नौरथामा बज्नै छाडे बाजा

‘सबैभन्दा ठूलो दमाहालाई दाइनो भनिन्छ, त्यो सँगै मध्यम र साना दमाहा पनि हुन्थे । सबैभन्दा सानोलाइ ट्याम्को भन्ने चलन छ । तीनै आकारका दमाहाको सामूहिक बाजाको धुनले वल्लोपल्लो गाउँ गुञ्जिएर रोमाञ्चक हुन्थ्यो’
अर्जुन शाह

बाजुरा — नवरात्रभर पुर्वुताको दसैंघरमा घन्किने दमाहाका बाजाले बाजुराको दक्षिणी क्षेत्र गुञ्जयमान हुन्थ्यो । बाजुराका अरु गाउँका दसैं घरमा पनि त्यसैगरि पूजाका बाजा बज्थे । अहिले कहिकतै दमाहाको बाजो सुनिन्न । पछिल्ला वर्षमा नौरथाका बाजा बजाएर पुजाआजा गर्ने चलन पनि लोप हुन थालेको छ ।

दक्षिणी क्षेत्रका बार्जुकोट, बाह्रविस, कुडीकोट, झालीलगायतका पुजाघरहरूमा यतिबेला बाजा बजेका छैनन् । ‘पहिलाको जस्तो धार्मिक आस्था र दसैंको रौनक छैन’ बुढीगंगा नगरपालिका ७ मुडेगाउँ दसैंघरका नरेन्द्रबहादुर शाहले भने ‘अहिले गाउँमा न बाजा बजाउने मान्छे छन्, न त युवापुस्ता दसैं पुजामा बस्छन् ।’


पुर्वूतामा सबै जाती समूदायको सामूहिक दसैं घर छ । नवरात्रीमा मोहन नेपाली अगुवाइ गर्ने ७ जनाको दमाई समूहले त्यही दसैं घरमा दिनको तीन पटक नौरथाका बाजा बजाउँथे । विहानै झिसमिसेमा, मध्यान्ह र साँझ पुजाको समयमा गरी दिनको तीन पटक नवरात्री अवधिभर ‘नौरथाका बाजा’ बज्थे । अहिले मोहन मजदुरी गर्न भार गएका छन् । गाउँमा विधिपूर्वक नौरथाका बाजा बजाउन जान्ने अरु छैनन् । त्यसैमा युवाहरू अधिकांश भारतमै छन् । ‘गाउँमा बाजा बजाउने मान्छे नै छैनन्’ पुर्वूताका शेरबहादुर शाहीले भने ‘पुर्वूतामा पनि दसैंको रौनक पहिला जस्तो रहेन ।


उसो त दसैंमा घन्किने दमाहा पनि लोप हुँदैछन् । दमाई समूदायले बाजा बजाउँथे । हरेक दमाई समूहमा एउटा दाइनो हुन्थ्यो । सबैभन्दा ठुलो दमाहालाई दाइनो भनिन्छ । त्यो सँगै मध्यम र साना दमाहा पनि हुन्थे । सबैभन्दा सानोलाइ टाम्को भन्ने चलन छ । तीन वटै आकारका दमाहाको सामूहिक बाजाको धुनले वल्लोपल्लो गाउँ गुञ्जिएर रोमाञ्चक हुन्थ्यो । पुजाआजा, विवाह ब्रतवन्ध मात्रै हैन, गाउँको हुनेखाने र भद्रभलाद्मीको मृत्युमा बाजा बजाएर मलामी लाने चलन छ । यी सबै संस्कारहरू विस्तारै लोप हुँदै गएका यहाँका बुढापाकाहरू बताउँछन् ।


‘शुद्ध तामाबाट बनेको हुन्छ दमाहा । झण्डै १० किलोको ठूलो दमाहा हुन्छ दाइनो,’ बाह्रविसका रमेश नेपाली भन्छन्, ‘हाम्रा बुवाको पुस्तासम्मले दमाहा जतन गरेर राख्थे । आवश्यकताअनुसार छाला फेरेर मर्मत पनि गरिरहन्थे । अहिले दमाहा बजाउने चलन नै लोप हुने अवस्थामा पुगेपछि नयाँ थप्ने कुरै छैन ।’


