बढ्दो छ ।’ उनले मधेसीले मात्र नभई पहाडी समुदायले समेत छठका बारेमा बुझ्न र जान्न थालेको बताए ।


सन्तोषले पछिल्लो समय कैलालीमा बसोवास गर्ने मधेसीले मोहना किनारमै छठ मनाउन थालेको बताए । ‘१० वर्षअघि हामीहरूले समिति बनाएर धनगढीमा छठ मनाउन सुरु गरेका हौं । त्यतिबेला बाटोमा हिँड्नेहरूलाई बोलाएर पूजामा सहभागी गराउँथ्यौं’, सन्तोषले भने, ‘अहिले पहाडी समुदाय पनि छठमा सहभागी हुने गर्छन् । छठ पूजा गर्नेको संख्या सयौं हुन्छ ।’


उनले यस पर्वमा व्रतालुले मनोकामना पूरा होस् भनेर ७२ घण्टासम्म व्रत बस्ने गरेको बताए । उनीहरू आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन् । ‘रोगब्याधी निको भएको छ । पछिल्लो समय यहाँका स्थानीयले पनि छठको व्रत बस्न थालेका छन्,’ धनगढी सन्तोषी टोलका नन्दलाल गुप्ताले भने । उनले छठमा रातभर मोहना नदी छेउ भजनकिर्तन गरेर रात बिताउने गरेको सुनाए ।


शनिबार रातभर ब्रतालु र छठ पूजाका दर्शनार्थीहरूका लागि बिजुली, खानेपानी र सुरक्षाको विशेष व्यवस्थासमेत गरिएको छठ पूजा सेवा समितिका सल्लाहकार सन्दिप साहले बताए । ‘मोहना किनारमा रातितिर अझ झकिझकाउ र आकर्षक देखिन्छ,’ उनले भने ।


सामाजिक सद्भावका कारण अवलोकन गर्न आउने पहाडी समुदायका मानिसको संख्या पनि उत्तिकै बाक्लो छ । उनीहरू आफूले छठ पर्व नमनाए पनि सद्भावका कारण आउने गरेको बताउँछन् । ‘छठ हाम्रो पर्व त होइन् । तर हामी हरेक वर्ष छठका दिनको नदीको सौन्दर्य हेर्न आउने गरेका छौं,’ धनगढीकी पार्वती शर्माले भनिन् । उनीसँगै छठको रौनक हेर्न मोहना नदी किनार पुगेका मनीराज भट्ट पनि सिंगारिएको मोहना नदीको सुन्दरताले लोभ्याएको बताउँछन् ।


छठ पर्वमा व्रत गरे दु:ख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहिआएको छ ।

प्रकाशित : कार्तिक १७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?