कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फोहोरले धनगढी दुर्गन्धित

निर्मला खडायत

(धनगढी) — उपमहानगरपालिकाले फोहोर ब्यवस्थापन गर्न नसक्दा धनगढी बजार दुर्गन्धित हुँदै गएको छ । फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) नभएपछि नगरवासीले सडक किनार र खोलानालामा फोहोर फाल्ने गरेका छन् । सडक किनारमा फालिएको फोहरसमेत उपमहानगरले नियमित नउठाउँदा समस्या बढेको हो । 

बर्षौदेखि सडकमा फालिने फोहोरले नगरवासीको स्वास्थ्य तथा बजार क्षेत्रको सुन्दरतामा असर पारिरहेको छ । उपमहानगरपालिकाको कार्यालयले ब्यवस्थापनमा ध्यान नदिएको भन्दै नगरवासीहरूले गुनासो गर्दै आएपनि सुनुवाई भने भएको छैन । स्थानीय बासिन्दाले फोहोर फाल्ने ठाउँको ब्यवस्था नभएकाले सडक किनारमै फाल्नु पर्ने बाध्यता रहेको बताएका छन् । ‘नगरपालिकाले टोलटोलमा डस्टविन राखेर फोहोर फाल्ने निश्चत स्थान तोकिदिए किन खोलामा फोहोर फाल्थ्यौं र ?’ धनगढी–२ का उमेश चौधरीले भने, ‘फोहोरका कारण नगरका खोलानाला दुर्गन्धित बनेका छन् । नगर कार्यालयले भने ब्यवस्थापन गर्न चासो देखाएको छैन ।’


स्मार्ट सिटीको परिकल्पना गरेको धनगढी बजारमा दुर्गन्ध बढ्दै गएको भएपनि नगरपालिकाको ध्यान नगएको बताउँदै अर्का स्थानीय धनगढी– १ का जीतु कुँवरले भने, ‘स्मार्ट सिटी बनाउँछु भन्थे धनगढीलाई । अहिले यो शहर फोहोरको सिटी बन्दै गएको छ,’ उनले भने, ‘शहरका गल्लि फोहोरका थुप्रोले भरिएका छन् ।’ धनगढीमा बर्षेनी मानिसको चाप र बजार बढ्दै गएको भएपनि फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको उनको भनाइ छ । उपमहानगरले भने धनगढीलाई ब्यवस्थित र नमुना सहर बनाउने योजनाअनुरुप काम थालेको बताउँदै आएको छ । ‘फोहर उठाउन हप्तामा एक दिन आउँछन्’ धनगढीमा क्याफे ब्यवसाय सञ्चालन गरिराखेकी सोनीया रानाले भनिन्, ‘पालिकाले सहरको फोहोर ब्यवस्थापनमा ध्यान नदिँदा समस्या भएको छ । बाटो छेउ फोहोरले भरिएको हुन्छ ।’


बजारका छेउ हरेक दिन जथाभावी रुपमा फालिएका विस्कुट, चाउचाउको खोल, पानीका खाली बोतल, प्लास्टिक घाममा सुकाएझै छरिएका हुन्छन् । ‘सडकका नालामा ढल गन्हाएर बाटोमा हिन्न समेत समस्या हुन्छ’ स्थानीय राजेन्द्र क्षेत्रीले भने ।


धनगढी उपमहानगरपालिका उपप्रमुख शुसिला भट्ट मिश्रले बजारबासीको लापरवाहीको कारण व्यवस्थापनमा समस्या आएको बताइन् । उनले नगरपालिकाले फोहोर व्यवस्थापनका लागि फोहोर फाल्न निश्चित ठाउँ तोकेको भएपनि स्थानीयले जताततैं फोहोर फाल्ने गरेको बताइन् । नगरपालिकासँग अहिले नै जमिन अभावमा निश्चित फोहोर ब्यवस्थापनको स्थान नभएको भएपनि ब्यवस्थापनका लागि भने प्रयास भइरहेको उनले बताइन् । उनले उपमहानगरपालिकामा डम्पिङ साइटको अभावका कारण व्यवस्थापनमा समस्या देखिएको बताइन् । ‘फोहोर व्यवस्थापनको काम नगरपालिकाको प्राथमिकतामा नै छ । तर, अहिलेसम्म डम्पिङ साइटको अभावका कारण हामी असफल भएका हौं’ उनले भनिन् ‘डम्पिङ साइटका लागि स्थान निश्चित भइसकेको छ । मन्त्रालयमा निवेदन पठाएका छौं । स्वीकृत हुने बित्तिकै काम सुरु हुन्छ ।’


प्रकाशित : आश्विन ३०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?