२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

शिलदेवीमा गुन्जिए देउडा

विभिन्न संघ–संस्थाको आयोजनामा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, भलिबल प्रतियोगितालगायत कार्यक्रमको आयोजना
वसन्तप्रताप सिंह

बझाङ — ‘साई तम्रा प्रीतिका भाडी फूल फुल्याका केउडा रीतिरिवाज जनबिर्सु बचाइहेलु देउडा’ बझाङको प्रसिद्ध मेला शिलदेवी देउडामय भएको छ  । शिलदेवी मेला व्यवस्थापन मूल समितिको आयोजना र नेपाल पत्रकार महासंघको व्यवस्थापनमा भएको जिल्ला स्तरीय देउडा गीत प्रतियोगिताका कारण मेलास्थल देउडाका भाकाहरूले गुन्जायमान भएको हो  ।

शिलदेवीमा गुन्जिए देउडा

मेलामा देउडा हेर्न आएका जिल्लाका विभिन्न स्थान तथा जिल्लाबाहिरका सयौं दर्शनार्थीको सदरमुकाम चैनपुरमा घुइँचो लागेको छ । मेलाको रौनकले अहिले चैनपुर झिलीमीली भएको छ । कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुने यो मेला ३ दिनसम्म चल्ने गर्छ ।

शिलदेवी मेलामा जिल्लाभरिका १२ स्थानीय तहका देउडा खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । ‘देउडा हाम्रो संस्कृति हाम्रो गौरव’ शीर्षकमा भएको देउडा प्रतियोगितामा १४ समूहका १ सय ४० बढी कलाकारले सहभागिता जनाइरहेको देउडा प्रतियोगिताको व्यवस्थापक रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष जगदीश रोकायाले बताए ।

युवा पुस्ताहरूमा देउडाप्रतिको आकर्षण बढाउन तथा देउडा संस्कृतिलाई सुदूरपश्चिमको पहिचानको रुपमा स्थापित गर्न जिल्ला स्तरीय प्रतिस्पर्धा आयोजना गरिएको आयोजकहरूले बताएका छन् । जिल्लाकै सबैभन्दा धेरै दर्शनार्थी भेला हुने मेलाका रुपमा परिचित शिलदेवीमा भएको यो प्रतिस्पर्धाले देउडाको महत्त्व थप उजागर हुने अपेक्षा गरिएको शिलदेवी मेला व्यवस्थापन मूल समिति सचिव प्रविन्द्र धामीले बताए । एघारौं शताब्दीतिर दुर्गादेवीकी १६ बहिनी मध्य सुर्मा देवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापालाई काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्यशक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।

किम्बदन्तीअनुसार कोजाग्रत पूर्णिमाका दिन भएको सो घटना चैनपुर उपत्यकाको बीच भागमा रहेको ढुंगामा बसेर सुर्मा देवीले रमाइलो मानि हेरेकोले सोही ढुंगा (शिल) लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्ने गरेका हुन । त्यही दिनको सम्झनामा रमाइलोको लागि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनदेखि मेला लाग्ने गरेको बझाङ जिल्लाको धार्मिक इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् । शास्त्रीका अनुसार पछि सोह्रौं शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक बनाउन उनले पहल गरेका हुन् ।

मेलाको दिन आएर शिलदेवीको दर्शन गरेमा पुण्य प्राप्त हुने र इच्छित वर प्राप्त हुने भएकाले यो मेलाको महत्त्व अझ बढेको शास्त्रीको भनाइ छ । मेला हेर्न बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थी चैनपुर आउने गर्छन् । मेलाको अवसर पारेर यहाँका विभिन्न संघ–संस्थाले राष्ट्रिय कलाकारहरूको प्रस्तुति, जिल्लाकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता र विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिएको सुर्मा देवी मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मेलाका अवसरमा आयोजना गरिएको देउडा तथा भलिबल प्रतियोगिताले देउडा संस्कृतिको प्रवर्द्धन, खेल क्षेत्रका विकास हुनुका साथै मेलाको महत्त्व र गरिमा बढ्ने अपेक्षा गरिएको मेला व्यवस्थापन मूल समितिका अध्यक्ष एवं जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले बताए । यस्तै मेलालाई व्यवस्थित गर्न मदिरा निषेध गरिएको छ । मेलामा मदिरा खाएर होहल्ला हुने र विभिन्न प्रकारका आपराधिक गतिविधिहरू हुने भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्मा देवी मेला व्यवस्थापन समिति र जयपृथ्वी नगरपालिकाले चैनपुरलाई असोज २६ गते देखि २८ गतेसम्म मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक गणेश बमले बताए ।

उनका अनुसार निषेधित क्षेत्रभित्र मदिरा खाएर प्रवेश गर्ने व्यक्तिलाई २ हजार २ सय रुपैयाँ र मदिरा ओसारपसार तथा बिक्री वितरण गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यस्तै मेला अवधिभर कुनै पनि गाडीहरू सदरमुकाम चैनपुर बजारमा प्रवेशमा रोक लगाइएको समेत समितिले जनाएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?