दाइनोको इज्जत पनि बेग्लै हुने । सबै भन्दा उचो आवाज आउने (बज्ने) दाइनोको चर्चा चारैतिर हुन्थ्यो । वारिगाउँका बासिन्दाले पारिगाउँ बाजा बजे फलानाको दाइनो घन्कियो भन्ने टाढैबाट अनुमान लगाउँथे । ‘युवा पुस्ताका लागि यो सब कथाजस्तो हुन थालेको छ’ नेपालीले भने ‘बाबुबाजेका पालाका दमाहा लोप भइसके । नयाँ बनाउने रुची कसैलाई छैन ।

यस्ता कतिपय धार्मिक र सांस्कृतिक परम्पराहरू हराउँदै गएका छन् ।’ नयाँ थप्ने कुरा त परै जाओस्, पुरानै संरक्षण गरेर राख्नेहरू पनि नभएको उनले बताए ।


मार्तडी लगायत केही गाउँका दमाई समूदायले मात्र दमाहा बाजा जोगाएर राखेको देखिन्छ । सदरमुकाम भएकाले जुनसूकै औपचारिक कार्यक्रममा बाजा बजाउने चलन छ । विभिन्न सरकारी तथा गैरसरकारी कार्यक्रममा दमाहा बाजा बजाउने चलन छ । त्यसबाट राम्रै रकम प्राप्त हुने भएकाले बृद्ध पुस्ताले यो पेशा छाडेका छैनन् ।


‘राम्रै आम्दानी हुने भएकाले पेशा जोगिएको छ’ मार्तडीमा दमाई समूदायका अगुवा काल्चे ढोलीले भने ‘एउटा कार्यक्रममा १० हजार जति लिन्छौं ।’ ग्रामीण क्षेत्रतिर यस्तो अवस्था छैन । बाजा बजाउने पेशाबाट जीविकोपार्जन नहुने भएकाले युवाहरूको आकर्षण नभएको बाह्रविसका दयाराम नेपाली बताउँछन् ।


हुन त गाउँघरमा दसैंको उमंग पहिलाको जस्तो कहिँकतै देखिन्न । दशक अघिसम्म नवरात्रीमा गाउँगाउँमा माली (पिङ) हुइक्किएका देखिन्थे । अहिले कतै देखिदैनन् । यस्तै घटस्थापनाको दिन राँगा जुधाएर रामाइलो गरिन्थ्यो । राँगा जुधाईको रमाइलो र महत्व नै बेग्लै हुन्थ्यो । गाउँगाउँबाट जुधाई हुने परम्परागत थलोमा राँगा ल्याइन्थे । रमाइलो हेर्नेहरूको भिड लाग्थ्यो । जित्ने राँगोको मुल्य बढ्थ्यो । राँगा मालिक र पुरै गाउँको इज्जत बढेको मानिन्थ्यो । हार्ने राँगाको मूल्य घट्थ्यो । तुरुन्तै बिक्रि गर्थे । ‘अहिले त यी सब चलन पनि लोप हुन थाले’ गुदुखाती धुर्तोलाका धर्म रावतले भने ‘अहिले त दसै आएगएको पनि थाहै हुन्न ।’


दसैंमा राँगा बली चढाउँने परम्परा पनि लोप भएको छ । विगतमा दसैंघरमा अष्टमी र नवमीमा बोकासँगै रागो बली दिने चलन थियो । भाकल गरेकाहरूले ब्यक्तिगत बली चढाउँथे । सामूहिक दसैं गर्ने गाउँमा आलोपालो गरेर राँगो बोका चढाउने चलन थियो । अहिले छैन । ‘मुस्किलले बोका काटिन्छन, राँगो बोका बली पुजा हुने दसैं घरहरू अहिले मुस्किलले भेटिन्छन्’ बाह्रविसका पदम रावलले भने ‘दसैंमा बली पुजा गर्ने चलन हट्दै जानु एक किसिमले राम्रै पनि हो ।’

प्रकाशित : आश्विन १७, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

आधुनिक एम्बुलेन्स २ महिनादेखि थन्किए

अर्जुन शाह

धनगढी — सामाजिक विकास मन्त्रालयले गत आवमै खरिद गरेका एम्बुलेन्सहरू वितरण गर्न नसकेर थन्किएका छन् । मन्त्रालयले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका लागि १६ आधुनिक एम्बुलेन्स खरिद गरेको थियो ।

