महाभारतमा चितुवा सिकारी सक्रिय

कान्तिपुर संवाददाता

डडेलधुरा — नेत्रविक्रम चन्द समुहका कार्यकर्ता ठूलो संख्यामा महाभारत जंगल क्षेत्रमा रहेको हल्ला सुनेपछि डडेलधुराको बगरकोट प्रहरी चौकीबाट खटिएका टोलीले छेउछाउका गाउँमा सूचना संकलन गर्न थाल्यो । खोजीकै क्रममा प्रहरीहरू महाभारत छेउका चुल्ल, सिराड, रुपाल, मेल्टालगायतका गाउँसम्म पुगे ।

ती गाउँमा उनीहरूले चन्दका कार्यकर्ता नभएर चितुवा मार्ने गिरोह सक्रिय रहेको जानकारी पायो । प्रहरीले जंगल क्षेत्रमा पनि निगरानी राख्न थालेको थाहा पाएपछि चितुवा मार्ने समूह महाभारत क्षेत्रबाट चूरे क्षेत्रमा पलायन भयो ।


एक महिनाअघि ७ जना भारतीय र २ जना नेपालीको समूह बगरकोट प्रहरी चौकी भन्दा २ किलोमिटर माथिबाटै महाभारत जंगल क्षेत्रमा प्रवेश गरेको हो । तराइबाट भारतीय नम्वर प्लेटको गाडी रिर्जव गरेर उनीहरू बगरकोटसम्म पुगेका थिए । ‘त्यो टोली रुपाल हुँदै साविक शीर्ष गाविसको मथिल्लो भेक ग्वानीतिर गएको धेरैले देखेका हुन्,’ स्थानीय नरी नाथले भने, ‘यसअघि पनि यसरी नै सिकारीको टोली महाकाली किनारैकिनार भित्री मधेस ओर्लिएको थियो ।’ बगरकोट प्रहरी चौकीको प्रहरी टोलीले लामो समयसम्म यस्तो गिरोह पक्राउ गर्न प्रयास गरेपनि हालसम्म कसैलाई समात्न सकेको छैन ।


पछिल्लो समय महाभारत जंगल क्षेत्रमा पाइने चितुवालगायतका दुर्लभ वन्यजन्तुको सिकार गर्ने गिरोह सक्रिय रहेको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय भाषामा बाघ भनिएपनि मध्य पहाडमा पाइने चितुवा मार्ने उद्देश्यले सिकारीहरूले संगठित रुपमा महाभारतमा वन्यजन्तुको सिकार गरिरहेका हुन् ।


डडेलुधराको महाकाली नदी सीमानादेखि डोटीको घण्टेश्वर र सालिमे लेकसम्म सिकारीहरूले स्थानीय बासिन्दालाई प्रयोग गरेर चितुवाको सिकार गरिरहेको सूचना पाएपनि प्रहरीले कसैलाई नियन्त्रणमा लिन सकेको छैन । डडेलधुरा गाँगखेतका धर्मसिंह खत्रीले भने ‘भारतीय सिकारी हाम्रो गाउँ क्षेत्रमा नआएपनि राजमार्ग छेउमा डेरा हालेर स्थानीयलाई परिचालन गरेर चितुवाको सिकार गरिरहेको देखिएको छ ।’ यस्तो अवैध सिकार नियन्त्रण हुनुपर्ने उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?