कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रगत दिन मान्दैनन् आफन्त

मेनुका ढुंगाना

अछाम — असुरक्षित तवरले गरिएको गर्भपत्तनपछि उनको रगत बग्न रोकिएन । सिकिस्त भइन् । कमलबजार नगरपालिका–१ मुलीकी ४५ वर्षीया पुर्णा भाट २ घण्टा बेहोस नै भइन् । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा तीनवटा स्लाइन चढाएपछि उनलाई स्वास्थ्यकर्मीले मंगलसेन जिल्ला अस्पताल मंगलसेन रिफर गरे । त्यहाँ पुर्‍याइएपछि चिकित्सकले उनलाई रगत चढाउनुपर्ने बताए । आफन्तबाट रगत व्यवस्थापन भएन । स्वास्थ्यकर्मीकै प्रयासमा उनका लागि एकजना प्रहरीले आफ्नो रगत दिए । 

पाँच सन्तानकी आमा पुर्णालाई छैटौं गर्भ रहेको ढिला थाहा भएको थियो । २ वर्षसम्म महिनावारी रोकिएकाले गर्भ रहला भन्ने शंका थिएन । दुई महिनायता बराबर बिसन्चो हुन थाल्यो । अन्ततः गर्भ रहेको थाहा पाएपछि उनले गाउँघरमै पाइने जडिबुटी खाएर गर्भपतन गरिन् । त्यसपछि उनको अवस्था असामान्य भएको थियो । मंगलसेन पुर्‍याइँदा उनका लागि रक्तदाता नजुटेका भए स्वास्थ्यलाभ सजिलो थिएन ।


अस्पतालमा ल्याइने धेरैजना बिरामीका कुरुवालाई रक्तदानबारे जानकारी हुँदैन । बिरामी लिई आउनेहरू आफन्तका लागि रगत दिनुपर्छ भन्ने कुरा गरे डराउने झस्किने गरेको नर्स गंगा बुढामगरले बताइन् । ‘धेरैजसो केसमा गर्भवती वा सुत्केरी महिलालाई रगत दिनुपर्ने दिनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘तर यहाँ रक्तदान गर्दा दिँदा आफू कमजोर हुने, दिनै नमिल्ने भन्दै टार्ने र डराउने प्रवृत्ति छ ।’ कतिपय कुरुवालाई ग्रुप मिलेर रगत दिनुस् भन्दा अनेक बाहना बनाएर निस्कने गरेको उनले बताइन ।


कुरुवाबाट रगत व्यवस्था नभएर धेरैपटक अस्पतालकै स्वास्थ्यकर्मीले बिरामीलाई आफ्नो रगत दिएका छन् । ‘रगत दिनुपर्ने अवस्थामा बिरामी अस्पतालमा आउनेबित्तिकै प्रहरी, सशस्त्र र नेपाली सेनालाई हामी सम्पर्क गछौं,’ उनी भन्छिन्, ‘उहाँहरूले रक्तदान गरिदिँदा धेरैको ज्यान बचाउन सम्भव भएको छ ।’ रक्तदान गर्दा स्वास्थ्यमा कुनै कमजोरी हुँदैन, रक्तदानले बिरामीलाई जीवन दिन्छ भनेर बुझाउन सर्वसाधारणमा चेतनामूलक कार्यक्रम लैजानुपर्ने खाँचो रहेको उनले बताइन् ।


गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत् गर्भवती महिलाको रक्त समूह परीक्षण गराउन स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन लगाउने अभियान सुरु गर्दा पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ । सुत्केरी हुनुपूर्व गर्नुपर्ने तयारी र पैसाको जोहो गर्नपर्ने कुरा ग्रामीण महिलासम्म पुग्न नसकेकाले कुरुवा कुरा बुझ्न असजिलो मान्छन् ।


‘अहिलेसम्म पनि बच्चा जन्माउनुलाई सामान्य रूपमा हेर्छन् । तर यो गम्भीर अवस्था हो,’ उनी भन्छिन्, ‘यसको बारेमा परिवार र गर्भवती महिलाले समेत पर्याप्त ध्यान दिएको पाइँदैन ।’


जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार आव २०७४/७५ मा ‘ए’ पोजेटिभ २७, ‘बी’ पोजेटिभ ४२, ‘ओ’ पोजेटिभ २३ र ‘एबी’ पोजेटिभ ४ जना गर्भवती महिलालाई गरी जम्मा ९६ जना सुत्केरीलाई रगत दिइएको छ । आव ०७५/७६ मा विभिन्न अवस्थाका ५० जनाभन्दा बढी बिरामीलाई रगत दिइएको छ । रगत दिइएकाहरूमा गर्भवती महिला नै धेरै छन् ।


एचआईभी संक्रमितलाई समेत रगत दिइएको छ । रगत दिनेमा धेरैजसो प्रहरी, सशस्त्र र नेपाली सेना नै छन् । ‘भन्नेबित्तिकै सुरक्षाकर्मीले रक्तदान गरिदिँदा स्वास्थ्यकर्मीले थुप्रै महिलाको ज्यान बचाएका छन्,’ जिल्ला अस्पतालका ल्याब असिस्टेन्ट टोपबहादुर विष्टले भने, ‘आफन्तहरू रगत खोज्नुस्भन्दा बिरामी छाडेरै हिँड्ने गर्छन् । संकटको बेला हामीले गुहार्ने भनेकै प्रहरी र सेनालाई हो ।’ बिरामी लिएर आउनेहरू परिवारका सदस्य हुने भएकाले रक्त समूह मिल्ने भए पनि विभिन्न बहाना बनाएर रक्तदानका लागि तयार नहुने प्रवृत्ति पाइएको उनले गुनासो गरे ।


अस्पतालबाट बिरामीलाई रगत अभाव भएको खबर आउनासाथ ग्रुप मिल्ने प्रहरीलाई तत्काल अस्पताल पठाउने गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले बताए । ‘ग्रुप मिल्दैन, दिन सकिँदैन भन्ने जवाफ अहिलेसम्म हामीले पठाएका छैनौं । यता पाउन नसकेमा सेना र सशस्त्र प्रहरीसँग पनि समन्वय गर्ने गरेका छौं ।’ सुरक्षाकर्मीले गरेको रक्तदान अधिकांश महिलाको ज्यान बचाउन काम लागेको सुन्न पाउँदा सन्तोष लाग्ने उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?