कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगदै पाउँदा ज्येष्ठ नागरिक दंग

दसैंको चहलपहल
ज्येष्ठ नागरिक भन्छन्, ‘यसपालि त भत्ता पनि बढेको रहेछ, बैंक जान झन्झट हुन्थ्यो, नगदै दिएपछि सजिलो भयो’
अर्जुन शाह

बाजुरा — सय वर्ष पुग्नै थालेका बड्डेलीलका केशे उखेडा १२ हजार रुपैयाँ बुझेपछि दंग थिए  । दसैंको मुखमा सामाजिक सुरक्षा रकम नगदै पाउने भएपछि बाजुराको बुढीगंगा नगरपालिका ७ मा शुक्रबार बिहानैदेखि टोलटोलबाट वडाको केन्द्रमा घुँइचो लागेको थियो  ।

नगदै पाउँदा ज्येष्ठ नागरिक दंग

सामाजिक सुरक्षा रकम बैंकमार्फत उपलब्ध गराउनुपर्ने प्रावधान भए पनि नगरपालिकाले सम्बन्धित वडाको केन्द्रबाट दसैंको मुखमा भत्ता रकम नगदै उपलब्ध गराउने निर्णय गरेको थियो । यस क्रममा शुक्रबार वडा ७ को केन्द्र बड्डेलीचौरबाट भत्ता वितरण गरिएको हो ।

‘दसैंको मुखमा वडा सदस्यहरूको उपस्थितिमा वडाको केन्द्रबाटै रकम रकम बाँडेका हौं,’ वडा–सचिव गोरख कटुवालले भने, ‘बैंकबाटै भुक्तानी गर्नुपर्ने नियम भए पनि सबैका खाता खोल्ने काम पूरा नभएकाले नगदै दिने निर्णय गरेका हौं ।’ नगरपालिकाका १० वटै वडाबाट सामाजिक सुरक्षा रकम नगदै वितरण गरिएको नगरपालिकाले जनाएको छ । ‘केही वडामा सबैको बैंक खाता खोल्ने काम पूरा नभएकाले पहिलो चौमासिकमा नगदै उपलब्ध गराइएको हो,’ नगरप्रमुख दीपकविक्रम शाहले भने, ‘दोस्रो चौमासिकदेखि बैंकमार्फतै भूक्तानी पाउने ब्यवस्था मिलाउछौं ।’

ज्येष्ठ नागरिक, एकल महिला र अपांग, बालबालिकालगायतले सामाजिक सुरक्षा रकम बुझेका हुन् । घर नजिकैबाट नगदै पाएपछि बढिजसो वृद्धवृद्धा खुसी देखिन्थे । ‘यसपालि त भत्ता पनि बढेको रहेछ,’ कान कम सुन्ने उखेडाले भने ‘बैंक जान झन्झट हुने थियो । नगदै दिएपछि सजिलो भयो ।’

चौमासिक रकम एकमुष्ट उपलब्ध गराइएको हो । चालु आवको साउनदेखि कार्तिकसम्मको रकम उनीहरूले पाएका छन् । गत आर्थिक वर्षसम्म ज्येष्ठ नागरिकले महिनाको २ हजार पाउँथे । यो वर्ष ३ हजार भएको छ । यसरी उनीहरूले ४ महिनाको एकमुष्ट १२ हजार बुझेका हुन् । अपांग र एकल महिलाहरूले मासिक २ हजारका दरले एकमुष्ट ८ हजार बुझेका छन् । ‘बैंक जानुभन्दा नगद पाएर सजिलो भयो’, एकल महिला झालीकी बिरमा कटुवालले भनिन् ।

विभिन्न शीर्षकमा सामाजिक सुरक्षा रकम उपलब्ध गराइएको हो । वडा नम्बर ७ मा जेष्ठ नागरिक ११२ जना छन् । उनीहरूले १२ हजारका दरले भत्ता रकम बुझे । ७० कटेका ८६ जनालाई औषधी उपचार खर्च थप एक हजार उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । जेष्ठ नागरिक बराबर रकम पाउने पुर्ण अपांग २ जना रहेको सचिव कटुवालले बताए ।

एकल महिला भत्ता पाउने ६६ जना छन् । यस्तै अति अशक्त ६ जनाले एकमुष्ट ८ हजार बुझेका छन् । १ सय २ दलित समूदायका बालबालिकालाई मासिक ४ सयका दरले चौमासिक एकमुष्ट १ हजार ६ सय बालबालिका सुरक्षा भत्ता उपलब्ध गराइएको छ । गैर दलित समूदायका ९२ जनालाई बाल पोषण सुरक्षा भत्ता दलित बालबालिका सरह उपलब्ध गराइएको वडा–सचिव कटुवालले बताए । ‘भत्ता पाएपछि दसैं सजिलो हुने भयो’ झालीकी कलुदेवि सार्कीले भनिन् ‘घर परिवारलाई दसैंमा एक छाक छाक मिठो मसिनो कसरी जुटाउ भन्ने चिन्ता हटेको छ ।’ बुढीगंगामा सामाजिक सुरक्षा रकम पाउनेको संख्या ४ हजार रहेको नासु पूर्ण शाहले बताए ।

बाजुराका कूल ९ मध्ये ८ स्थानीय तहले नगदै रकम उपलब्ध गराएका छन् । बडिमालिका नगरपालिकाले मात्रै बैंक खातामार्फत रकम भूक्तानी गरेको छ । भत्ता पाउने सबैको बैंक खाता खोल्ने कार्य पुरा नभएकाले दसैंको मुखमा नगदै उपलब्ध गराइएको सम्बन्धित स्थानीय तहले बताएका छन् ।

बुढीनन्दा नगरपालिकाका नासु रामदत्त जोशीले भने ‘सबैको खाता खोलाएर बैंकमै भूक्तानीको प्रयास गरेका हौं । तर यसपाली सम्भव भएन ।’ इन्टरनेट सुविधा चुस्त नभएको जनाउँदै केही समयपछि मात्रै खाता सञ्चालन गर्न सकिने बताएको नासु जोशी बताउँछन् ।

प्रकाशित : आश्विन १८, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?