गत आवकै बजेटबाट ६ करोड २५ लाखमा १६ एम्बुलेन्स खरिद गरिएको हो । सुरुमा १६ निर्वाचन क्षेत्रमा एउटा एउटा वितरण गर्ने योजनाअनुसार खरिद भएपछि हाल आएर धेरैतिरबाट माग आएपछि अलमल भएकाले वितरणमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहभन्दा पनि जिल्ला अस्पताललाई दिँदा प्रभावकारी हुनसक्ने सुझाव आएपछि मन्त्रालयले निर्णयमा ढिलाइ गरेको स्रोतको भनाइ छ ।

मन्त्रालयले सुरुमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल, डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकी, डोटीमा जिल्ला अस्पताल र चवराचौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई वितरण गर्ने सूची बनाएको थियो ।

यी मध्येका ६ स्वास्थ्य संस्थाको नाम हटाएर सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वस्थ्य केन्द्र कमलबजार अछाम, जोगबुडा अस्पताल डडेल्धुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ राखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार हिकिला स्वास्थ्य चौकी दार्चुला, कुलाउ स्वस्थ्य चौकी बैतडी, मटेला स्वास्थ्य चौकी बझाङ, भागेश्वर स्वस्थ्य चौकी डडेल्धुरा, विनायक पञ्चदेवल अछाम तथा कोल्टी प्रथामिक स्वास्थ्य केन्द्र बाजुराको नाम हटाइएको छ ।

‘बजेट शीर्षकमा निर्वाचन क्षेत्रमा दिने भन्ने योजनाअनुसार खरिद भएका हुन् । तर त्यसो गर्दा प्रभावकारी सञ्चालनमा कठिनाइ हुन सक्ने देखिएकाले निर्णय गर्न ढिलाइ भएको हो,’ मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने, ‘अब चाडै निर्णय गरेर वितरण गर्छौ ।’ संघको अर्थ मन्त्रालयको सिफारिसमा भन्सार छुटमा एम्बुलेन्स ल्याइएको हो । ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

सुदूरपश्चिममा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स छैन । यी एम्बुलेन्समा आधुनिक उपकरणसहित स्वास्थ्यकर्मी र तालिमप्राप्त चालकको व्यवस्था हुने बताइएको छ । हाल विभिन्न स्थानमा सञ्चालनमा रहेका एम्बुलेन्सहरू ‘सी ग्रेड’ का हुन् । ती पनि प्रयाप्त संख्यामा छैनन् । पहाडी जिल्लामा एम्बुलेन्सको संख्या न्यून छ ।

वितरणमा ढिलाइ हुँदा ती एम्बुलेन्स २ महिनादेखि धनगढीस्थित सिप्रदी ट्रेडिङमै थन्किएका छन् । पहाडी जिल्लामा एम्बुलेन्स नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपरेको छ । मन्त्रालयले यसअघि एम्बुलेन्स खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरेको थियो । एम्बुलेन्सको टेन्डर भारतको टाटा कम्पनीले पाएको थियो ।

हाल आएर मन्त्रालयले आफु मातहत रहेका निकायलाई एम्बुलेन्स उपलब्ध गराउने सोचाई बनाएको मन्त्रालयका एक अधिकृतले बताए । सुरुमा सेती र महाकालीलाई नदिने भनिए पनि अहिले प्रदेशअन्तर्गतका सबै जिल्ला अस्पताललाई दिनु उपयूक्त हुनेमा कर्मचारीहरूको जोड छ । चालक र एम्बुलेन्समा बस्ने स्वास्थ्यकर्मीलाई प्रदेशले नै आर्थिक ब्यवस्थापन गर्दा बिग्रेको अवस्थामा पनि तत्काल मर्मत गरेर ती एम्बुलेन्स सञ्चालनमा ल्याउन सकिने भएकाले अस्पतालहरूलाई नै दिनुपर्नेमा कर्मचारीहरूको मान्यता रहेको छ । ‘अब मन्त्री र सचिवले जे निर्णय गर्नुहुन्छ,’ ती कर्मचारीले भने, ‘चालकलाई ७ दिनको तालिम चलाएर खटाउने भनिएको छ ।’

प्रकाशित : आश्विन १३, २०७६ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्