तिंकर सडक सुचारु

असोज अन्तिम सातादेखि पहिरोले आवागमन अवरुद्ध हुँदा स्थानीयलाई आउजाउ र ढुवानीमा मर्का परेको थियो  
मनोज बडू

(दार्चुला) — वर्षायाममा अवरुद्ध भएको दार्चुला–तिंकर सडकमा आवागमन सुचारु भएको छ । ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध उक्त सडकमा विहीबारदेखि यातायात पुन: सञ्चालनमा आएको हो । 

तिंकर सडक सुचारु

असोजको अन्तिम सातादेखि आवागमन अवरुद्ध भएको तिंकर सडकको दुहु–ब्यास खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाइएको छ । यातायात सुचारु भएपछि स्थानीय बासिन्दालाई सामान ढुवानी र आवतजावतमा सहज भएको तिंकर सडक योजनाले जनाएको छ ।


तिंकर सडकका इन्जिनियर दिनेश रैखोलाले भने, ‘कात्तिक सुरुदेखि ब्याससम्म सडक सञ्चालनमा आएको छ ।’ अहिले दुहु गाउँपालिकाको गरमोरासम्म यात्रुबाहक जीप जिप चल्न थालेका छन् । त्यहाँभन्दा माथिल्लो भागमा ट्याक्टरबाट सामान ढुवानी हुन थालेको छ । सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दुरीमा रहेको ब्यास गाउँपालिका केन्द्रसम्म शुक्रबारदेखि ट्याक्टर पुग्न थालेका छन् । ब्यास र दुहु गाउँपालिकासँग समन्वय गरी सडक निर्माणमा संलग्न ठेकेदारहरूका मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको हो । शुक्रबारबाट सुन्सेरासम्म ट्याक्टर गुडेको इन्जिनियर रैखोलाले बताए । तिंकर सडक कार्यालयका अनुसार ब्यास गाउँपालिकाको माल गाउँसम्म सडकको ट्याक खोलिएको भएपनि सुन्सेरासम्म मात्र ट्याक्टर गुड्न सकेका छन् । यो सडकको गरमोराभिर, हिकिला, पिपलचौरी, हुती, धौलाकोट, नाजि र कोरकट्यालगायत ठाउँमा पहिरो खसेर सडक भत्किएको थियो ।

उक्त सडक खण्ड सुचारु हुनुपर्छ भनेर विभिन्न समयमा सडक आयोजनाको ध्यानाकर्षण गराउँदै आएपनि बल्ल आएर सुन्सेरासम्म ट्याक्टर चल्न सकेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिह बुढाथोकीले बताए ।


‘असोजको सुरुदेखि नै सडकमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन पहल गरेका हौं,’ उनले भने, ‘बल्ल सुन्सेरासम्म ट्याक्टर पुग्ने अवस्था भयो ।’ पहिरोका कारण पैदल हिड्न पनि कठिनाई थियो ।


पोहोर यही समयमा दुहु गाउँपालिका–१ पिपलचौरीसम्म जीप सञ्चालनमा आइसकेका थिए । यसपटक हालसम्म हिकिला पनि पुग्न सकेका छैनन् । दुहु–१ पिपलचौरीका सरस्वती महराले भनिन्, ‘गरमोराबाट पैदल हिड्नु पर्छ । केही दिन अघिसम्म भरिया लगाएर सामान ढुवानी गर्नुपर्ने अवस्था थियो । अहिले टयाटर चल्दा सजिलो भयो ।’ सडकको अवस्थामा अझै सुधार गरिनुपर्ने उनले बताइन । जोखिम रहेको भन्दै जिल्ला प्रशासनले यो सडकको राताकाठा क्षेत्रमा यात्रु बोकेर जिप चलाउन रोक लगाएको छ । यात्रुबाहक जीपहरूका लागि सदरमुकाम खलंगाबाट दुहुको श्रीबगड र तिमुरपाटाबाट दुहुको चल्यागाडासम्म मात्र चलाउने अनुमति छ । तर कतिपय सवारीचालकहरू अटेर गरेर जोखिम मोल्दै यात्रु बोकिरहेकै छन् । यात्रु पनि हिड्नको गाह्रोले जोखिमको यात्रा गरिरहेका छन् । दुहुको राताकाठा र हिकिला पुग्नुभन्दा अगाडिको पोखराभीरमा सडकको लेवल नमिलेको र दुर्घटनाको सम्भावना अत्यधिक रहेको भन्दै यात्रु नबोक्न जिल्ला प्रशासनले ब्यवसायीहरूलाई सचेत गराउदै आएको छ । यस सडक खण्डमा सञ्चालन गर्दै आएका जिप व्यवसायीले यात्रुहरूबाट मनपरि भाडा असुल्ने गरेका छन् । तीन वर्षअघि कालोपत्रे बाहेकका ग्रामीण सडकमा प्रतिकिलोमिटर ६ रुपैयाँ भाडा लिन पाउने निर्णय गरिएको भएपनि त्यसको दोब्बर तेब्बर भाडा यात्रुहरूबाट उठाउने गरेका छन् ।


जिल्लामा ट्राफिक प्रहरीको दरबन्दी थोरै छ । भएको दरवन्दीमा पनि जनशक्ति पर्याप्त नभएकाले जिल्लाका सबै सडकहरूमा निगरानी बढाउन नसक्दा सवारी व्यवसायीलाई कडाइ गर्न नसकेको प्रहरीले जनाएको छ । जिप ब्यवसायीहरूले खलंगादेखि श्रीबगडसम्म साढे ३ किलोमिटर दुरी ५० रुपैयाँ र तिमुरपाटा गरपोरासम्मको १० किमिमा २ सय भाडा असुल्ल गर्दै आएका दुहु–१ का जगत महराले बताए ।


जिप ब्यवसायीहरूले मनपरी भाडा असुल्ने गरेको भएपनि जिल्ला प्रशासन, स्थानीय सरकार र अन्य सम्बन्धित निकायहरू मौन बसेको स्थानीयको आरोप छ । भाडा बढी उठाउने गरेको सुनिएपनि कतैबाट उजुरी नभएकाले कारवाही प्रक्रियामा जान नसकेको प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाभरि धेरै सडक सञ्चालनमा छन् । अहिले पक्की महाकाली लोकमार्गलाई केन्द्रित गरी गोकुलेश्वर र सदरमुकाम खलंगामा अस्थायी ट्राफिक पोष्ट राखिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?