१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घट्दै रौनक

मेनुका ढुंगाना

अछाम — अछामका विभिन्न ठाउँमा लाग्ने मेलापर्वको रौनकता घट्दै गएको छ  । मेलामा मौलिकपन र स्थानीय संस्कृतिको संरक्षणलगायत पुराना संस्कृति देखाउने चलन भए पनि केहि वर्ष यता यसको महत्व घट्दै गएको हो  ।

मदिरा सेवन गरी होहल्ला गरेर मेलालाई शान्त र मर्यादित बनाउन नदिएको भन्दै अछामको ठुलासैनमा लाग्ने घाँसे मेला र कमलबजारमा लाग्ने पित्रे औंसी मेला बन्दै भइसकेका छन् । अन्य ठाउमाँ समेत मेलाको महत्व कम हुन थालेका छन् । ‘अहिलेका युवा पुस्तामा संस्कृति जोगाउन, पर्छ भन्ने भावना छैन । मदिरा सेवन गरी हिंसात्मक गतिविधि गर्नेको जमात बलियो देखिन्छ,’ मंगलसेन नगरपालिका ६ का अध्यक्ष जनकराज भण्डारीले भने, ‘युवा पुस्ताबाट मदिरा सेवन गरेर कुटपिट, हत्या हिंसा बढी हुन थाल्यो । यसै कारणले घाँसे मेला बन्द गर्न बाध्य भयौं ।’

अछामको विनायक, जुपु, मंगलसेन, मार्कु, तितौडा, बारला, कमलबजार, तिमिल्सैन र बैजनाथ गाज्रालगायत क्षेत्रमा विशेष गरी ठूला मेला लाग्छन् । तर केही वर्षयता यी क्षेत्रमा रात्रि मेला बन्द भएका छन् । विकृति बढ्न थालेपछि ढुक्कले मेला हेर्नसमेत नसकेको स्थानीयको भनाइ छ । ‘पहिले महिला पुरुषबीच हुने देउडा, न्याउले, खुकुरी नाचजस्ता खेल खेलिन्थे । अहिले र जताततै रक्सी खाएका मात्रै देखिन्छन्,’ बान्नीगढी गाउँपालिका ४ की खन्टी ठकुल्लाले भनिन्, ‘मेलामा महिला झन् असुरक्षित छन् । डरैडरले पो आउनुपर्छ ।’

व्यापार घट्यो
मेलाको अवसरमा स्थानीय उत्पादन, निगालोबाट बनेका डोका र अन्य सामग्रीको व्यापार गर्नेहरू २/३ वर्ष यता सामान बेच्न धौधौ भएको बताउँछन् । मेलालाई केन्द्रित गरी अछामको मेल्लेख, बान्नीगढी जयगढ गाउँपालिकाका महिलाले मुङफली (बदाम) खेती नै गरेका छन् । आइतबार बान्नीगढी जयगढ गाउँपालिकाको तिमिल्सेनमा सम्पन्न मेलामा बदाम बिक्रीका लागि बसेकी मेल्लेख गाउँपालिका ७ कि पवित्रा बुढाले सोचेजस्तो व्यापार नभएको बताइन् । ‘तिमिल्सेनको सैनेगडा र गाज्राको डौठेगडा मेलामा बेच्न खेति गर्ने गरेका छौं । तर अहिले बजारकै खानेकुरा बढि बिक्री हुन्छन्,’ उनले भनिन्, ‘गाउँभरिका मान्छेले मुङफली खेती गरेका छन् । पोहोर साल त २० हजारसम्मका बदाम बेचे । यो साल व्यापारै छैन ।’

अधिकांशका पति भारतमा कामको सिलसिलामा गएका र गाउँमा महिलाले नै उत्पादन गरेका स्थानीय उत्पादन र सामग्रीले बजार नपाएको नन्देगडाकी सावित्रा बुढाको भनाइ छ । ‘गाईवस्तुको हेरचाह, छोराछोरीको झन्झटले बाहिर निस्कन पाइँदैन,’ उनले भनिन्, ‘उसो त महिलाले व्यापार गर्न गएको समाजले ठीक मान्दैन । मेलामा व्यापार गर्ने अवसर मिल्छ । त्यो पनि बिक्री हुँदैन ।’

लेकाली जंगलहरूमा पाइने निगालोबाट फुर्सदको समयमा हातले बुनेका डोकाहरू संकलन गरी विभिन्न ठाउँमा लाग्ने मेलापर्वमा बिक्री गर्दै स्थानीयले यसबाट राम्रो आम्दानी गर्नेहरू पनि मर्कामा परेका छन् । ‘जसलाई निगालाबाट बनेका सामग्रीको आवश्यकता महसुस हुन्छ ती मेला हेर्न आउँदैनन् । युवाहरू बढी आउँछन् । उनीहरूलाई यस्ता सामानको वास्ता हुँदैन,’ रामारोशन गाउँपालिका ७ का भद्र साउदले भने । धेरैजसो ठाउँमा कच्चापदार्थ निगालो नपाउने र पछिल्लो पुस्ताका युवा पिँढीहरू यो सीप सिक्न पनि इच्छुक नहुँदा बाँस र निगालोबाट बनेका सामान नपाइने अवस्था रहेको उनको भनाइ छ ।

कोजाग्रत पूर्णिमाका दिन लागेको अछामको एक प्रमुख मेला तिमिल्सेनको दसैं मेलामा डोकाको व्यापार गरिरहेका मेल्लेख गाउँपालिका १ ऋषिदहकी चन्द्रा धामीले आफूले वर्षातको समयमा फुर्सदमा बुनेका डोका बिक्रीबाट आम्दानी हुन नसकेको बताइन् । ‘डोका नाम्लो बुन्ने काम खास गरी पुरुषले नै गर्छन् । तर घरमा न श्रीमान् छन् न छोरा । आफैंले फुर्सद भएको बेला डोको, नाम्लो बुनेँ । तर बिक्री गर्न झन्झट भयो,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?