घट्यो सखिया नाचको रौनक

निर्मला खडायत

धनगढी — केही वर्ष अघिसम्म पनि दसैं सुरु हुनुअघि नै कैलाली कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनक सुरु हुन्थ्यो  । गाउँभरिका मानिसहरू जुटेर सखिया नाचको तयारी गर्न थाल्थे  ।

घट्यो सखिया नाचको रौनक

थारूको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाचको रौनक छाउथ्यो ।

दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखियाको रमाइलोले उनीहरू आफ्नो थकाइ मार्थे । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जाने दर्शकहरूले गर्दा बस्ती नै उल्लासमय हुन्थ्यो । ‘तर हिजोआज थारू बस्तीमा सखिया नाचको धुन विरलै सुन्न पाइन्छ’ धनगढी उपमहानगरपालिका ७ पटेलाकी पार्वती चौधरीले भनिन् ‘नाचको सुरूआत गर्नुअघि गुरुवाको आदेश अनुसार विशेष किसिमको पूजा हुन्छ, दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गरेपछि सखिया नाच सुरु हुन्छ ।’

‘सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन । थारू समुदायमा यसले आफ्नै ऐतिहासिक विशेषता बोकेको छ’ पार्वतीले भनिन् ‘यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य हुने गर्छ ।’

थारू संस्कृतिको फरक पहिचान बोकेको सखिया नाच अहिले भने हराउँदै जान थालेको छ । थारू बुद्धिजीवीहरूले संस्कृति लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पटेला गाउँकी भलमन्सा सुनिता चौधरीले भनिन्, ‘बस्तीमा अहिले मादल बजाउने र गीत गाउन जान्ने मान्छेको कमी हुन थालेको छ ।’

उनले केही युवा पुस्ता पढाइको सिलसिलामा त केही पैसा कमाउन देश विदेश गएका कारण पनि अहिले थारू बस्तीमा सखियाको धुन सुन्न नपाइएको बताइन् । गाउँमा भएका युवा पुस्ता पनि सखिया नाचको महत्वबारे अनभिज्ञ देखिन्छन् । गाउँका युवा रमेश चौधरीले भने ‘साँझ आमा र दिदीहरू सखिया नाच गर्दै गीत गाउँछन् । गीत नबुझेपनि हामीहरू हेरेर रमाइलो गर्न जान्छौं ।’

धेरै युवा सखिया नाचबारे अनभिज्ञ भैरहदा केही युवा भने सखिया नाच हेनकै लागि सहरबाट गाउँ फर्किने गरेका छन् । २३ वर्षीया ज्योती चौधरीले भनिन्, ‘सरकारले पनि हामीहरूलाई संस्कृति जोगाउन सहयोग गरेको छ’ उनले भनिन् ‘दसैंका बेला कलेज पनि बिदा हुन्छ । म हरेक वर्ष सखिया नाच हेर्न र नाच्न गाउँ फर्किन्छु ।’

दसैंका बेला मात्रै होइन विभिन्न महोत्सवहरूमा पनि आफूले साथीहरूलाई जम्मा गरेर सखिया नाच प्रस्तुत गर्ने गरेको उनले बताइन् । पछिल्लो समय पर्वका बेला लोप हुन थालेको सखिया नाच बिभिन्न मेला महोत्सव र कार्यक्रममा भने प्रस्तुत भैरहेको हुन्छ ।

‘पहिले दसैं सुरु हुनुभन्दा केही दिन अघिदेखि सुरु हुने यो नाच एक महिनासम्म हुने गर्थ्यो । गाउँका गुरुवा धर्म बहादुर चौधरीले भने ‘सखिया नाच अहिले हराउँदै जान थालेको छ, नयाँ पुस्ताले आफ्नो संस्कृति बिर्संदै जान थालेका छन् ।’

माघमा नाचिने मघौटा नाच र दसैंका बेला नाचिने सखिया नाच थारूहरूको चर्चित र निकै रमाइलो नाच मध्ये एक हुन् । उनले मौलिक भाषामै भने ‘आजकाल पहिलेक जैसिन नाच नै हो ।’ ‘पहिले अटवारीको व्रत बारिसकेपछि लगत्तै सखिया नाच सुरु हुन्थ्यो’ सञ्चराम चौधरीले भने ‘हामीहरू आफ्नो संस्कृति रहिरहोस् भन्न चाहन्छौं तर यो बिस्तारै लोप हुदै गइरहेको छ ।’

सखिया गीतमा कृष्ण लीलाको आरम्भबाट अन्त्यसम्म गाउने गरिन्छ । धनगढी उपमहानगरपालिका ५ की जोधौनी चौधरीले भनिन् ‘खोई किन अहिले थारू समुदायका अधिकांस ब्यक्तिले सखिया खेल्न छोडिसके । खेले पनि २/४ दिन मात्रै खेल्ने गर्छन् ।’ धनगढी उपमहानगरपालिका ५ कै लक्ष्मी चौधरीले जोधौनी चौधरीकै कुरामा सहमती जनाउँदै भनिन्, ‘अहिले ठेट सखिया नाच पूर्ण रुपमा हराउन थालेको छ ।’

प्रकाशित : आश्विन १८, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?