२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यात्रु पाउँदैनन् पाइडल रिक्सा

‘पहिले कम्तिमा पनि दिनमा १/२ हजार कमाइ हुन्थ्यो, ई–रिक्सा चलेदेखि १/२ सय रुपैयाँ पनि कमाउन पनि गाह्रो छ’
निर्मला खडायत

धनगढी — विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि कैलालीमा पाइडल रिक्साहरू लोप हुन थालेका छन्  । भएका रिक्साहरूले पनि ग्राहक पाउन समस्या हुने गरेको छ  ।

यात्रु पाउँदैनन् पाइडल रिक्सा

केहि वर्ष अघिसम्म पनि यहाँ पाइडल रिक्साहरू मात्र सञ्चालनमा थिए । जसले कैंयौं गरिबको रोजिरोटी यसैबाट चलेको थियो । जुनसुकै ठाउँ–गल्लीमा पनि पुर्‍याइदिने भएकाले सर्वसाधारणले पनि पाइडल रिक्सै रोज्थे । अहिले सर्वसाधारणहरूले पनि विद्युतीय रिक्सा चढ्न थालेपछि पाइडल रिक्सावालाहरूलाई बजार पाउनै समस्या हुने गरेको छ ।


२६ वर्षदेखि पाइडल रिक्सा चलाएर परिवार पाल्दै आएका धनगढी १९ का बाबुराम लिम्बूले दिनमा ग्राहक पाउनै समस्या हुने गरेको बताए । उनले सबैले ई–रिक्सा चढ्न सजिलो मान्ने भएकाले कसैले पनि बजारमा पाइडल रिक्सा नचढ्ने गरेको बताए । ‘बजारमा हुँदा फुर्सदिला जस्तै भएका हुन्छौं,’ उनले भने, ‘पहिले कम्तिमा पनि दिनमा १/२ हजार जति कमाइ हुन्थ्यो । ई–रिक्सा चलेदेखि दिनको १/२ सय पनि कमाउन पनि गाह्रो भएको छ ।’


विद्युतीय ई–रिक्सा र अटो रिक्सा सञ्चालनमा आएपछि वर्षौंदेखि सञ्चालनमा रहेका पाइडल रिक्साहरूलाई अहिले यात्रु पाउन समस्या हुने गरेको छ । रातिका बेला ई रिक्सा नचल्ने भएकाले र दिनमा पनि ई रिक्साहरू गल्लिहरूमा नजाने भएपछि मात्र पाइडल रिक्सा यात्रुको रोजाई बन्ने गरेको छ । ‘दिनमा आम्दानी शून्य हुन्छ । रातिको १२ बजेसम्म बजारमा रिक्सा घुमाइरहेको हुन्छु,’ बाबुरामले भने, ‘कुनै दिन राति राम्रै ग्राहक भेटिन्छन्, त्यो दिन हातमा मिहिनेतको पैसा आएको जस्तो महसुस हुन्छ ।’


धनगढी बजारमा २० वर्षदेखि पाइडल रिक्सा चलाइरहेका राजकुमार चौधरीको आम्दानी पनि एकदमै न्यून छ । दिनभर बजारमा खाली रिक्सा चलाइरहे पनि यात्रु नबस्ने गरेको उनले सुनाए । ‘महिनाभरको घर खर्च, केटाकेटीको खर्च सबै यहिबाट जोहो गर्नुपर्छ,’ राजकुमारले भने, ‘पछिल्लो समय यही व्यवसाय गरी घर चलाउन समस्या भएको छ ।’


कमजोर आर्थिक अवस्थाले सानैमा रिक्सा चलाउन सुरु गरेका उनले पैसा नभएकै कारण ई–रिक्सा खरिद गर्न नसकेको बताए । पाइडल रिक्सामा पनि यात्रु नपाउँदा उनको आम्दानी पनि घटेको छ । उनले भने, ‘केही वर्ष अघिसम्म पनि यहाँ ई रिक्सा थिएनन् । बजारमा पाइडल रिक्साहरू मात्र थिए । अहिले कहिँ कतै मात्रै पाइडल रिक्सा देखिन्छन् । उनीहरू पनि फुर्सदिला बनेका छन् ।’


पहिले महिनामा ३०/३५ हजार रुपैयाँसम्म पनि आम्दानी गर्ने धनगढी उपमहानगर ४, उत्तरबेहडीका गंगाराम चौधरीलाई पनि अहिले दैनिक २/३ सय कमाउन गाह्रो भएको छ । बिहान सबेरै रिक्सा लिएर धनगढी बजार निस्कन्छन् उनी । राति १० बजेभन्दा अघि कहिल्यै घर फर्किंदैनन् । तर पनि गंगाराम मुस्किलले ३/४ यात्रु पाउँछन् । धनगढी बजारमा अहिले पाइडल रिक्सा मुस्किलले भेटिन्छन् । ई–रिक्सा र अटो रिक्साले बजार लिएपछि धेरैले पाइडल रिक्सा चलाउनै छाडे । पैसा हुनेले ई–रिक्सा र अटो रिक्सा किने । पैसा नहुनेले अहिले पनि पाइडल रिक्सा घुमाइ रहन्छन् ।


रिक्सा चलाएरै छोरा र छोरीको विद्यालयको शुल्कदेखि घर खर्चको समेत व्यवस्थापन गर्दै आएका गंगारामले यात्रु पाउन छाडेपछि मजदुरीको काम पनि थालेका छन् । ‘यात्रु नपाएपछि आजभोली कहिलेकाहीँ सिमेन्ट बोक्न जान्छु,’ उनले भने, ‘ई–रिक्सा र अटो रिक्साले यात्रुलाई सहज भए पनि हामीहरूलाई धेरै गाह्रो भएको छ ।’ केही वर्ष पहिले कैलालीमा करिब २ हजार जति पाइडल रिक्सा थिए ।

तर, ई–रिक्सा सञ्चालनमा आएपछि पाइडल रिक्साको संख्या घट्दै गएको छ । पाइडल रिक्साहरू अहिले छिटफुट देखा पर्छन् । यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख नन्दलाल पाण्डेले ई–रिक्सा भने कैलालीमा ३ हजारको हाराहारीमा दर्ता भएको बताए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?