२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पानीको दुःख : ९ घण्टामा आउँछ पालो

मेनुका ढुंगाना

(अछाम) — हरेक दिन बिहान झिसमिसेदेखि नै पानीको जोहो गर्न मंगलसैन नगरपालिका १३ का महिलाको दौडधुप सुरु हुन्छ । ५० परिवार रहेको यो गाउँमा धारा एउटा मात्रै छ ।

पानीको दुःख : ९ घण्टामा आउँछ पालो

यही धारामा दिनभर गाउँलेको भीड लाग्छ । ‘पालो कुर्दाकुर्दै घरको अरु काम गर्नै भ्याइँदैन,’ स्थानीय पशुपति थापाले भनिन्, ‘घरमा एकजना खाना पकाउने र पानीको लागि लाइन बस्नुपर्ने अर्कोको बाध्यता छ ।’ रातभर मुहानको ट्यांकीमा जम्मा गरेको पानी वितरण हुने भएकाले दिउँसो भने धारा सुक्छ ।


खडेरीले बर्सेनि पानीको स्रोत सुक्दै गएको छ । सदियौंदेखिको खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि ५० घर रहेको बस्तीमा सास्ती बढेको हो । पानीकै अभावले शौचालयमा दुर्गन्ध बढेर हुने अवस्थामा छ । स्थानीयको दैनिकी पानीको जोहोमै बित्छ । महिलाहरूलाई अझ धेरै कष्ट छ । विद्यार्थीहरूको पढाइमा उस्तै समस्या हुन्छ । ‘बालबच्चाहरू नियमित विद्यालय जान पाउँदैनन्,’ स्थानीय मैना थापाले भनिन्, ‘एक गाग्रो पानी थाप्न बिहान ४ देखि दिउँसो १ बजेसम्म मुहानमा लाइन लाग्नुपर्ने समस्या छ ।’


उनले घरायसी कामकाज, केटाकेटीको हेरविचार र गाईबस्तुको झन्झटले झन तनाव उत्पन्न गराएको बताइन् । ‘महिनावारी भएका बेला ७ दिनसम्म दैनिक नुहाउने, लुगाकपडा धुन टाढाको खोलामा जानु पर्दा पढाइ छुट्छ,’ स्थानीय सीता ढुंगाना बताउँछिन् । दशकअघि एक गैरसरकारी संस्थाले गाउँमा खानेपानीको धारा बनाइदिए पनि पानी नआउने स्थानीय सरा थापाको भनाइ छ । ‘गाउँको विकासको चिन्ता कसैलाई छैन । अलिअलि हुनेखाने भए तराईतिर बसाइ सर्छन्,’ उनले भनिन्् । गाउँका बासिन्दाले नगरपालिका भएको महसुससमेत गर्न पाएका छैनन् । ५ हजार बढी जनसंख्या भएको यो वडामा खानेपानीसँगै स्वास्थ्य र शिक्षाको समस्या पनि उस्तै छ । ‘हामीबाट लिनुपर्ने कर भने लिएकै हुन्छन्, तर सेवा सुविधामा भने कसैलाई मतलब छैन,’ सरा भन्छिन्, ‘हाम्रो मर्का बुझिदिने कोही भएनन् ।’


यस्तै यहाँ कुटानी–पिसानीको पनि समस्या रहेको बाँडा गाउँकी गोमा धामी बताउँछिन् । ‘गाउँमा सडक, बिजुली, स्वास्थ्यसँगै शिक्षाका लागि विद्यालय पनि नजिक छैन,’ उनले भनिन् । वडा सदस्य सरु धामीको गुनासो पनि उस्तै छ । उनले भनिन्, ‘बाँडा, डाँडीगडेका महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्छ, सजिलो छैन भनेर पटकपटक वडाको बैठकमा पनि कुरा राख्छु । तर सुनुवाइ भएको छैन ।’

प्रकाशित : आश्विन १४, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?