१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दुर्गमको नमुना स्कूल

अर्जुन शाह

(बाजुरा) — सडकको छेवैमा जोडिएको छ विद्यालयको प्रवेशद्धार । त्यहीँ प्रवेशद्धारको दायाँपट्टि ठड्याइएको बोर्डमा लेखिएको छ ‘अभिभावकज्यू, एकपटक विद्यालयमा प्रवेश गरी आफ्ना छोराछोरीको पढाई बारेमा छलफल गरौं कि ? ’ बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले आफूलाई सुदूरपश्चिमकै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढाइरहेको छ ।

दुर्गमको नमुना स्कूल

शैक्षिक गुणस्तरमा सुधार हुँदै गएपछि हरेक वर्ष निजी क्षेत्रबाट सञ्चालित स्कुल छाडेर यहाँ आउने विद्यार्थीको संख्या पनि बढेको छ । ‘यसै शैक्षिक सत्रमा ५० जनाभन्दा बढी विद्यार्थी बोर्डिङ छाडेर आएका छन्,’ शिक्षक शेरबहादुर रावलले भने, ‘मालिकामा विद्यार्थीको आकर्षण बढेको छ ।’ जिल्लाका मात्रै होइन, जिल्लाबाहिरबाट पनि अध्ययन गर्न आएका विद्यार्थीको संख्यासमेत उल्लेख्य रहेको विद्यालयले जनाएको छ । बालविकास केन्द्रदेखि १२ कक्षासम्म पठनपाठन हुने यस विद्यालयमा शिशु तहदेखि १० कक्षासम्म अंग्रेजी माध्यम छ । स्तरीय अध्ययन अध्यापन हुने भएकाले पनि अभिभावकले आफ्ना सन्तान यहाँ भर्ना गराउन आकर्षण बढेको शिक्षकहरू बताउँछन् । ‘प्राइभेट जतिकै राम्रो व्यवस्थापन र शुल्क कम भएकाले आमाबुवाले यतै भनाए गराइदिनुभयो,’ कक्षा ९ की छात्रा मिमा बोगटीले भनिन्, ‘यहाँको पढाइ बोर्डिङभन्दा कमको छैन ।’


११ र १२ कक्षामा विद्यार्थीको घुइँचो बढी छ । ब्यवस्थापन, मानविकी, विज्ञान, शिक्षा विषयका अलग अलग संकाय छन् । त्यसबाहेक विद्यालयमा १८ महिने सवओभरसियर र ३ वर्षे डिप्लोमा ओभरसियर शिक्षा उपलब्ध भएकाले पनि विद्यार्थीहरूको आकर्षण बढेको स्थानीय अभिभावक बताउँछन् । ‘उच्च शिक्षा अध्ययन गर्न दार्चुलादेखि कालिकोटसम्मका विद्यार्थीहरू मालिकामा आएका छन्,’ शिक्षक विष्णु पाण्डेले भने, ‘अढाई लाखमा ३ वर्षे अवधिको ओभरसियरको सबै पढाई पुरा हुन्छ ।’


नाम मात्रको नमूना नभई यथार्थमा मालिका जिल्लाकै नमुना सामुदायिक भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दीर्घराज पाध्याय बताउँछन् । ‘१६ वटा सूचकका आधारमा विद्यालय नमुनामा गणना भएको हो,’ उनले भने ‘भर्ना हुन आउने सबै विद्यार्थीलाई लिन नसक्ने अवस्थामा छौं ।’ भर्ना हुनेको चापले अलग अलग सेक्सन विभाजन गर्दा पनि एउटै कक्षा कोठामा ६५ जनासम्म राख्नु परेको उनले बताए । हाल १ हजार ८ सय ७२ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । ‘दुर्गममा भएपनि हाम्रो स्कुल विद्यार्थी संख्या, जनशक्ति, भौतिक पूर्वाधार, जमिन र खेल मैदानको उपलब्धता, शैक्षिक नतिजाका आधारमा प्रदेशकै अग्रणी छ,’ उनले भने, ‘पुस्तकालय, प्रयोगशाला, बालमैत्री र अपांगमैत्री पूर्वाधारलगायतको राम्रो ब्यवस्थापन छ ।’ वर्सेनी थपिने चापका अनुपातमा भने पूर्वाधार थप्न बिद्यालयलाई आर्थिक व्यस्थापन चुनौतिपूर्ण हुन थालेको उनले बताए ।


विद्यालयमा शिक्षक–कर्मचारी ६३ जना छन् । यिनमा २३ जना स्थायी दरबन्दीका शिक्षक छन् । २१ जनालाई पूर्णकालिन सेवामा विद्यालयले आफ्नै स्रोतमा ब्यवस्थापन गरेको छ । अन्य अस्थायी, करार र राहत सेवाका शिक्षकहरू छन् । मालिकाले जिल्लामा आयोजना हुने खेलकुदका प्रतियोगिताहरूलगायत अतिरिक्त क्रियाकलापहरूमा निरन्तर पहिलो स्थान ल्याउने गरेकाले विद्यालयको नाम चम्किदै गएकोमा शिक्षक अभिभावकहरू गर्व गर्छन् । ‘जिल्लास्तरीय रनिङ शिल्ड लगातार ८ वर्षदेखि जित्दै आएका छौं,’ शिक्षक रावलले भने, ‘अन्य क्रियाकलापमा पनि हाम्रो विद्यालय सधै अग्रस्थानमै हुने गरेको छ ।’ अभिभावकहरू पनि प्रसन्न देखिन्छन् । ‘मालिकाको पढाई राम्रै छ,’ स्थानीय बुद्धि बोगटीले भने, ‘सरकारीमा त पढाई नै हुन्न भन्ने अभिभावकको धारणा मालिकाले बदल्न सफल भएको छ ।’ बाजुरामा ६२ सामुदायिक माध्यमिक विद्यालय सञ्चालनमा छन् ।


वर्षौदेखि विद्यालयको नेतृत्व गरिरहेका प्रधानाध्यापक शुभराज पाध्यायलाई भने विद्यालयको अहिलेकै प्रगतिले चित्त बुझेको छैन । ‘दुर्गममा भएपनि विद्यालयलाई प्रदेशमै ब्यावसायिक तथा प्राविधिक शिक्षाको हव बनाउने उद्देश्य हो,’ उनी भन्छन्, ‘हालको भन्दा उच्च सिकाइ उपलब्धी र पूर्वाधारमा सम्पन्न विद्यालयका रुपमा मालिकालाई विकास गर्न प्रयासरत छौं ।’ सीटीइभीटीको आंगिक बनाउन सके विपन्न समुदायका विद्यार्थीहरूलाई सुलभ हुने उनी बताउँछन् ।

प्रकाशित : कार्तिक ३, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?