१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्व्यसनमा फस्दै नयाँ पुस्ता

कान्तिपुर संवाददाता

डडेलधुरा — साता अघि डडेलधुराको कोटेलीमा ७८ वर्षीय जोगीलाई ढुंगा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका ३ जनाको उमेर १४ बर्ष मुनि छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा तीनै जना वालक चरेशको दुर्ब्यसनका फसेका थिए । जोगीसँग भएको पैसा लुट्ने उद्देश्यले ती बालकले निर्मम तरिकाले उनको हत्या गरेका थिए । जोगीको हत्या गरि फरार भएका बालकलाई प्रहरीले छिमेकी गाउँबाट पक्राउ गरेका थियो । 

दुई महिना अघि डडेलधुराको समैजीमा घर भित्र पसेर सुन चाँदी र पैसा लुटपाट गर्ने पनि कुलतमा फसेका बिद्यालय उमेरका बालक थिए । प्रहरीले अनुसन्धान पछि चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेका उनीहरू पनि लागुऔषध चरेश गाँजा जस्तो दुर्ब्यसनमा फसेको भेटिएको हो । पैसाका लागि बालकले दुवै अपराध गरेको प्रहरीको अनुसन्धानले देखाउँछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत बालक मध्ये पछिल्लो समय अधिकांस यस्तो कुलतमा फस्दै जान थालेको अनुसन्धानमा संलग्नको अुनभव रहेको छ । पछिल्ला दुई वर्षमा भएका अधिकांश सामाजिक अपराधका घटनामा विद्यालय उमेरका बालबालिका संलग्न भएको भेटिएका छन् ।


प्रहरीसम्म पुगेका यस्ता घटनामा संलग्न बालक प्राय:जसो चरेस जस्तो घातक नशा सेवन गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । ‘यो गम्भीर समस्याका रूपमा देखा परेको छ’ डडेलधुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने भन्छन्, ‘प्रहरी तथा अन्य सामाजिक संघसंस्थाले लागु पदार्थ दुर्ब्यसन बिरुद्ध थुप्रै अभियान संचालन गर्दा गर्दै पनि जनचेतनामा बृद्धि हुन सकेको छैन ।’ अभिभावकको कमजोरी, बिद्यालय शिक्षामा देखिएको उदासिनता, बालबालिकाको अधिकारका नाममा संस्थागत हुँदै गएको अनुशासनहीनता र चरेशको सहज उपलब्धताले गर्दा बिद्यालय उमेरको पुस्ता चरेशको कुलतले गाँजिदै जान थालेको छ । डडेलधुरा सदरमुकाम बजार क्षेत्रभित्रै सहज रूपमा चरेशको बिक्री बितरण हुन्छ । पटक पटक प्रहरीले संदिग्ध ठाउँमा छापा मारेर कारबाही पनि गर्छ । तर ग्रामिण क्षेत्रमा भने कम उमेरका वालवालिकाका लागि चरेश गाँजा सहज रुपमा पाइने नशा भएकाले पनि यसको प्रयोग निकै वढेको देखिएको हो ।


‘डडेलधुरा जिल्लामा व्यावसायिक रुपमा चरेश खेती नभएपनि गाउँघरमा यो सहज रुपमा उपलब्ध हुने नशा हो’ लागूऔषध विरुद्ध काम गरिरहेको संस्था सामाजिक विकास मञ्चका अनुसन्धानकर्ता रमेश जोशीले भने, ‘सदरमुकाममा लुकिछिपी ब्यापार हुने गरेपनि ग्रामीण क्षेत्रमा खुला रूपमा उपलब्ध हुने गरेको छ ।’ प्रहरी नायव उपरिक्षक न्यौपानेले बैतडी, दार्चुला र बझांगवाट चरेश तराई पुगाउने ब्यवसायीको ट्रान्जिट प्वाइन्टका रूपमा डडेलधुरा विकसित हुँदै जान थालेको बताए । उनले भने, ‘प्रहरीले बिद्यालयका बालबालिकालाई लक्षित गरी जनचेतना अभियान नै सञ्चालन गरिरहेको छ ।’


प्रकाशित : आश्विन ३०, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?