कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विषादीले तरकारी उत्पादनमा ह्रास

कान्तिपुर संवाददाता

डडेलधुरा — गत वर्षसम्म ६० हजारको टमाटर बिक्री गर्ने डडेलधुरा भागेश्वर गाउँपालिका ४ का अगुवा कृषक दान टेरको बारीमा यस पटक टमाटरै फलेन  । अरु वर्षभन्दा उनले परिश्रम पनि वढी गरेका हुन  ।

तर फल्ने समयमा टमाटरमा ढुसी जस्तो रोग लागेपछि बोटमै कुहिन थाल्यो । प्रमुख तरकारी बाली टमाटर मात्र कुहिएन टेरले रोपेका सबैजसो तरकारी बाली यसरी नै बारीमै कुहिन थालेपछि उनी हिउँदे सिजनमा हुने तरकारी लगाउने कि नलगाउने भनेर अलमलमा परेका छन ।

अजयमेरु गाउँपालिका चिपुरका कृषक भवानी विष्टको बारीमा पनि तरकारी फल्ने समयमा कुहिन थाल्यो । उनले तरकारी जोगाउन थुप्रै खाले औषधी पनि प्रयोग गरे तर कुहिने क्रम भने रोकिएन । गत वर्षपनि यसरी नै उनको बारीमा तरकारी कुहिएको हो । कृषि प्राविधिकसंँग उनले परामर्श पनि गरेका हुन । प्राविधिकले सिफारिस गरेको औषधी प्रयोग गर्दा पनि उनको बारीमा तरकारी कुहिनवाट जोगिएन । वर्षातका समयमा उत्पादन हुने तरकारीवाट लाखौं आम्दानी गर्ने कृषक गत वर्ष देखि उत्पादन कम मात्र होइन लगानी समेत उठ्न नसकेपछि समस्यामा परेका छन ।

दुइ अगुवा कृषकको मात्र यो समस्या होइन । तरकारी खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको भागेश्वर र अजयमेरु मात्र नभइ जिल्लाका बिभिन्न क्षेत्रमा यसरी एकाएक बारीमा फलेको तरकारी कुहिन थालेपछि कृषकहरू चिन्तित वनेका छन । ‘तरकारीको बोट हुर्कदासम्म राम्रो हुन्छ , फल लाग्न सुरु भएपछि कुहिन सुरु हुन्छ,’ कृषक दान टेरले भने ‘तरकारी खेती गर्ने तरिका पुरानै हो, परिश्रम पनि उत्तिकै छ, गोडमेल र हेरचाह पनि भएको छ तर फल्ने समय बोटमै कुहिने समस्याले कृषक हैरान भएका छन ।’ उनका अनुसार गत वर्षसम्म लाखौंको तरकारी बिक्री गर्ने कृषकले यस वर्ष हजारौंमा मात्र सिमित भएका छन । उनले भने ‘समय समयमा कृषि प्राविधिकले दिएको सल्लाह अनुसार औषधी प्रयोग गर्दा पनि यो समस्याको समाधान हुन सकेको छैन ।’

कृषक टेरले भने जस्तै दैनिक ५ सय क्वीण्टल भन्दा वढी टमाटर उत्पादन हुने साविकको वगरकोट गाविसवाट यस वर्ष टमाटर नै उत्पादन भएन । टमाटरसंँगै यस क्षेत्रवाट अन्यत्र पठाइने काउली, वन्दा गोभी, सिमी, लौकी र कांक्रासमेत कम उत्पादन हुन थालेको छ । ‘गत वर्ष भन्दा यस वर्ष उत्पादन कम भयो कृषक टेरले भने ‘तीन वर्ष यता तरकारी उत्पादनमा निकै हृास आएको छ ।’ टमाटर बजारमा जाने मौसममा गाउँमा हुने चहलपहल पनि सकिएको छ । हरेक दिन दुइ दर्जन वढी गाडीमा तरकारी भरेर कैलाली कंचनपुर पुर्‍याउने कृषक यस वर्ष जिल्ला सदरमुकामका लागि समेत तरकारी आपूर्ति गर्न सकिरहेका छैनन ।

