कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बालविकास शिक्षिका आन्दोलित

कान्तिपुर संवाददाता

कञ्चनपुर — भीमदत्त नगरपालिकाका बालविकास शिक्षिकाहरू तलब वृद्धिको माग गर्दै आन्दोलित बनेका छन्  । पटक पटक ज्ञापनपत्र तथा अन्य माध्यमबाट माग गर्दा पनि सुनुवाई नभएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन्  ।

बालविकास सहयोगीहरू असोज ९ गतेदेखि नगर कार्यपालिकाको कार्यालय अगाडी धर्ना बसेका छन् । उनीहरूले तलब वृद्धि नभएसम्म धर्ना नरोकिने बताए । ‘अहिलेको जमानामा पनि महिनाको ६ हजार तलबमा काम गरिरहेका छौं’ बालविकास शिक्षिका दुर्गा विष्टले भनिन्, ‘सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक हामीले पाउनुपर्छ ।’

बालविकास शिक्षिकाहरूको नगर संयोजक रहेकी विष्टले यसअघि पनि भीमदत्त नगरपालिकाका प्रमुखसँंग ज्ञापन पत्र बुझाएर पारिश्रमिक वृद्धिको माग गरिएको बताइन् । साउनमा ज्ञापन पत्र बुझाउँदा नगर प्रमुख सुरेन्द्र बिष्टले आश्वासन दिएपनि तलब वृद्धि नभएको बताइन् । उनले सरकारले तोकेको न्युनतम पारिश्रमिक १३ हजार ५ सय पाउनुपर्ने बताइन् ।


अहिले भीमदत्त नगरपालिकामा मात्रै १ सय ८२ बालविकास शिक्षिकाहरू कार्यरत छन् । २०५६ बाट बालविकास शिक्षिका भर्ना गर्ने प्रक्रिया सुरु भएको हो । त्यतिबेला उनीहरूको मासिक तलब भत्ता ५ सय थियो । ४ वर्षअघि उक्त तलब भत्ता बढेर ६ हजार पुर्‍याइएको हो । ‘अहिले ६ हजारमा काम गर्ने सरकारको कोही कर्मचारी छैन’ बालविकास शिक्षिकाहरूको जिल्ला समुहकी सचिव समेत रहेकी लक्ष्मी पाण्डेयले भनिन्, ‘हामीहरूलाई दिनभरि काममा लगाएर श्रम शोषण भएको छ ।’

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले संघीय सरकारले उपलब्ध गराएको ६ हजार मासिक तलब नियमित रुपमा वितरण भईरहेको बताए । उनले नगरपालिकाका तर्फबाट थप सेवा सुविधाको अपेक्षा गरिएको र त्यसका लागि नगरसभाबाटै निर्णय हुनुपर्ने बताए ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?