३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वारि–पारि सर्छ खेतबारी

‘यो वर्ष दोदामा ठूलो बाढी आएन तैपनि अलि–अलि कटान गरेकै छ, बर्खामा खेतबारी हेर्नसमेत नदी तर्न सकिँदैन’
भवानी भट्ट

(कञ्चनपुर) — देखतभुलीका बहादुर रानाको खेतबारी ४० वर्ष अघिसम्म दोदा नदीको पूर्वपट्टि थियो । दोदा नदी उनको खेतभन्दा पश्चिमतिर लालझाडी मोहना संरक्षित वनको छेउमै बग्थ्यो । दोदाले पूर्वतिर कटान गर्दै गएपछि बहादुरको खेतमा नदी बग्न थाल्यो । बहादुर यसअघि नदी बग्ने ठाउँ जाँईमा खेती गर्न थाले । नदीले धार परिवर्तन गरेपछि दर्जन बढी परिवारको जमिन कटान गरेको थियो । उनीहरू पनि बहादुर झैं विगतमा नदी बग्ने ठाउँमै खेतीपाती गरिरहेका छन् । 

वारि–पारि सर्छ खेतबारी

‘यसअघि पनि बाढीले बगाएर नदी पारि गएका हौं,’ बहादुरले भने, ‘फेरि नदी उता गयो हामी यता, यस्तै वारि–पारि चलिरहेको छ ।’ नदी सर्दा उनको खेतीपाती पनि वारि–पारि सर्ने गरेको हो । उनको बसाइ नदीको पूर्वपट्टी देखतभुलीमै छ ।


अहिले खेतीपाती गरिरहेको ठाउँमा उनको डेढ बिघा जमिन छ । अहिले पनि दोदामा बाढी आउदा खेतबारीमै पस्छ । अन्नबाली डुबान र पटान हुँदा उत्पादन निकै कम हुन्छ । खनजोत, मल र मजदुरको खर्चसमेत नआउने गरेको उनले बताए ।


नदीले बगर बनाएको ठाउँमा धान, गहुँसँगै उखु खेती पनि गरिन्छ । नदी किनारमा कटान नियन्त्रणसँगै डुबान र पटानबाट पनि जोगिने भएकाले अधिकांशले उखुखेती गरेका छन् । ‘बर्सेनि बाढी आएर पटान गरिदिन्छ, रोपेको धान पाइँदैन,’ स्थानीय कलावती रानाले भनिन्, ‘त्यही भएर उखु खेती गरेका छौं, बाढीले उखु पनि आधा जति पटान गरिदिन्छ ।’


लालझाडी मोहना संरक्षित वनसँगै जोडिएको गहिरो जमिन । करिब २५/३० हेक्टरमा नदीले धार परिवर्तन गरेपछि खेतीपाती गर्न थालिएको हो । अहिले पनि दोदाको बाढीसँगै वन्यजन्तुका कारण उक्त ठाउँको खेतीपाती जोगाउन नसकिने स्थानीय बताउँछन् । ‘यो पाली हात्ती आएनन्, त्यही भएर अलि–अलि धान काट्न पाएका छौं,’ कल्लु रानाले भने, ‘गएको वर्ष त केही बाढीले पटान गर्‍यो, बांँकी हात्तीले खाए ।’ केही वर्षअघि दोदा नदीकिनारमा पूर्वतर्फ तटबन्ध पनि बनाइएको छ । यसले पूर्वतर्फको कटान त नियन्त्रण गरेको छ । तर पश्चिमतर्फ रोकथामका कुनै संरचना निर्माण नहुँदा बर्सेनि सानोतिनो कटान भइरहेको स्थानीय बताउँछन् । ‘यो वर्ष दोदामा ठूलो बाढी आएन तैपनि अलि–अलि कटान गरेकै छ,’ कल्लुले भने, ‘बर्खामा खेतबारी हेर्नसमेत नदी तर्न सकिन्नँ ।’


लालझाडी गाउँपालिका ३ को डुंगामा पनि नदीले धार परिवर्तन गरेपछि धेरै किसानले बगर बनेको जमिनमा खेतीपाती सुरु गरेको छन् । ५ वर्ष अघिसम्म नदी पश्चिमतिर बगिरहेको थियो । एकाएक दोदाले धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि स्थानीय बगर संरक्षणमा जुटे । अहिले उक्त क्षेत्रमा उखु खेतीसँगै धान गहुँ लगाउन थालिएको छ । ‘बगर संरक्षणपछि नदी यतातिर फर्केन,’ डुंगाका किसन रानाले भने, ‘नदी पूर्वतिर मोडिएपछि सबैले आ–आफ्नो जमिनमा खेतीपाती गर्न थाले ।’ दोदाको बाढीले साबिक शंकरपुर गाविस ७ को पुरै जमिन कटान गरी बगर बनाएको थियो । ५० बढी परिवार विस्थापित भएका थिए । अहिले सो ठाउँमा घर निर्माण गर्न नसकिए पनि खेतीपाती गर्न सकिने भएको छ । करिब डेढ सय बिघामा स्थानीयले पुन: खेतीपातीको काम सुरु गरेका छन् ।


कञ्चनपुरको लालझाडी गाउँपालिका जिल्लाकै दुर्गम मानिन्छ । चारैतिर नदीले घेरिएको उक्त ठाउँ कटान, डुबान र पटानको समस्या झेलिरहेको छ । बाटोघाटोको समेत सुविधा छैन । दोदाले पुरै गाउँपालिकालाई विभिन्न ठाउँमा विभाजन गरेको छ । यसले बर्खामा मात्रै होइन हिउँदमा समेत आउजाउमा समस्या हुने गरेको छ ।

प्रकाशित : कार्तिक १५, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?