१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

धमाधम खुल्दै केरा पकाउने चेम्बर

भवानी भट्ट

(कञ्चनपुर) — केही वर्ष अघिसम्म महेन्द्रनगर तथा आसपासका बजारमा विषादी प्रयोग गरि पकाइएको केरा पाइन्थ्यो । चिस्यानमा राखेर पकाउने प्रविधि नहुँदा अधिकांशले विषादीकै प्रयोग गर्थे । उपभोक्ताले विषादीको प्रयोगबाट पकाइएका केरा मन पराउँदैनथे । केराखेतीको विस्तारसँगै केरा पकाउने प्रविधिमा पनि सुधार भएको छ ।

धमाधम खुल्दै केरा पकाउने चेम्बर

ठाउँ ठाउँमा चिस्यान प्रविधिबाट केरा पकाउने राइपनिङ चेम्बर खुलेपछि गुणस्तर सुधारसँंगै सहजै बजार पनि पाइन थालेको छ । दुई वर्षयता कचनपुरमा केरा खेती दोब्बर भएको छ । विभिन्न ठाउँमा गरि ४ वटा राइपनिंग चेम्बर पनि स्थापना भएको छन् । केही सरकारी अनुदान त केही व्यक्तिगत लगानीमा समेत चेम्बरहरू खुलेका हुन् ।


‘केरा पकाउने प्रविधि भित्रिएपछि बजारमा विषादीको प्रयोग निकै कम भएको छ,’ एक साताअघि मात्रै राइपनिंग चेम्बर खोलेको कृष्पुर नगरपालिका ५ गुलरियाका केरा उत्पादक कृषक अर्जुन जेठाराले भने, ‘किसानले पनि राम्रो मूल्य पाउन थालेका छन् ।’ उनले एक पटकमा ३० टनभन्दा बढी केरा पकाउन सकिने बताए ।


उनले कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा ७१ लाख रुपैयाँमा उक्त चेम्बर स्थापना गरेका हुन् । १२ वर्षदेखि केरा उत्पादनमा लागेका उनले २२ बिघा आफ्नो र करिब २५ विघा स्थानीय किसानको उत्पादित केरा संकलन गरेर चेम्बरमा पकाउन थालेको बताए । कृष्णपुर क्षेत्रमा मात्रै १ सय १५ हेक्टरमा केराखेती भईरहेको छ । विस्तार हुने क्रम पनि निरन्तर बढदो छ । स्थानीय तहले पनि केराखेती प्रबर्द्धनमा विशेष जोड दिएको छ ।


‘दैनिक १५/२० टन केरा पकाउन सुरु भएको छ,’ जेठाराले भने, ‘कृष्णपुर र लालपुर क्षेत्रमा उत्पादन भएको केरा चेम्बरमा ल्याउने गरेको छु ।’ उनका अनुसार यस वर्ष बढी चेम्बर भएपछि केराले मूल्य पनि राम्रो पाएको छ । गत वर्ष काँचो केरा प्रति दर्जन ३० रुपैयाँमा पाइन्थ्यो भने अहिले ४०/४२ सम्म पुगेको छ ।


कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा २ वटा र सुडामा १ र कृष्णपुरमा १ चेम्बर स्थपना भएका छन् । गर्मी याममा सबै चेम्बरले स्थानीय उत्पादनकै केरा पकाउने गरेका छन् । हिउँदमा भने यहाँको उत्पादन न्यून भएकाले भारतबाट समेत ल्याउने गरेको व्यवसायीहरू बताउँछन् । ‘अहिले चेम्बरको क्षमताको ७० प्रतिशत बढी केरा उपलब्ध छ,’ तीन वर्षअघि महेन्द्रनगरमा सञ्चालनमा आएको बालाजी फ्टु चेम्बरका सञ्चालक हेमन्त जोशीले भने, ‘हिउँदमा भारतबाट भएपनि कम परिमाणमा ल्याएर पकाउने गरेका छौं ।’


उक्त चेम्बरमा भीमदत्त नगरपालिकासँंगै कृष्णपुर, बेलौरी र कैलालीको टीकापुर क्षेत्रबाट केरा पकाउन ल्याउने गरेको जोशीले बताए । चेम्बरमा निश्चित तापक्रम मिलाएर २४ घण्टामा विषादीको प्रयोग विना नै केरा पकाउन सकिने उनले बताए ।


प्रकाशित : आश्विन ३०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?