प्रविधि र यातायातले फेरियो जीवनशैली

डीआर पन्त

डडेलधुरा — दशकअघिसम्म पानीघट्ट बनाउने राजेन्द्र सार्की ५ वर्षयता आफैँ मिल सञ्चालन गरी राम्रो मुनाफा कमाउन थालेका छन्  । उनी काठको काम गर्ने मिस्त्री पनि हुन्  ।

‘पानीघट्टमा दुई दिन पालो कुरेर गहुँ पिस्नुपर्थ्यो अहिले दस मिनेट पनि लाग्दैन,’ विगत सम्झँदै उनले भने, ‘यति चाँडो हाम्रो जीवनशैली परिवर्तन होला भनेर मैले कल्पना गरेको थिएन ।’ दुई दिन पालो कुरेर पिसेको पीठोले आधा महिना पनि खान पुग्दैनथ्यो उनले भने, ‘गाउँमा मोटर पुग्यो, बिजुली जोडियो, ठाउँ ठाउँमा मिल खुले सर्वसाधारणको जीवन शैली पनि सजिलो बन्दै गयो ।’

एक दिनको पैदल हिँडेर डडेलधुराको नौगाउँबाट बैतडी सीमानाको राडिलमा तोरी पेल्न जाने देव ठकुराठी गाउँको सिरानमा रहेको मिलमा चाहे जति तोरी पेलेर लैजान्छन । ५ वर्षअघि पछिल्लोपटक उनी तोरी पेल्न दिनभरिको पैदल बाटो हिँडेर जाने गरेको सम्झँदै भन्छन्, ‘नयाँ प्रविधिले विगतको कठिन अवस्थाको पीडा बिर्साएको छ । आधाभन्दा बढी समय बाँचेको छ भने शारीरिक परिश्रम पनि निकै कम भएको छ ।’ उनका अनुसार ५० किलो तोरी पेल्न कोल्हुमा ४ जना बढीले काम गर्नुपर्थ्यो, आधा दिन लगाएर मुश्किलले ५० किलो तोरी पेलिन्थ्यो ।’

डडेलधुरा भागेश्वर गाउँपालिका नौगाउँका ठकुराठी र लाकमका राजेन्द्र सार्की एकै दशकमा जीवनशैलीमा ठूलो परिवर्तन आएको अनुभूति गर्ने उदाहरण मात्र हुन् । दशकअघिसम्म पनि कठिन जीवनशैली व्यहोर्न बाध्य सुदूर पहाडका अघिकांश नागरिकको पनि यसरी नै घरायसी दैनिकीमा अभूतपूर्व परिवर्तन आएको छ । तोरी पेल्ने कोल्हु, अन्न पिस्ने पानीघट्ट, अमिलोजन्य पदार्थ पेल्ने पेलाहा, घरघरमा हुने ढिकी, जाँतो, दाल दल्ने दलिनी लगायतका परम्परागत साधनसंँग जोडिएका पुराना प्रविधिका सामग्री विस्तारै विस्थापित र लोप हुँदै जानुले पनि कठिन जीवनशैलीमा परिवर्तन आएको अनुभूति गर्न सकिन्छ ।

डडेलधुराको सदरमुकाम अमरगढी नगरपालिका र भित्री मधेसबाहेक दशकअघिसम्म साविकका १६ गाविसमा दैनिक जीवनयापनमा पुरानै पद्धति र सीप प्रयोग हुने गरेको थियो । दुर्गममा रहेका बेलापुर, रुपाल, देवल, भागेश्वर, गाँगखेत, चिपुर र भद्रपुर लगायतका गाउँमा रहेका परम्परागत साधन दशकयता देखिन छोडेका छन । चिपुरका सामाजिक अगुवा रामबहादुर विष्टले भने, ‘हाम्रो कठिन जीवनयापनका प्रमाणका रूपमा पुराना साधन बाँकी छन् ।’ दशक अघिसम्मको जीवनशैली र अहिलेको जीवनयापनमा धर्ती र आकाशजस्तै फरक भएको उनको अनुभूति छ ।

विष्टले भनेजस्तै अधिकांश ग्रामीण क्षेत्रमा साना उद्योग दर्ता हुने क्रम बढेको छ । कोल्हु र पानीघट्टको ठाउँ आधुनिक विद्युतीय कुटानी पिसानी मिलहरूले लिएको छ । त्यस्तै तेलजन्य पदार्थ तोरी, सर्सियौ, सूर्यमुखी, भटमास र चिउरीबाट तेल निकाल्नका लागि गाउँगाउँमा मिल स्थापना भएका छन । मसालाजन्य वस्तुको कुटानी गर्न विद्युतीय मेसिनहरू घरघरमा पुगेका छन् । प्रविधिले मोही वनाउने परम्परागत ठेकी र मथ्ने मदानीसमेत प्रयोगमा आउन छोडिसकेको देखिन्छ । धेरैजसो गाउँमा परम्परागत वस्तु लोप भइसकेका छन् । प्रयोगमा नआए पनि केही ठाउँमा भने यिनको संरक्षणसमेत गरिएको छ ।

‘बिजुली नपुगेको गाउँ छैन र विद्युतीय मसिन नपुगेको घर भेटाउन मुस्किल भएको छ,’ दुई दशकदेखि ग्रामीण क्षेत्रमा क्रियाशील बहुउद्देश्यीय विकास समाजका निर्देशक प्रेम महरले भने, ‘प्रविधिले जीवनशैलीमा परिवर्तन आए पनि मानवीय विकास भने हुन सकेको देखिँदैन ।’ उनका अनुसार ग्रामीण क्षेत्रमा रहेका सामाजिक कुरीति र कुप्रथाहरू समाप्त हुन सकेका छैनन् । ‘परम्पराका नाममा जीवित कुसंस्कार हट्न नसक्दा प्रविधिका कारण भएको परिवर्तन पनि ओझेलमा परेको छ,’ उनले भने ।

‘आधुनिक प्रविधिले जति सहजता निम्त्याएको छ त्यसको पूर्ति गर्न आर्थिक स्रोतको भने विकास हुन सकेको छैन,’ महरले भने, ‘यातायात, बिजुलीबत्ती, आधुनिक प्रविधिले बचाएको समय आर्थिक उन्नति र प्रगितमा लगाउने खाले रोजगार पनि छैन, त्यसखाले सामाजिक चेतनाको विकास पनि हुन सकेको देखिँदैन ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?