देउसीभैलोमा हराउँदै मौलिकता

निर्मला खडायत

धनगढी — ‘आहै भन भन भाइ हो  । देउसी रे आहै राम्ररी भन, देउसी रे आहै स्वर मिलाईकन, देउसी रे यसरी एउटाले भट्याएर समूहले देउसी गाउने निकै कम टोली देखिन्छन्  ।

युवाहरू परम्परागत तरिकाको देउसीभन्दा गीत बजाएर नाचगान गर्न सजिलो मान्छन् । यो देखेर आफ्नो जमाना सम्झने बुढापाका दिक्क मान्छन् । ‘अचेलका केटाकेटीले पुरानो भाकामा देउसी गाउनै छाडिसके,’ धनगढीका दुर्गाप्रसाद उपाध्याय भन्छन्, ‘देउसी खेल्न आउनेहरूले भड्किला गीत बजाएर नाच्दै देउसी खेल्यौ भन्छन् ।’ आँगनमा डीजे लगाएर देउसीको गीतमा ताली बजाउँदै नाच्ने युवा पुस्ताले मौलिक देउसी गीत बिर्सेको उनको भनाइ छ ।

गुन्यु र चोली कम्मरमा पटुकी । निधारमा रातो टीका । हातमा आरती । पहिलापहिला देउसी खेल्नेहरू यसरी नै भैली खेल्दै आँगनमा पुग्थे । उनीहरू देउसी रमाइलोका लागि खेल्थे । संस्कृति जोगाउनका लागि खेल्थे । अहिले पैसाका लागि देउसी खेल्नेहरू बढिरहेको बुढापाका बताउँछन् । ‘पहिले मादलको तालमा सुर मिलाएर आफै गीत गाएर मिठो भैली गाउँथ्यौं । अहिले डीजेमा गीत लगाएर देउसी माग्ने गर्छन्,’ धनगढीकी धर्माकुमारी उपाध्यायले भनिन्, ‘सांस्कृतिक भैली अहिले हराउन थालेको छ । आजकाल देउसी खेल्नेहरूलाई राम्रो भट्याउन नै नआउने ।’ भट्याउन नजान्ने र नसिक्ने चलनले अहिलेका पुस्तालाई गीत बजाएर नाच्नु सजिलो लागेको हुनुपर्ने उनले बताइन् । ‘त्यस्तो टोली आएर देउसी खेल्दा दिउँ दिउँ पनि लाग्दैन,’ उनले भनिन् ।

‘हामी चेलीहरू हरेक साँझ खाना खाएर एक ठाउँ जम्मा हुन्थ्यौं । भैली खेल्न जाँदा दक्षिणा लिइसकेपछि केहि दाना चामलका हातमा लिएर घरबेटीलाई आशिष दिन्थ्यौं । अनि घरबेटी मख्ख पर्थिन् । सबैको मन खुसी हुन्थ्यो,’ उनले आफूले खेलेको देउसी स्मरण गर्दै भनिन्, ‘अहिलेका केटाकेटीहरूले पैसाको मोहमा देउसी खेलेको देखिन्छ । पैसा समातेर हिँडिहाल्छन्, आशिष त उनीहरूलाई दिनै आउँदैन् ।’ पहिले पहिले देउसीमा पर्वअनुसारको गाथा गाइने गरेको उनले बताइन् ।

काग तिहारका दिन कागका बारेमा, लक्ष्मी पूजाका दिन लक्ष्मी माताको बारेमा र भाइटिकाको दिन भाइबहिनीका बारेमा देउसीमा भाका हालेर गाइने परम्परा रहेको उनले बताइन् । उनले पहिलेको देउसीमा आदरार्थी शब्द प्रयोग हुने गरेको भएपनि अहिले उच्छृंखल शब्दहरूले ठाउँ पाउन थालेको बताइन् । ‘घरबेटीलाई आदर गर्दै आशिष दिएको देउसी देख्न नपाएको वर्षौं भइसक्यो,’ उनले भनिन्, ‘अहिलेको देउसीमा रमाइलो छैन । गीत पनि के हुन के बुझ्नै गाह्रो हुने ।’

देउसी सुन्दा भट्याउने र सुन्ने सबैलाई आनन्द आउने समय हराएको धनगढी–५ का राजेन्द्र बिष्टले बताए । नयाँ पुस्ताले तिहारको मर्मलाई आत्मसात् गर्न नसक्दा यसका मौलिकता नबुझेको उनको भनाइ छ । ‘नयाँ पुस्ताको रुचिअनुसार हामीले पनि संस्कृति हस्तान्तरण गर्न नसकेको हो,’ उनी भन्छन्, ‘हामीले पनि राम्ररी बुझाउन सकेनौं, यसको असर अहिले देखिएको छ ।’ पर्वका महिमा र मौलिकता पुरानो पुस्ताबाट सिक्ने रहर नयाँमा हुनुपर्ने उनले बताए । ‘पहिलेको देउसीमा आफ्नै मौलिकता र पहिचान हुन्थ्यो ।
अहिलेको देउसीमा त्यो रहेन,’ कैलाली जनपुस्तकालयका अध्यक्षसमेत रहेका संस्कृतिविद डा. टीएन जोशी भन्छन्, ‘पहिले शुद्ध खाना खाएर देउसी खेल्न जान्थ्यौं ।

अहिले कतिपयले जाँडरक्सी खाएर मात्तिंदै देउसी खेल्ने र भट्याउने गर्छन् । यो हाम्रो संस्कृति होइन् ।’ विगतमा साथीभाइहरू जम्मा भएर देउसीका माध्यमबाट आफ्नै गाउठाउँको कथा भन्दा बेग्दै आनन्द आउने गरेको उनी सुनाउँछन् । अहिले बजारमा आएका देउसी गीतका शब्दहरूमै उच्छृृंखलताको प्रयोगलाई सामान्य रूपमा लिनुको असर समाजमा परेको उनले बताए ।

‘देउसीभैलोमा हाम्रा मौलिक बाजाको प्रयोग हुन्थ्यो,’ उनी भन्छन्, ‘गाउन र भाका मिलाउन जान्नेको प्रतिभा पहिचान पनि देउसीले गराउँथ्यो ।’ परिवर्तित समयलाई दोषरोपण गर्नुभन्दा नयाँ पुस्तालाई रुचिकर हुने तरिकाले सिकाउन जरुरी भएको उनले बताए । ‘कलासंस्कृति पुराना पुस्ताबाट नयाँमा सरेन भने हराउँछ,’ उनले भने, ‘हामीले घर र स्कुलबाट संस्कार हस्तान्तरणमा गम्भीर हुन जरुरी छ ।’

प्रकाशित : कार्तिक १०, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?