३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दुःखमै संक्रमितको दसैं

मोहन शाही

डोटी — (डोटी) : दसैं नजिकिँदै जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका पोखरी ३ गनरी साउद (नाम परिवर्तन) लाई भने चिन्ताले सताएको छ । उनलाई दसैं अवधी कष्टकर बनिरहेको छ । अभाव र गरिबीले गाँजेकी गनरीका श्रीमान दुई साताअघि बितेका छन् । खबर सुन्ने बित्तिकै आकाशबाट खसे झै भएकी गनरीले आफु पनि संक्रमित भएको खबर घरपरिवारलाई सुनाउन सकेकी छैनन् ।

‘दसैं मेरा लागि दशा बनेर आयो’ एचआइभि संक्रमित गनरीले भनिन ‘गाउँका छिमेकीहरू भेटघाट र रमझममा हुँदा मैले घर बन्द गरेर बस्नु परेको छ, रोएर रातदिन बितिरहेका छन् ।’


गाजरीकी ललिता खड्काका श्रीमान् रोजगारीका लागि भारत पसेका छन् । ‘डेढ बर्षअघि श्रीमान निकै बिरामी भएर घर फर्केका थिए’ टेलिफोनमा कुराकानी गर्दै ३० बर्षिया ललीता भक्कानिदै भन्न थालिन ‘त्यतिबेला रक्सीले मातेर मलाई कुटेर भारत फर्के, त्यसपछि यता फर्केका छैनन् । मलाई भने घर न घाटको पारेर गए ।’ रुघाखोकी, ज्वरो र कमजोरीले सताएपछि उनी तीन हप्ता अघि जिल्ला अस्पतालमा उपचार गर्ने क्रममा रगत परिक्षण गर्दा एचआइभि संक्रमित भएको थाहा भएको हो । घरमा सासु ससुरा र दुई सन्तान भएपनि उनलाई कसैले उपचार र स्याहार गर्न सकेका छैनन् ।


आर्थिक अवस्था कमजोर भएका कारण थुप्रै संक्रमितहरू चाडबाडका बेला दुःखी हुने गरेको एचआइभि संक्रमितका अगुवा कटे नेपाली बताउछन् । एचआइभिका कारण आमाबुवा तथा चार वटा काकाकाकी गुमाएका खिरसैन फुलौटका नरेश भुलले दसैं कहिल्यै नआइदिए हुन्थ्यो भन्ने महसुस हुने गरेको बताए । ‘केही संघसंस्थाले सहयोग गरिरहेकाले जेनतेन पेट पालिरहेका छौं’ उनले भने ‘मागेर गुजारा गरिरहेकाले दसैंमा अरुकै भान्सामा पाकेको कुराले हाम्रो दसैं कस्तो हुने भन्ने हुन्छ ।’ नरेशले आफ्नो पालनपोषण गर्दै आएकी बृद्धा बज्यै पानादेबीलाई पनि हालै गुमाएका छन् ।


‘अधिकांस संक्रमितहरूको अवस्था कमजोर नै हुन्छ’, सामुदायिक विकास मञ्चका डिल बहादुर सिंह भन्छन्, ‘सामान्य ब्यक्ति सरह चाडबाडमा उनीहरू खुसी हुन सक्दैनन्, चाडबाडमा उनीहरू झन् बढी निरास भएका हुन्छन्, यस्तो बेला सबैको माया र स्नेहको खाँचो हुन्छ ।’ आयआर्जन र स्वरोजगारीका कार्यक्रम विगतमा संक्रमितहरूका लागि सञ्चालन भएपनि पछिल्लो समय छैन । प्रायः स्थानीय तहहरूले संक्रमितहरूलाई लक्षित गरेर बजेट समेत बिनियोजीत गरेका छैनन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डोटीमा ९ सय ७८ एचआइभि संक्रमीत छन् । शारीरिक रुपमा कमजोर रहने भएकाले पनि काम गरी परिवार पाल्न सक्ने अवस्थामा नभएकाले उनीहरू बढी समस्यामा रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । ‘चाडबाडका बेला अरु झै रमाउने इच्छा उनीहरूको पनि हुन्छ’ प्रमुख मलाुसीले भने,‘तर उनीहरू आर्थिक समाजिक रुपमा रमाउन सक्दैनन् ।’चर्को महंगी, समाजमा बढ्दै गएको तडकभडकले उनीहरूलाई झन् मर्माहित बनाउने गर्छ । सबैभन्दा बढी प्रताडित महिला संक्रमितहरू हुने गरेको महिला संक्रमितकी अगुवा कमला मल्ल बताउँछिन् ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?