कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुढेसकालमा उस्तै सक्रिय

मोहन बुढाऐर

(धनगढी) — कैलाली जिल्ला विकास समितिका पूर्व–उपसभापति ७६ वर्षीय गंगाराम राना ज्येष्ठ नागरिकका हेरालो बनेका छन्  । धनगढी उपमहानगरपालिका १५ उर्माको ज्येष्ठ नागरिक समूहका उनी अध्यक्ष पनि हुन्  ।

उनको समूहमा ७० वर्षमाथिका १ सय ६५ वृद्धवृद्धा आबद्ध छन् । उनी ज्येष्ठ नागरिक समूहको अध्यक्ष भएपछि काम पाएको अनुभूति भएको बताउँछन् ।

गंगाराम आफ्नो समूहमा आबद्ध भएकाहरूको जीवन अहिले निकै सहज र सक्रिय रहेको दाबी गर्छन् । वृद्ध अवस्थामा छोराबुहारी सम्पत्ति बाँडेर अलग भएपछि बेसहारा भएका समरा रानाको दम्पतीको जीवन यही समूहले सुखी बनाएको राना बताउँछिन् । उनका अनुसार २ वर्षअघि समराको घर फुटेको थियो । समरा दम्पतीले जीवनभरिको कमाइले जोडेको साढे ४ बिघा ४ छोरा–बुहारीले बाँडे ।

वृद्ध दम्पतीलाई पुरानो घर र त्यसवरिपरिको ६ कट्टा मात्रै भाग पर्‍यो । ‘४ छोराबुहारी छुट्टिएर गएपछि कसैले पनि हामी बुढाबुढीलाई साथमा राख्न मानेनन् । एकदिन अध्यक्ष रानासँग भेट भयो । अध्यक्षले आफ्नो खर्च चलाउन तरकारी खेती गर्न सल्लाह दिए,’ वृद्ध समरा भन्छिन्, ‘बाँच्नका लागि हामीसँग अन्य विकल्प पनि थिएन । बसीबसी गर्न सकिने तरकारी खेती थियो । त्यही सुरु गर्‍यौं । घर खर्च त्यसैबाट चलेको छ ।’ अहिले त छोराबुहारीलाई पैसा खाँचो पर्दा आफैले व्यहोर्ने गरेको छु ।’ कान्छो छोराको परिवार पनि आफैंसँग बस्न आएको उनले बताइन् ।

त्यस्तै कैलाली गोदावरी नगरपालिका १ का भेदुलाल चौधरी दिनभर करेसाबारीमा बिताउँछन् । त्यसैबाटको आम्दानीले उनी खर्च चलाउँछन् । उनले पनि छोराबुहारीले खर्च दिन छाडपछि तरकारी फलाउन थालेका हुन् । वडाको ज्येष्ठ नागरिक समूहबाट १० हजार ऋण लिएर उनी तरकारी बारीमा पसिना चुहाएका हुन् । धनगढी १८ फूलबारीकी ६७ वर्षीया बनारसी टमटा बाख्रा चराउँछिन् । उनका १० बाख्रा छन् । वर्षमा २/४ खसी बेचेर उनी आफ्नो मात्रै होइन, परिवारको चाडबाडलाई सघाउँछिन् । ‘छोराबुहारीबाट हेपिएपछि आफ्ना लागि आफैं गरी खान्छु भनेर बाख्रा पाल्न थालेकी हुँ,’ उनले भनिन् ।

एक्लो छोराले विवाह गरी अलग बस्न लागेपछि मसुरियाकी रामकली सिंहले पनि बाख्रा पाल्न थालेको बताइन् । बाख्राबाट कमाइ भएको देखेर छोरा पनि आमासँगै बस्न आएका छन् । धनगढी १०, १५, १८, गौरीगंगा नगरपालिकाको ७ र १, गोदावरी गाउँपालिकाको १० र १ वडामा ज्येष्ठ नागरिक समूह गठन भएका छन् । प्रत्येक वडाको समूहबाट डेढ सयदेखि दुई सयसम्म वृद्धवृद्धा आवद्ध छन् ।

धनगढी १० का ज्येष्ठ नागरिक समूहका अध्यक्ष शंकरी राना भन्छन्, ‘समूहले घरपरिवारबाट अपहेलित वृद्धवृद्धालाई गर्न सकिने आर्थिक उपार्जनको काममा सहयोग पुर्‍याएको छ ।’

प्रकाशित : आश्विन १५, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?