कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाटो र भन्सार नहुँदा व्यापार शून्य

मनोज बडू

(दार्चुला) — त्रिदेशीय नाकाका रूपमा रहेको चीनको सीमाबजार ताक्लाकोटसंँगको दार्चुलाबाट हुने व्यापार अहिले ठप्प छ । 

बाटो र भन्सार नहुँदा व्यापार शून्य

सीमा क्षेत्रसम्म घोरेटो बाटो अवरुद्ध भएको र भन्सारसमेत नहुँदा यो नाकाबाट परम्परादेखि नै चलिआएको सबै व्यापार बन्द भएको हो । दार्चुलाका व्यापारीले विगतका वर्षमा भारतमा उत्पादित सामान नेपाल हुँदै चीनको सीमाबजार ताक्लाकोट पुर्‍याएर बिक्री गर्ने र उताबाट चिनियाँ वस्तु नेपाल भित्र्याएर व्यापार गर्दै आएको यहाँका व्यापारीहरू बताउँछन् । भारतका विभिन्न सहरबाट सामान ल्याएर नेपाल–भारत सीमाको सीतापुल छोटी भन्सारबाट नेपाल भित्र्याइने र त्यहाँबाट ताक्लाकोट पठाइने गरेको दार्चुला तिंकरका निरञ्जन बुढाथोकीले बताए । ‘डेढ दशक अघिसम्म ताक्लाकोटसँग परम्परागतै व्यापार चलेको थियो,’ उनले भने, ‘चौरी झुप्पुबाट ढुवानी गरी त्रिदेशीय व्यापार गरिन्थ्यो । भन्सारको समस्या हुन थालेपछि व्यापार हुन सकेको छैन ।’


दार्चुलाको तिंकर नाकामा रहेको छोटी भन्सार कार्यालय द्वन्द्वकालमा विस्थापित भएदेखि कम हुँदै आएको ताक्लाकोटसँगको व्यापार पछिल्लो समय बन्दै भएको छ । ‘द्वन्द्वका कारण २०५८ देखि तिंकरको छोटी भन्सार कार्यालय बन्द भए पनि थोरै परिमाणमा चीनिया सामान दार्चुला भित्रिदै आएको थियो,’ व्यासका व्यापारी दानसिंह तिंकरीले भने, ‘घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटसंँगको व्यापार बन्द भएको हो ।’ उनका अनुसार दार्चुलाका व्यापारीले २०६९ सम्म भारतीय बाटो प्रयोग गरी सदरमुकाम खलंगामा भन्सार काटेर भए पनि ताक्लाकोटबाट चाइनिज सामान नेपाल भित्र्याउने गरेका थिए । पछि त्रिदेशीय सीमाक्षेत्रमा रहेका भारत र तिब्बतको भन्सारमा भारत र कडाई भएपछि सामान ल्याउन छोडेको तिंकरीको भनाइ छ । खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन् । ताक्लाकोटको सामान नेपाल भित्रिन रोकिएको यकिन तथ्यांक नभए पनि २०६९ सम्म आउने गरेको भन्सारका कर्मचारी बताउँछन् ।


सन् २०१४ अगाडिसम्म भारत–चीन नाकामा भन्सारको व्यवस्था थिएन । चीनको ताक्लाकोटसंग हुने दार्चुलाको व्यापार भारत र चीन सरकारले गरेको व्यापार सम्झौतापछि घटेर हालका वर्षमा भारतसँग बढेको छ । ‘२०७० सम्म सीमापारि भारतीय बजारमा चाइनिज सामान शून्य हुन्थ्यो,’ खलंगाका व्यापारी मोहनदत्त बडूले भने, ‘अहिले हाम्रो बजारभन्दा भारतमा चाडो र सस्तो मूल्यमा चीनिया सामान पाइन्छ ।’ यहाँका भारतसित सीमा जोडिएका नेपाली बजारमा ५/७ वर्ष अघिसम्म चाइनिज रेडिमेड सामान खासगरि कपडाको राम्रो बजार थियो । अहिले धेरै घटिसकेको छ । भारतीय ग्राहक ६०/७० प्रतिशतले कमी आएका हुँदा सीमावर्ती बजार खस्कँदो अवस्थामा रहेको उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?