२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बर्सेनि हात्तीको त्रास : अन्नबाली जोगाउनै गाह्रो

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको महाकाली नगरपालिका ३, बडुवाल टोलकी लक्ष्मी रानाले धानबाली भित्र्याउन नपाएको ७/८ वर्ष भयो । उनीसँग आधा बिघा जमिन छ । तर हरेक वर्ष सीमावर्ती भारतको नगरा जंगलबाट आउने हात्तीको बथानले धानबाली नोक्सान गरेर जान्छ ।  

‘यहाँ त धान गहुँं लगाउनु मात्रै हो, भित्र्याउन कहिल्यै पाइदैन,’ लक्ष्मीले भनिन्, ‘बाली पसाउन थालेदेखि हात्ती वस्तीमा पस्छन्, परालसमेत बाँकी नराखेर फर्किन्छन् ।’ हात्ती वस्तीमा पसेपछि अन्नबाली त के ज्यान जोगाउन समेत गाह्रो हुने उनले बताइन् । महाकाली नगरपालिकाको विकट वस्तीका रुपमा चिनिने बडुवाल टोलमा १ सय ३८ परिवारको बसोबास छ । हिउँद र बर्खा दुवै सिजनमा हात्तीले बाली नोक्सान गर्दा यहाँका स्थानीयले कतिपय ठाउँमा खेत बाँझै छाडन थालेका छन् ।


कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका ५ गडजमुनीका नन्द साउँदले पनि लगाएको बाली कहिल्यै भित्र्याउन पाउदैनन् । यस वर्ष पनि १ विघा मध्ये ५ विघाको धान नोक्सान गरेको छ । ‘यहाँ बसेदेखि जहिल्यै हात्तीको त्रास छ,’ उनले भने । गत वर्ष हात्तीले साँउदको १५ बिघाको धानबाली नोक्सान गरे पनि कुनै राहत नपाएको उनको गुनासो छ । प्रहरी मुचुल्कादेखि वडा कार्यालयमा समेत निवेदन दिँदा पनि कुनै राहत सहयोग नपाएको उनले बताए ।


यसपाली पनि गाउँमा सबैको खेतमा अलि अलि नोक्सान भएको उनले बताए । सवैभन्दा बढी क्षति शुक्लाफाँटा नगरपालिका क्षेत्रमा यस वर्ष हात्तीको बथानले सबैभन्दा बढी क्षति शुक्लाफाँटा नगरपालिकामा गरेको छ । नगरपालिकाका १० वडाका अधिकांश ठाउँमा धानबाली नोक्सान गरेको हो । वडा ८ को पारीफाँटा, वडा १ को बंशाहा लगायत ठाउँमा ठुलो क्षति पुर्‍याएको छ ।


शुक्लाफाँटा नगरपालिकाका अनुसार ८८ परिवारको २ सय १० विघा भन्दा बढीको अन्न र तरकारी बाली क्षति पुर्‍याएको छ । ‘सबै वडाबाट पुरा विवरण आउन सकेको छैन,’ नगर प्रमुख दिलबहादुर ऐरले भने, ‘क्षति अझै बढी भएको हुन सक्ने अनुमान गरिएको छ ।’ उनले शुक्लाफाँटामा वर्षेनी हात्तीले जनधनको क्षति पुर्‍याउदै आएकाले नियन्त्रणका लागि पनि विद्युतिय तारवारलगायत उपायहरू अपनाइएको बताए ।


भारतको दुधुवा नेसनल पार्कबाट आउने हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुदैं निकुञ्जसंग जोडिएको वस्तीमा पस्ने गरेको हो । यस वर्ष शुक्लाफाँटासंँगै बेदकोट नगरपालिका १ र २ तथा भीमदत्त नगरपालिका १४ मा पनि क्षति पुर्‍याएको छ । दुधुवा नेसनल पार्कबाट आउने हात्तीको बथानले जिल्लाको दक्षिणी क्षेत्रमा वर्षेनी क्षति हुँदै आएको थियो ।


हात्ती आक्रमणबाट एकको मृत्यु

शुक्लाफाँटा नगरपालिका १ मा हात्ती आक्रमणबाट बुधबार बंशाहामा ६५ वर्षिय बलदेव बोहराको मृत्यु भएको हो । उनीसँगै रहेका अर्का स्थानीय नारायण सार्की घाइते भएका छन् । उनको उपचार भईरहेको छ ।


यसअघि ५ वर्षको अवधीमा लालझाडी गाउँपालिका, महाकाली नगरपालिका र पुनर्वास नगरपालिकामा १/१ गरी हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भईसकेको छ । वर्षेनी हात्तीले ज्यान लिने गरेपनि रोकथामका उपायहरूमा खासै ध्यान नपुगेको स्थानीयको आरोप छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?