१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

३४ वर्षमा पनि बनेन सडक

डीआर पन्त

(डडेलधुरा) — बिभिन्न पटक भएका अनियमितताले डडेलधुरा देखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन  । साविकका ५ वटा गाउँविकास समिति जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड जोड्ने सवैभन्दा छोटो दुरीको यो सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा ०४२ मा निर्माण सुरु भएको हो  ।

३४ वर्षमा पनि बनेन सडक

डडेलधुराको उग्रतारा मन्दिर देखि ९६ किमि लामो दुरीको सडक निर्माणमा ३४ वर्षसम्म लगातार बजेट खर्च हुँदै आएपनि निर्माण कम्पनी र सरकारी अधिकारीहरूले गर्ने अनियमितताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन । डडेलधुराका साविकका ५ गाविसमा ७८ किमि र बैतडी जिल्लामा १८ किमि निर्माणाधीन सडकको रातागौन देखि ८ किमि क्षेत्रमा सुरु भएको कालोपत्रे गर्ने काममा पनि पछिल्लो पटक ब्यापक अनियमितता भएको छ ।

‘मापदण्ड अनुसार काम नभएपछि अजयमेरु गाउँपालिकाको पहलमा पहिलो पटक निर्माण कम्पनीको भुक्तानी रोक्का गरिएको छ’ अजयमेरु गाउँपालिका प्रमुख उमेश भट्टले भने ‘नाली निर्माण र कालोपत्रे गर्ने दुवै काममा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको छ ।’ पटक पटक निर्माण कम्पनीलाइ जानकारी गराउँदा समेत लापरवाही नरोकिएपछि स्थानीयहरू जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण गराएपछि बिभिन्न निकायले गरेको अनुगमनमा निर्माण कम्पनीले लापरवाही गरेको देखिएको प्रमुख भट्टले वताए । उनले भने ‘दुइ वर्ष अघिसम्म डडेलधुराको सीमा क्षेत्रमा पर्ने ७८ किमि छिचोल्दै बैतडी सीमानाको सुरनाया नदीसम्म ट्रयाक खोलिएको सडकको रातागौन भजनेउटा सडक खण्डवाट कालोपत्रे गर्ने काम सुरु गरिएको थियो ।’

डिविएस टि प्रविधिमा कालोपत्रे गरिएको सडकको कालोपत्रे ५ मिटर चौडाई, सडक नाली ४ इन्च, ढलान गर्नु पर्ने ईस्टमेटमा रहेको छ । तर काम सम्पन्न भएको कालोपत्रे सडकको चेकजाँच र अनुगमन गर्दा नालीको मोटाई वढिमा २ देखी ढाई इन्च सम्म मात्रै पाईएको र कालोपत्रे पनि मापदण्ड बिपरीत देखिएको अनुगमनमा संलग्न अधिकारीहरूले जनाएका छन ।

ईस्टमेट अनुसार उक्त कम्पनीले काम पुरा नगरेको अनुगमन वाट देखिएकाले भुक्तानी रोकिएको पुर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द खत्रीले जानकारी दिए । नाली, ह्युमपाईप विछाउने लगायत कतिपय स्थानमा कालोपत्रेको काम पनि गुणस्तरीय र मापदण्ड पुरा नगरि सम्पन्न गरेकाले भुक्तानी रोकिएको उनले वताए ।

‘गाउँपालिकाको पहलमा पहिलो पटक जनप्रतिनिधि सहित अनुगमन गरिएकाले अनियमितता वाहिर आएको हो’ स्थानीय उपभोक्ता भिमबहादुर ऐरले भने ‘८ किमि सडकखण्डमा गरिएको कालोपत्रे सडक एक वर्ष नपुग्दै ठाउँठाउँमा भत्किएको छ भने निर्माण भएका अधिकांस नाली भत्किएका छन ।’

सुदूरपश्चिमको पुरानो निर्माण कम्पनी राजेन्द्र केएस निर्माण कम्पनीले १२ करोड ४५ लाखमा निर्माण जिम्मा पाएको काम मध्ये ८ किमि पुरै क्षेत्रमा गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण ठाउँठाउँमा सडक भत्किएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन । ‘निर्माण नसकिदै सडक भत्कियो’ एकजना उपभोक्ता जयबिर ऐरले भने ‘पटक पटक जिल्ला पूर्वाधार विकास कार्यालयलाइ जानकारी गरायौं तर कुनै सुनुवाइ भएन जनप्रतिनिधिले चासो राखेपछि मात्र अनुगमन गरिएको हो ।’

सडकमा नाली भत्किरहेको र सडकपर्खाल, ग्याभेनवाल वसेको र वेस नमिलेका कारण वांगा टेडो भएको अर्का स्थानिय करविर भण्डारीले बताए । उनले भने ‘उक्त सडकमा पर्ने स्थानिय वजार भजनपुर, कोटेली, पुईलेक र वयलडाँगा मा पनि शाखा सडकहरूको केही भाग कालोपत्रे गर्नेर् ेसम्झौता गरेपनि कम्पनीले कुनै चासो देखाएको छैन ।’

डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले कालोपत्रे सडक निर्माणमा भएको अनियमितता छानविन गरि पुन निर्माण गराउन सम्वन्धित कार्यालयलाइ निर्देशन दिइ सकेको वताए । उनले भने ‘पूर्वाधार विकास कार्यालयलाइ कार्वाहीका लागि आवश्यक निर्देशन दिइसकिएको छ ।’ नाली निर्माण, ग्याभिन जाली र हयुमपाइप बिछाउने लगायतका काममा भएको अनियमितताको छानविन गर्न समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

राजमार्गको कुल लम्वाइ मध्ये ७८ किमि क्षेत्र रहेको अजयमेरु गाउँपालिका प्रमुख उमेश भट्टले सडक निर्माणमा अनियमितता भएको यो पहिलो पटक नभएको वताए । उनले भने ‘अनियमितताका कारण अहिलेसम्म राजमार्ग पुरा हुन सकेको छैन ।’ अनियमितता गरेको प्रमाणित भएपनि निर्माण कम्पनीलाइ कुनै कार्वाही नगरी पुनः निर्माण गराउने काम भइरहेको पनि उनले वताए । प्रमुख भट्टले भने ‘कालोपत्रे सडकमा संरचना मात्र नभइ सडक निर्माणमा समेत अनियमितता गरिएको छ तर प्राबिधिक र निर्माण कम्पनीको मिलोमतोमा ढाकछोप गर्ने काम भएको छ ।’

प्रमुख भट्टले भनेजस्तै कालोपत्रे भएको ८ किमि सडकखण्डको पुइलेक, भजनेउटा, कोटेली र बयलडाँगा क्षेत्रका बिभिन्न ठाउँमा कालोपत्रे उप्किएको देख्न सकिन्छ । सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी बनेका छन् ।

प्रकाशित : आश्विन २९, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?