कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महाकालीमा पुलको काम धमाधम

भवानी भट्ट

(कञ्चनपुर) — बर्खा सुरु भएसँगै रोकिएको महाकालीको पक्की पुलको काम पुन: सुरु भएको छ । नदीमा पानीको बहाव घटेपछि यसै सातादेखि निर्माण सुरु गरिएको हो । 

पुल निर्माणस्थलसम्म पुग्न नदीलाई विभिन्न ठाउँमा डाइभर्सन गर्ने काम भइरहेको छ । जिरो प्वाइन्टदेखि पुल निर्माण स्थलसम्म ३ ठाउँमा डाइभर्सनको काम भइरहेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए । उनले एक/दुई दिनमा नदी डाइभर्सनको काम सकिएपछि अन्य निर्माणमा जुट्ने बताए ।


‘यसपालि पाइलिङसँगै पिलर हाल्ने र महेन्द्रनगरतर्फको पोखरी निर्माण गरिनेछ,’ उनले भने, ‘पाइलिङ र पिलरको काम यो वर्षभित्रै सकिनेछ ।’ हालसम्म २ सय ९० पाइलिङ गर्ने काम सकिएको र १ सय १८ मात्रै बाँकी रहेको उनले जानकारी दिए । बाँकी पाइलिङको काम २ महिनामै सक्ने लक्ष्य रहेको उनले बताए ।


एउटा पिलरमा १२ वटा पाइलिङ गर्नुपर्ने हुन्छ । महाकालीमा निर्माणाधीन ४ लेनको पुलमा ३४ पिलर निर्माण हुनेछन् । जसमध्ये आधा पिलर ठडिइसकेका छन् । यस वर्ष सबै पिलर निर्माण गरी केही स्ल्याबसमेत राख्ने लक्ष्य रहेको उनले बताए । हालसम्म पुलको ३० देखि ३५ प्रतिशत काम पूरा भइसकेको प्राविधिकहरूको दाबी छ । ८ सय मिटरको ४ लेनको पुल महाकाली नदीको बीच भागमा बनिरहेको छ । पुलको दुवैतर्फ पोखरी बन्नेछन् । पोखरी १९ सय मिटर लामो र ६ सय मिटर चौडा हुनेछ ।


पुल निर्माणसँगै गड्डाचौकीदेखि पुलसम्म पुग्ने मार्ग बन्ने काम पनि धमाधम भइरहेको छ । गत आवमा बाटोमा माटो हाल्ने काम सकिएको थियो । सडक छेउमा १५ किमिमध्ये ४ किमि ड्रेन निर्माणको काम पनि पूरा भइसकेको छ । पहुँच मार्गमा पर्ने ४ पुलको काम पूरा भइसकेको छ ।


महाकाली पारीको दोधारा चाँदनी क्षेत्रलाई सडक सञ्चालसँग जोडन ४ लेनको पुल निर्माण सुरु गरिएको हो । महाकालीपारिका बासिन्दालाई सडक सञ्जालमा जोडनुका साथै दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको मुख्य पूर्वाधारका रूपमा यसलाई हेरिएको छ । भीमदत्त नगरपालिका १३, ओदाली र महाकाली नगरपालिका १, चाँदनीलाई जोड्ने गरी नेपाली भूभागमै पुल निर्माण भइरहेको हो ।

प्रकाशित : कार्तिक ६, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?