नौ दिनसम्म सुत्केरी अछूत

मेनुका ढुंगाना

(अछाम) — साँफेबगर नगरपालिका ११ देवीस्थानकी कल्पना दास २१ वर्षकी भइन् । शनिबार उनले जिल्ला अस्पताल मंगलसेनमा पहिलो सन्तान छोरा जन्माइन् । श्रीमान्, सासूससुरा कामका लागि भारत गएपछि उनी सुत्केरी हुन माइतीघर मंगलसेन पुगेकी हुन् । कल्पनाले सुत्केरीपछिको स्याहार, माया र बच्चाको रेखदेख गरिदिने कोही भेटिनन् ।

सुत्केरीलाई छोए अपवित्र भइने भन्दै उनकी आमा राधाले समेत उनलाई छोइनन् । ‘सुत्केरीलाई छोए मलाई सन्चो हुँदैन । देउता पनि रिसाउँछन् । अब नौ दिन भएपछि मात्रै छोरीलाई छुन मिल्छ । नातिको मुख पनि त्यही दिन हेर्छु,’ राधाले भनिन् ।


जिल्ला अस्पतालमै पुगेका कल्पनाका आफन्तले पनि उनलाई छुन मानेनन् । ‘आमाले पनि मलाई सन्चो हुँदैन भन्नुभयो । झन् अरूले छुने कुरै भएन । अन्तिममा बज्यै नाता पर्नेले छुनुभयो,’ कल्पनाले सुनाइन्, ‘सुत्केरी व्यथाभन्दा धेरै त आफूलाई छुने मान्छे नभेट्दा पीडा भयो ।’


कमलबजार नगरपालिका ५ की मैना भुलले पनि सुत्केरी भइसकेपछि छुने मान्छे पाइनन् । जसोतसो कमलबजार प्रथामिक स्वास्थ्य केन्द्र पुर्‍याएर शुक्रबार छोरी जन्म दिएकी उनले घरसम्म बच्चा बोकिदिने कोही पाइनन् । ‘सुत्केरी भएको नौ दिनसम्म त अछुतो ठान्छन् । सानो गोठमा आफैं पकाएर खानुपर्छ । यो बेला गह्रौं सामान उठाउन नमिल्ने भए पनि अरू कसैले सहयोग गर्दैनन्,’ मैनाले भनिन्, ‘मेरा त पहिले नै दुई वटी छोरी थिए । फेरि पनि छोरी नै जन्मिन् । मैले परिवारबाट के माया पाउँथेँ र ?’ उनका अनुसार अझै पनि सुत्केरी महिलालाई गरिने विभेद हटेको छैन । छोरा भए एकनासको र छोरी भए अर्को खालको व्यवहार गर्ने चलन अझै रहेको उनको भनाइ छ ।


यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान छ तर परिवारबाटै सहयोग नहुने पीडित महिला बताउँछन् । गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि व्यवहारमा लागू नभएको बयालाकी एक गर्भवतीले बताइन् । ‘मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ उनले भनिन्, ‘घरका सदस्यले चासो नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ ।’ सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी नभएको उनको भनाइ छ । ‘गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो भनेर सिकियो, बुझियो पनि । अन्तमा आफैंलाई समस्या पर्‍यो,’ उनले भनिन् । उनका अनुसार यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।


जिल्ला अस्पताल अछामका अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिशत छ । जिल्लाभरि ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला सुविधा लिनबाट वञ्चित छन् । जिल्लाभरका स्वास्थ्य संस्थाले संकलन गरेको तथ्यांकले सुरक्षित सुत्केरी गराउनेमा बढी सहरबजारका महिला रहेको देखाएको छ ।


ग्रामीण भेगका अधिकांश महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य संस्थासम्म पुगेर बच्चा जन्माउने महिला पनि छुवाछुतकै कारण असुरक्षित रहेको जिल्ला अस्पतालकी कार्यालय सहयोगी देबु ढुंगानाले बताइन् । ‘सुत्केरी र गर्भवतीकै हेरचाह र स्याहारका लागि हामीलाई खटाइएको छ । अस्पतालमै सुत्केरीलाई नछुने धेरै आउँछन् । कतिपय महिला त अप्ठ्यारामा समेत परेका छन्,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?