कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२ महिनामा २ सय अपराधका घटना

कान्तिपुर संवाददाता

धनगढी — कात्तिक पहिलो साता जिल्ला प्रहरी कार्यालय कैलालीले गोठबाटै गाई चोरेर काट्ने ३ जनालाई पक्राउ गर्‍यो । त्यसैदिन २ मोटरसाइकल चोरी आरोपमा पक्राउ परे । कैलालीमा पछिल्ला वर्षमा अपराध तथा चोरीका घटना दिनहुँ बढेका छन् । 

जिल्लामा भइरहेका अपराधका प्रकृति पनि फरकफरक छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो ४ वर्षमा ३ हजार १ सय ३१ अपराधका घटना भएका छन् । आव ०७४/७५ मा ९ सय ७५ अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा ३ सय २७ ले बढी हो ।


आव ०७५/७६ मा १ हजार २ सय ३६ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । चालु आवको पछिल्लो २ महिनामा २ सय बढी घटना भएको प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढि सामाजिक अपराधका घटना बढ्दै गएका गएका छन् । पछिल्लो ४ वर्षमा ८ सय १० सामाजिक अपराधका घटनाहरू भएका छन् । गत आवमा ३ सय ६८ सामाजिक अपराधका घटना भएका थिए । चालु वर्षको २ महिनामै ८६ सामाजिक अपराधका मुद्दा दर्ता भएका छन् । बस्नेत भने संख्यात्मक रुपमा जिल्लामा अपराधिक घटना बढेको देखिए पनि यसलाई अपराध बढेको मान्न नमिल्ने बताए । ‘अहिले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्दै गएको छ । उनीहरूले उजुरी दिन थालेका छन्,’ बस्नेतले भने, ‘प्रहरीको सक्रियता बढ्नुले पनि अपराधका घटना बढि जस्तो देखिएको हो ।’


प्रहरीले नागरिक चेतनाको वृद्धि भएर उजुरी हुने क्रम बढेको भन्नु उचित नभएको नागरिक समाज कैलालीका अगुवा प्रमोद पाठक बताउँछन् । उनी जिल्लामा प्रहरीको सक्रियता घटेकै कारण अपराधिक क्रियाकलाप बढेको दाबी गर्छन् । ‘प्रहरीहरू नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न सकेका छैनन् । त्यसैले अहिले जिल्लामा अनेक प्रकृतिका अपराधिक क्रियाकलाप बढेका छन्,’ उनले भने । अपराध न्यूनिकरण र नियन्त्रणका लागि प्रहरीले रातमा साइकल र पैदल गस्ती सञ्चालन गर्नुपर्ने उनले बताए । सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको भन्दै उनले प्रहरी जिम्मेवार बन्नुपर्ने बताए । ‘केहि समय अघिसम्म रातिका बेला विभिन्न गस्ती हुने गर्थे । अहिले त्यो पनि बन्द भएको छ । प्रहरी सक्रिय बन्न जरुरी छ’ उनले भने ।


बेरोजगारी र वितृष्णाले पनि समाजमा यस्ता अपराधिक क्रियाकलाप बढ्ने भएकाले सरकारले पनि युवाका लागि रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ । जिल्लामा प्रहरीको सक्रियता घटेकाले अपराधिक क्रियाकलाप बढेको उनको ठम्याइ छ । उनले प्रहरीले दिउँसो मात्रै नभएर नागरिकलाई रातिका बेला पनि सुरक्षित महसुस गराउन गस्ती सञ्चालन गर्नुपर्ने बताए ।


प्रकाशित : कार्तिक ५, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?