कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतले नहर निर्माण प्रक्रिया अघि बढायो

कान्तिपुर संवाददाता

कञ्चनपुर — महाकाली सिँंचाई आयोजना तेस्रो चरणअन्तर्गत भारतीय भू–भागमा पर्ने नहर निर्माणको प्रक्रिया अघि बढेको छ  । लामो समयदेखि प्रतिक्षारत उक्त नहर निर्माणका लागि गत महिना मात्रै ठेक्का सम्झौता भएको हो  ।

ठेक्का सम्झौतापछि नहर निर्माणले गति लिने अपेक्षा गरिएको छ ।


महाकाली सिंँचाई आयोजना तेस्रो चरणका इन्जिनियर करुणाकर पन्तका अनुसार भारतीय भू–भागमा नहर निर्माणका लागि ठेक्का सम्झौता भई छिट्टै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो । भारतको नेशनल हाइड्रो पावर कर्पाेरेशन (एनएचपिसि) ले निर्माणका लागि ठेक्का दिएको हो । ‘अब तिहार लगत्तै काम सुरु हुने जानकारी आएको छ,’ उनले भने, ‘लामो समयदेखिको अन्योल अन्त्य भएको छ ।’ उनका अनुसार अहिले नहर निर्माण हुने स्थलमा पर्ने जंगल तथा झाडी हटाउने काम भईरहेको छ ।

टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म वन क्षेत्र छ । नहर निर्माणका क्रममा उक्त वन क्षेत्रमा १ हजार बढी रुख कटान गर्नुपर्ने देखिएको छ । नेपालतर्फ नहर निर्माण सुरु भएको १३ वर्षसम्म पनि भारतिय पक्षले आफ्नो भू–भागमा नहर निर्माणमा चासो देखाएको थिएन । महाकाली सन्धिअनुसार भारततर्फको १२ सय मिटर नहर निर्माण भारतिय पक्षले नै गर्नुपर्ने हो ।

उक्त नहर निर्माणका लागि १ वर्षअघि पनि एनएचपीसीले टेण्डर आह्वान गरेको थियो । तर निर्माण कम्पनीले टेन्डरै नहालेपछि ठेक्का सम्झौता भएको थिएन । भारतीय भूभागमा नहर निर्माण नहुंँदा नेपालतर्फ पनि सुस्त गतिमा काम चलिरहेको थियो । नेपालतर्फ १३ किमि मूल नहर निर्माण गत आवमै सम्पन्न भईसकेको छ ।

थप १५ किमि नहर निर्माणको ठेक्का सम्झौता भईसकेको छ । आयोजना तेस्रो चरणअन्तर्गत नेपालतर्फ अहिलेसम्म १३ किमि निर्माण भएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?