कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

घर हिँडेका यात्रुले टिकटै पाएनन्

मोहन बुढाऐर

धनगढी — सुदूरका सडकमा पुराना र थोत्रा गाडीको एकछत्र राज चलेको छ  । गाडीको कण्डिसनकै कारण यात्रुहरूले सास्ती व्यहोर्नु परिहेको छ  ।

घर हिँडेका यात्रुले टिकटै पाएनन्

बढी चाप हुने दसैंको बेला सुदूरका सडकमा अझ बढी सास्ती बढेको यात्रुहरूको गुनासो छ ।

सडकमा गुड्ने गाडीको चेकजाँचका लागि बसेका ट्राफिकको काम पैसा असुल्ने मात्रै भईरहेको यात्रुको गुनासो छ । अहिले क्षमता भन्दा दोब्बर यात्रु भरेर गाडी सडकमा गुडिरहेका छन । ट्राफिकले यात्रुको समस्यालाई नजर अन्दाज गरेको यात्रहरूले बताएका छन् ।

‘ट्राफिकले गाडी रोक्छ, यात्रुको समस्या बुझ्न होईन, पैसा माग्न’ एक यात्रुले भने, ‘हरेक ठाउँमा बसेका ट्राफिकलाई एक/दुई सय दिएको मैले देखे ।’ ट्राफिकले यात्रुको गुनासो समेत नसुन्ने उनी बताउछन ।

धनगढीबाट अछाम साँफेबगरका लागि हिडेको गाडीबाट कैलालीको सहजपुरमा आफुले ट्राफिकलाई समस्या अवगत गराउन खोजेको बताए । तर ट्राफिकले दसै तिहारमा यस्तै सास्ती भोग्नु पर्ने बताए । बाटोमा दिसा पिशाव लाग्यो, उल्टी गरेर बेहोस हुने अवस्थामा पनि गाडी नरोकि दिने, बाटोमा थप भाडा माग्ने, छोडि दिने, कण्डक्टर द्वारा राम्रो ब्यवहार नहुने र भेडाच्याङग्रालाई झै हुलिएर जानु पर्ने समस्या रहेको उनी बताउछन ।

सुदूरपश्चिम ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मोहन साउँदले दसैं तिहारका यात्रुको सहजताका लागि ठाउँ ठाउँमा हेल्प डेस्क राखेको र चेकजाँच ड्युटी बढाएको बताए । उनले बढी ओभरलोड गाडीबाट मालसमान झिक्ने, सिट क्षमता भन्दा बढी यात्रुलाई निकालेर अर्को गाडीमा पठाउने जस्ता काम भईरहेको बताए । बस भित्रै समेत गएर यात्रुको समस्या बुझ्ने गरेको दावी गरे । उनले कुनै ट्र्राफिकले पैसा मागेको र यात्रुको समस्या नबुझेको खवर आए तुरुन्त कारवाही गरिने बताए ।

टिकट पाउनै मुस्किल
यतिबेला सुदूरपश्चिमको राजधानी तथा प्रमुख सहर धनगढीबाट अन्य जिल्ला जानेहरूका लागि बसको टिकट पाउन मुश्किल भएको छ । कामका लागि यहाँ आएका र आफनो पुर्ख्यौली पहाड घर मा दसैं मनाउनेहरूले बसको टिकट पाउन नसकिएको गुनासो गरिरहेका छन ।

भारतको दिल्लिमा काम गरेर दसैंका लागि डोटी सायलका रनी टमटाको परिवार बस पार्कमा टिकटका लागि भौतारहेका थिए । उनले बसको टिकट पाउन नसक्दा दुई दिन धनगढी बसपार्कमा रोकिनु परेको छ । शनिबारका लागि पनि उनको टिकट पक्का भएको छैन । ‘बस काउन्टरमा टिकट मिल्नै छाडेको छ’ उनले भने, ‘टिकटको दलाली गर्नेबाट शनिबारका लागि टिकट पाईने आश्वासन पाएको छु ।’ उनले मात्रै हैन् सुदूरपश्चिमको ठुलो बसपार्क धनगढीमा सयौं यात्रीले टिकट पाउन सकेका छैन्न ।

‘पहाडमा यसपालि कुल देवताको पुजा र दसैं मनाउने कार्यक्रम थियो’ धनगढी ४ का भान बहादुर साउँदले भने, ‘तीन/चार दिन भयो टिकटका लागि प्रयास गरेको पाउनै सकिरहेको छैन । टिकटले गर्दा पहाड जाने तयारी अन्तिम समयमा रद्द होला जस्तो छ ।’

त्यस्तै धनगढी हसनपुरका स्थानीय प्रेमदत्त जोशीले बस समितिले दसैं तिहारलाई मध्य नजर गरेर टिकटमा यात्रुको सहज पहुँच पुगाउनु पर्ने बताए । उनले स्थानीय प्रशासनले पनि अनुगमन गर्नु पर्ने बताए । ‘यहाँ सुनिएको छ , टिकटको व्ल्याकमेलिंग भईरहेको छ’ उनले भने, ‘गाडी साहुले चलेको टिकट दर भन्दा दोब्बर रकममा आफै टिकट बेच्न थालेका छन ।’

टिकट लुकाउने र ब्ल्याकमा बेच्ने काम मात्रै भएको छैन्, यहाँ यात्रुबाट थोरै झोलि गुन्टाको समेत मनमरी पैसा माग्न थालेको यात्रु लालमनी भाटले बताए । ‘म संँग २० किलो जतिको एउटा झोलाको डडेल्धुरा सम्मका लागि २ सय रुपैया लियो’ अत्तरियामा भेटिएका उनले भने, ‘नत्र लग्दैन भनेपछि कहाँ गुनासो गर्ने ? ।’ राजमार्ग र सडक किनारमा खाना खुवाउने होटल र पसलबाट समेत यात्रुहरू लुटिन लागेको उनले बताए ।

चाडबाडमा नगरि नहुने यात्रा, सधैं कष्टकर हुने गरेको अछामका बिर्ख ठगुन्नाले भने । ‘नजाउ कसरी , आफना मान्यवरको आशिर्वाद थाप्न दशैंमा पहाड घर जानै पर्ने’ उनले भने, ‘यात्रा गर्दा खेरीको सास्तीले कहिले यात्रा नगरौं जस्तो लाग्ने ।’ सुदूरपश्चिम बस समिति अध्यक्ष पदम सापकोटाले यात्रुको चापलाई ध्यानमा राखेर हरेक रुटमा क्युका बाहेक पनि अतिरिक्त बस सञ्चालनमा ल्याएको बताए । ‘हरेक रुटमा अहिले पहिलेको भन्दा डबल/तेब्बर संख्यामा गाडी चलेका छन’ उनले भने, ‘चाप बढीनै छ ।’ उनले अग्रीम बुकिंग खुलेको बताए । तर अहिले अग्रीम बुकिंग बन्द गरे पनि यात्रुले टिकटनै नपाउने समस्या नभएको दावी गरे ।

सुदूरपश्चिमको सडकमा महाकाली, उग्रतारा, शैलेश्वरी, मालिका लगायत सात वटा बस समिति तथा प्रालीद्वारा हजार भन्दा बढी बस सञ्चालनमा छन । जसमध्ये पहाडी रुटमा बढीमा ५ सय सवारीसाधन छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?