१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अल्लो कपडाको माग बढ्यो

उच्च पहाडी क्षेत्रमा पाइने अल्लोको उपयोग बढ्दै गएपछि व्यावसायिक उत्पादनसमेत गर्न थालियो
मनोज बडू

(दार्चुला) — अल्लोको धागोबाट तयार भएका कपडाको खपत बढ्दै गएको छ  । महाकाली नगरपालिका ४, खलंगाकी विमला जोशीले अल्लोको सामग्री उत्पादन सुरु गरेको ८ वर्ष भयो  ।

अल्लो कपडाको माग बढ्यो

अल्लोबाट उत्पादित कपडाको बिक्रिबाट उनको आम्दानी राम्रै छ । जिल्लामा केही वर्षयता अल्लोको कपडाबाट तयार हुने कोट, टोपी, पर्स, सल, झोलालगायतको खपत बढेको छ ।

‘अघिल्लो पुस्तादेखि आफ्नो घरमा ऊनीका सामान उत्पादन गरिन्थे । ऊनीका कपडाको माग घटेपछि अल्लोको उत्पादनमा अग्रसर भएका हौ’ उनले भनिन् ‘अहिले पुरै परिवार अल्लोका सामग्री उत्पादनमा गरिहेका छौ ।’ कच्चा पदार्थ खरिद गरी सामग्री उत्पादनमा जोड दिँदै आएको उनले बताइन् । उच्च पहाडी क्षेत्रमा पाइने अल्लोको उपयोग बढ्दै गएपछि व्यावसायिक उत्पादनसमेत गर्न थालिएको छ । उहिले स्थानीय बासिन्दाले रसी र नाम्लो बनाउन मात्र अल्लोको प्रयोग गर्दै आएका थिए ।

अहिले अनेकौ कपडाहरूको उत्पादन राम्रो मूल्यमा बिक्रि हुने थालेपछि व्यावसायिक उत्पादनसमेत गर्न थालिएको अपीनाम्पा अल्लो उद्योग संचालक विमला जोशीले बताइन् । गाउँलेहरूले अल्लो प्रशोधन गरी आम्दानी बढाएको उनले बताइन् । चर्खा, तानलगायत औजार खरिद गरी व्यावसायिक रुपमा अल्लोको सामग्री उत्पादन गर्ने गरिएको उनी बताउँछिन् ।

व्यास, दुहु, नौगाड र अपीहिमाल गाउँपालिकामा अल्लोको उत्पादन बढी हुन्छ । सबै ठाउँमा व्यवसायिक रुपमा उत्पादन कमै भएको पाईन्छ । तर केहि ठाउँमा अल्लोको व्यवसायिक उत्पादनबाट राम्रो आम्दानी भएको बताउँछन् । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएका कारण पनि गुणस्तरियतालाई ख्याल गर्दै कपडा खरिद बिक्रि हुने गरेको अपीनाम्पा अल्लो उद्योगका सञ्चालक जोशीले बताइन् ।

अल्लोबाट एक महिनामा ५ सय मिटर कपडा उत्पादन गर्ने गरेको उनको भनाई छ । ‘सबै कपडा बिक्रि हुन्छ’ उनले भनिन् ‘अल्लोको कपडा प्रतिमिटर एक हजार दुई सय ५० मा बिक्रि हुन्छ । एउटा थान कोटको कपडा ४ हजार ५ सय रुपैयामा बिक्रि गर्दै आएको उनले बताइन् । ग्रामिण क्षेत्रमा बसेर नौगाड गाउँपालिका २ गोधानीका गौरसिंह धामी उद्यमी बन्न सफल भएका छन् । एक दशकदेखि उनी अल्लोका सामग्री उत्पादन गर्न थालेका हुन् । आफ्नो व्यवसायलाई निरन्तरता दिएका धामी छोटो समयमै अल्लो व्यवसायी बन्न सफल भएकोमा खुसी ब्यक्त गर्छन् । उनले घरेलु कार्यालयबाट एक महिने अल्लो प्रशोधनको तालिम पाएपछि व्यवसाय सुरु गरेका हुन् ।

तालिम पाएपछि अल्लो व्यवसायी बन्ने आफ्नो रहर पुरा भएको धामीले बताए । ‘तालिम पाएपछि गौरी शंकर अल्लो प्रशोधन केन्द्र खोलेर व्यवसाय गर्न सुरु गरेँ’ उनले भने ‘गाउँका अरुलाई पनि ब्यवसायमा प्रेरित गर्न भुमिराज अल्लो प्रशोधन तथा बुनाई साझा सुविधा केन्द्र स्थापना गरेको हुँ ।’ हाल २५ जनाले उद्योगमा काम गरिरहेका उनले बताए । उत्पादित अल्लोको कपडा सदरमुकाम खलंगा, गोकुलेश्वर, डडेल्धुरा, धनगढी लगायतका ठाउँहरूमा बिक्रिका लागि पठाउने गरेको उनले बताए ।

अल्लो संकलन गरी प्रशोधन गरेर धागो बनाउन निकै मिहिनेत र खर्चिलो हुने भएकाले कपडा मंहगो पर्ने गरेको धामीको भनाई छ । ग्रामिण भेगमा अल्लोबाट धागो बनाई बिक्रि गर्नेसम्मको काम हुन्छ । एलर्जी, उच्च रक्तचाप जस्ता रोगहरूसमेत नियन्त्रण गर्न सक्ने गुण अल्लोको कपडामा हुने विश्वास गरिन्छ । यहि विश्वासले अल्लोबाट उत्पादित कपडाको ब्यवसाय फस्टाएको व्यवसायीहरू बताउँछन् । जिल्लामा भ्रमण आउने अधिकांश कर्मचारी र आफन्त एवं साथीहरूलाई यहाँका स्थानीय तथा विभिन्न निकायहरूले पाहुनालाई अल्लो कपडा उपहारमा रुपमा दिने गरेका छन् ।

प्रकाशित : कार्तिक १, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?