कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विद्यार्थी अभावमा विद्यालय समायोजन

कान्तिपुर संवाददाता

टीकापुर — कैलालीको जानकी गाउँपालिका १ तोरैयापुरमा रहेको जगन्नाथ प्राथमिक विद्यालय अर्को विद्यालयसंँग समायोजन गरिएको छ । अति न्युन संख्यामा विद्यार्थी भएकाले विद्यालय समायोजन गरिएको हो । 

यो वर्ष जगन्नाथ प्राविमा २० विद्यार्थी मात्र भर्ना भएपछि विद्यालय मर्ज गर्नु परेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले भने, ‘विद्यार्थी र शिक्षकलाई नजिकैको महेन्द्र मावि धर्मापुर र सरस्वती मावि दुर्गौलीमा समायोजन गर्‍यौं ।’ मर्ज भएपछि विद्यालय भवन खाली भएको छ । खाली भवनलाई गाउँपालिकाले नै कुनै प्रयोजनमा ल्याउने अध्यक्ष चौधरीले बताए । यो विद्यालयमा २ राहत, २ निजी स्रोत र १ बाल विकास शिक्षक कार्यरत थिए । विद्यार्थी नभएपछि १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटा कोठामा र ४ र ५ कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर शिक्षकले पढाउने गरेका थिए ।


विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रमिला चौधरीका अनुसार यो विद्यालयमा शिशुमा ३, १ कक्षामा ३, २ कक्षामा १, ३ कक्षामा १, ४ र ५ कक्षामा ६ विद्यार्थी थिए । गत वर्ष पनि यो विद्यालयमा जम्मा २२ विद्यार्थी थिए । गाउँका सबैले विद्यालय अर्को नजिकमा रहेको विद्यालयमा समायोजन गर्ने कुरा पनि गरे । तर गाउँपालिकाले त्यसो गरेन । यो वर्ष विद्यार्थी झन् घटेपछि बाध्य भएर विद्यालय समायोजन गर्नुपरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कलमबहादुर खड्काले बताए ।


विद्यालयसित आफनो नाममा करिब ५ कट्ठा जग्गा छ । विद्यालयको संरचना भने राम्रो छ । गाउँपालिकाले गत आवमा भवन निर्माणमा ६ लाख ५० हजार खर्चेको हो । वडाध्यक्ष धनीराम चौधरीले गत वर्षको अधुरो भवन निर्माण सम्पन्न गरिएको बताए । उनले भने, ‘भवन भएपछि भविष्यमा वडा कार्यालयको रुपमा पनि प्रयोग गर्न सकिन्छ भनेर भवन निर्माण गरेका हौं ।’


प्रकाशित : कार्तिक १, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?