कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

खप्तड घुम्ने पर्यटक बढे

कान्तिपुर संवाददाता

(बझाङ) — खप्तड घुम्ने विदेशी पर्यटकको संख्या बढेको छ । भू–स्वर्गको उपमा पाएको सुन्दर खप्तड घुम्न पछिल्ला १० वर्षमा आएका विदेशी पर्यटकभन्दा तीन गुणा बढी पर्यटक गत आवमा भित्रिएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार आव ०६४/६५ देखी ०७४/७५ सम्मको (१० वर्ष) अवधिमा ३ सय १७ विदेशी पर्यटकले खप्तड भ्रमण गरेका थिए । जबकि गत आवमा मात्र यसको झन्डै तीन गुणा बढी १ हजार १ सय २७ विदेशीले खप्तडको भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । खप्तड भ्रमण गर्नेमा जर्मनी, अमेरिका, क्यानडा, स्पेन, अस्ट्रेलिया, जापान, भारतलगायत देशबाट आएका पर्यटक रहेको रेन्जर सुनिल बोहराले बताए । ‘पहिला वर्षमा १/२ विदेशी मुस्किलले झुल्किन्थे । अचेल प्राय: दिनहुँजसो आउने गरेका छन्,’ उनले भने, ‘यहाँ आउने धेरैजसो विदेशी खप्तड भ्रमण गरिसकेका साथीहरूले भनेरै आएका हौं भन्छन् । कोही मिडियाबाट खप्तडबारे थाहा पाएर आएको बताउँछन् ।’ उनले खप्तड पुग्ने पर्यटकहरू यहाँको सौन्दर्यमा मुग्ध भएर फर्कने गरेको बताए ।


‘अद्वितीय सौन्दर्यले हामी खुसी भयौं,’ जर्मनीबाट खप्तड घुम्न आएका दम्पती हेराल्ड र सुजानाले भने, ‘खप्तड साँच्चिकै विश्व स्तरिय गन्तव्य रहेछ । यहाँ पुग्न पाउँदा खुसी भएका छौं ।’ उनीहरूले यसअघि १३ पटक नेपालका विभिन्न गन्तव्यको भ्रमण गरिसके पनि खप्तड पुग्न नपाएको र पहिलोपटक पुग्दा आनन्दको महसुस गरेको बताए ।


पछिल्लो समय विदेशीसँगै खप्तड घुम्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ । गत आवमा यहाँ लाग्ने गंगादशहरा मेलामा आएकाहरूबाहेक ४ हजार ५० आन्तरिक पर्यटकले भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । योबाहेक दशहरा मेलामा मात्र १० हजारभन्दा बढी दर्शनार्थी खप्तड पुगेको रेन्जर बोहराको भनाई छ । यद्यपि मेलाको दिन यहाँ आउने नेपाली पर्यटकको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । कुनै बेला आफ्नो गाइवस्तु चराउने खर्क रहेको खप्तडमा पर्यटकको घुँइचो लाग्न थालेपछि स्थानीय पनि खुसी भएका छन । ‘मेरा लागि त खप्तड पानीपँधेरो नै थियो, खप्तडका पाटनहरू गाईबस्तु, गोठालाले नै भरिएका हुन्थे,’ खप्तड छान्ना गाउँपालिकाका हिरेन्द्र रावलले भने, ‘हामी गाईभैसीं चराउने ठाउँमा यसरी पर्यटक ओइरेलान् भनेर कल्पनै गरेको थिएनँ ।’ ८/१० वर्ष दशहरा मेला र जनै पुर्णिमाको बेला आसपास गाउँका मान्छे भेला हुने गरेको खप्तडमा वर्षमा २/३ नयाँ मान्छे झुक्किएर पुग्ने गरेको उनले सुनाए । आजभोलि टाढा–टाढाबाट घुमफिर गर्न, रमाउन, अध्ययन, अनुसन्धान गर्न आउने नयाँ अनुहारहरूको संख्या दिनदिनै बढ्दै गएकोमा खुशी लागेको उनको भनाई छ ।


१७ वर्ष देखी खप्तड राष्ट्रिय निकुञ्जमा जागिर गरिरहेका महेन्द्रनगरका कृष्णदत्त अवस्थीले पछिल्ला वर्षमा खप्तड आउनेको संख्या बढेको बताए । ‘प्राकृतिक र जैविक विविधता, पर्यटकिय तथा धार्मिक महत्त्व बोकेको खप्तडको महिमा त उहिले पनि कम थिएन । तर खप्तडको महत्व बुझेर यहाँ घुम्न मानिसहरू भने विरलै मात्र आउथे । उबेला र अहिले धेरै फरक भइसकेको छ,’ उनले भने, ‘पहिले यहाँका पाटन र जंगल स्थानीयको बस्तुभाउ चर्ने र घाँस काट्ने ठाँउ मात्र थियो, यति धेरै पर्यटकको ओइरो लाग्ला भन्ने सोचेकै थिएन । अहिले प्रचार, तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगले खप्तडले नयाँ पाहुनाहरूको स्वागत गर्न पाएको छ ।’


फागुनदेखि मंसिरसम्म यहाँ थुप्रै मानिस पुग्ने गरेको र दशै तिहारका वेला खप्तड आउनेको संख्या अझ बाक्लिने गरेको स्थानीय बताउछन् । पुस र माघमा हिउ पर्ने भएकाले यहाँ आउने कम हुन्छन् । निकुञ्जको तथ्यांकअनुसार आव ०७३/७४ मा ५ हजारले भ्रमण गरेको खप्तडमा ०७४/७५ मा करिब ७ हजार पर्यटक पुगेका थिए ।


पछिल्लो समयमा पर्यटकको संख्या बढ्दै गए पनि खप्तडमा पुग्ने पर्यटकले व्यवस्थित आवास र खानपिनको समस्या भोग्ने गरेको नेपाल भ्रमण वर्ष २०२०, सुदुरपश्चिम प्रवर्द्धन समितिका सदस्य किशोर खड्काले बताए । २ सय २५ वर्गमिटरमा फैलिएको निकुञ्जमा २२ पाटन र ५३ ताल छन् । जसले गर्दा पनि खप्तड नेपालकै सुन्दरतम ठाँउ मध्ये एक मानिन्छ । रंगिविरंगी फूलले ढाकिएका ठुला पाटनहरूले फुल फुल्ने बेलाको छुट्टै आकर्षण दिन्छन् । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यहाँ विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पती पाइन्छन् । १२ गुफा रहेको खप्तडमा २ सय २६ किसिमका पक्षीहरू, चितुवा, भालुलगायत २० भन्दा बढी प्रजातिका बन्यजन्तु पाइन्छन् ।

प्रकाशित : कार्तिक ६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?