अत्यधिक विषादीका कारण उत्पादनमा ह्रास
‘लामो समय सम्म जथाभावी अत्यधिक विषादी प्रयोग गरिएका कारण उत्पादनमा हृास आएको हो’ जलवायु अनुकुलन कार्यक्रम अन्तरगत कृषि क्षेत्रमा अनुसन्धानरत बरिष्ट कृषि प्राबिधिक भवानीदत्त पन्तले भने ‘विषादीको प्रयोगले माटोमा रहेका मित्र जीव समाप्त हुन थालेपछि यस्तो स्थिति आएको हो ।’ सार्क राष्ट्रहरूको संयुक्त लगानीमा इसीमोडले नमूना कार्यक्रम अन्तरगत डडेलधुराको भागेश्वर गाउँपालिकामा गरिरहेको अनुसन्धानका क्रममा अत्यधिक र जथाभावी विषादी प्रयोगका कारण तरकारीको पकेट क्षेत्र रहेका बिभिन्न ठाउँमा तरकारी फल्न छोडेको निष्कर्ष निकालेको छ ।

डाइथेन, नोभान, डोम, मालाथिन लगायतका विषादी र युरीया, पोटास , डिएपी जस्ता रासायनिक मलको जथाभावी प्रयोगले माटोमा रहेको उर्वराशक्तिमा परेको दीर्घकालीन असरका कारण कुनै समय अत्यधिक तरकारी उत्पादन हुने डडेलधुरा जिल्लाका अधिकाँश क्षेत्रमा यस्तो समस्या देखिन थालेको इसीमोडले गरेको अनुसन्धानमा देखिएको हो । ‘माटो र बिरुवामा प्रयोग हुने विषादी र मलको मात्रा र समय जानकारी नभएर कृषकले प्रयोग गरिरहेका कारण यो समस्या आएको हो’ बरिष्ट कृषि प्राबिधिक पन्तले भने ‘तरकारी उत्पादनमा मात्र नभइ विषादीको प्रयोगले प्रमुख खाद्य बालीमा समेत गम्भीर असर सुरु भइसकेको छ ।’

विषादीका कारण माटोमा रहेका ९५ प्रतिशत मांसहारी किराले आफ्नो भोजन गुमाएका कारण अधिकांस किरा लोप हुन थालेका छन । माटोलाइ उर्वरा वनाइराख्ने किरा मर्न थालेपछि उत्पादनमा पनि यसको गम्भीर असर पर्न थालेको कृषि क्षेत्रका बिज्ञहरूले वताएका छन । बाली स्वस्थ राख्न प्रमुख भूमिका निर्वाह गर्ने किराहरू बिनास भए, लाही किरा जस्ता शत्रु जीवको बृद्धि भयो, रंग परिवर्तन गरि बाली नष्ट गर्ने किराहरू निकै बृद्धि भएका कारण उत्पादन पनि निकै कम भएको प्राबिधिकहरू वताउँछन ।

तरकारी खेती सुरु हुँदा वढी उत्पादनको लोभले कृषक देखि प्राबिधिकलेसमेत थुप्रै खाले विषादी सिफारीस गरेको परिणाम कृषकहरूले दश वर्षमै भोग्नु पर्ने अवस्था आएको छ । अनुसन्धानरत बरिष्ट कृषि प्राबिधिक पन्तले भने ‘बोट बिरुवामा मात्र नभइ माटोमा युराडेन, अल्ड्रीन जस्ता विषादीको धेरै प्रयोग गरिएका कारण १० वर्ष नबित्दै माटोको उर्वराशक्ति समाप्त हुन थालेको देखिएको छ ।’ पछिल्लो समय यस्तै समस्यालाइ लक्षित गरि सरकारले दातृ निकायको सहयोगमा अनुसन्धान सुर गरेको पनि उनले वताए । पन्तले भने ‘पछिल्लो समय कृषि क्षेत्रमा नयाँ प्रविधिसँगै कृषकको वानी सुधार गर्न जनचेतना कार्यक्रम सुरु भएपनि अझै कृषकको ब्यबहार परिवर्तन हुन सकेको छैन ।’

प्रकाशित : कार्तिक १, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?