कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

डायलोसिस सेवा पाउनै कठिन

कान्तिपुर संवाददाता

धनगढी — गत वर्ष समयमै पालो नपाएपछि भारतमा डायलोसिस गराएकी कैलाली चौमालाकी प्रभा चौधरीले लामो समयको पर्खाइपछि अहिले सेती अस्पतालमा गराउने पालो पाएकी छन्  । तर, बेलाबेला मेसिनको खराब भइरहन्छ  ।

त्यसैमा बिरामीको अत्यधिक चापले समयमै पालो नपाउँदा मिर्गौलाका बिरामीलाई उपचार पाउन कठिन भएको छ ।


सेती प्रादेशिक अस्पतालमा डायोलसिस गराउन नाम दर्ता गरेका अधिकांश बिरामी समयमा पालो नपाएको र सेवा प्रभावकारी नभएको गुनासो गर्छन् । २ वर्षअघि २ सय ५० बिरामीले नाम दर्ता गराएकोमा हाल साप्ताहिक रुपमा ४८ जनाले मात्रै सेवा लिइरहेका छन् । अरु बिरामी अस्पतालको औपचारिक सम्पर्कमा छैनन् । समयमै उपचार नपाउँदा केही बिरामीले ज्यान गुमाउनुपरेको छ । झन्डै २७ लाख जनसंख्या रहेको सुदूरपश्चिममा धनगढीमा मात्रै डायलसिसको सुविधा उपलब्ध छ । त्यो सेवा पनि प्रभावकारी छैन ।
२ वर्षअघि सेतीमा डायलसिस सेवा स्थापना भएको हो । सरकारकै नितीअनुरुप हाल डायलसिस सेवा सञ्चालन ब्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको विरंग हेल्थ केयरलाई दिइएको छ । बिरामी दर्ता, आवश्यक निगरानी र आर्थिक ब्यवस्थापन भने सेतीबाटै हुने गरेको छ ।


सुरुमा १० मेसिनबाट सेवाप्रवाह गर्ने भनेर अस्पतालसँग सम्झौता गरे पनि अहिले ६ मेसिनबाट मात्रै बिरामीले सेवा पाइरहेका छन् । ३ मेसिन बिग्रिएका छन् । मर्मतका लागि कुनै चासो दिइएको छैन । प्रबन्ध निर्देशक भट्ट भने बिरामीहरूले प्रभावकारी सेवा पाइरहेको दाबी गर्छन् । ‘सुरुतिर केही समस्या भए पनि अहिले बिरामीहरूले समयमै उपचार पाइरहेका छन्,’ उनले भने । चिकित्सकहरू पनि बिरामीको चापअनुसार रहेको उनको भनाइ छ ।


यहाँ फिस्टुला भर्ने सुविधा पनि छैन । ‘कैंयौं गरिब परिवारका मिर्गौलाका बिरामीले फिस्टुला भर्न नसकेर अकालमा ज्यान गुमाउन बाध्य छन्,’ विगत २ वर्षदेखि डायलसिस गराइरहेका धनगढीका कोमलराज शोपले भने, ‘प्रदेशमा फिस्टुला भर्ने सुविधा नभएपछि बिरामी महँगो शुल्क तिरेर भारत र अन्य प्रदेशमा धाउन बाध्य छन् ।’ अस्पतालमा मिर्गौला विशेषज्ञसमेत नहुँदा थप समस्या छ । ‘प्रदेश सरकारले नै विशेषज्ञ चिकित्सकको ब्यवस्था गर्नुपर्छ,’ अस्पतालमा डायलसिस सेवा दिइरहेको विरंग हेल्थ केयरका प्रबन्ध निर्देशक दीपक भट्टले भने, ‘मिर्गौलाका बिरामीको संख्या बढ्दै गइरहेको छ । प्रदेश सरकारले प्रादेशिक अस्पतालमै फिस्टुला भर्ने डाक्टरको ब्यवस्था गर्नुपर्नेमा बिरामीहरूको जोड छ । यसैमा विशेषज्ञ डाक्टर नहँुदा बिरामीहरू ठूलो रकम खर्च गरेर फिस्टुला गर्न अन्यत्र जानुपर्ने बाध्यतामा छन् ।’


कञ्चनपुर पुनर्वासका सूर्य तामाङले भने सातामा दुईपटक डायलाइसिस गर्नुपर्छ । ‘मिर्गौला प्रत्यारोपणका लागि आवश्यक खर्च छैन । साह्रै गाह्रो भएको छ,’ उनले भने । डायलाइसिस गरेको खर्च सरकारले नि:शुल्क गरे पनि औषधिको खर्च धान्न गाह्रो भएको उनले बताए । समयमै सहज उपचार सम्भव नभएपछि कतिपय मिर्गौलाका बिरामी जीवनमरणको दोसाँधमा छन् । ‘फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न पैसा नहुँदा धेरै बिरामीले अस्पतालको शय्यामै प्राण त्यागेका छन्,’ घोडाघोडी नगरपालिका ६ का गणेशसिंह खड्काले भने, ‘फिस्टुला भर्न काठमाडौं जाँदा दोब्बर खर्च लाग्छ । आर्थिक समस्या भएर कतिपयले उपचारै नपाएर ज्यान गुमाउँछन् ।’ पछिल्लो समयमा मिर्गौला रोगीको संख्या बढ्दै गएको स्थास्थ्यकर्मीहरू बताउँछन् । पत्थरी, मधुमेह, उच्च रक्तचाप र खानपान र जीवनशैलीका कारण मिर्गौलामा समस्या देखिने गरेको डा. शेरबहादुर कमरको भनाइ छ । ‘आफ्नो स्वास्थ्यमा लापरबाही गर्नेहरू विभिन्न रोगबाट ग्रस्त हुने गरेका हुन्,’ उनले भने ।


सुदूरपश्चिममा ३० हजारको हाराहारीमा मिर्गौला बिरामी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले देखाएको छ । तर, मिर्गौला रोगीको संख्या बढिरहँदा उपचारका लागि भने प्रदेश सरकारले कुनै पहल गरेको छैन ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?