कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोप हुँदै मौलिक दसैं

कान्तिपुर संवाददाता

डडेलधुरा — नवरात्र सुरु नहुँदै वारि–पारि डाँडामा सुनिने विगुल र भोक्करको आवाज घटस्थापना भइसक्दा पनि सुनिएका छैनन् । गाउँ गाउँमा रहेका मठ मन्दिर मध्ये धेरै जसो मठ मन्दिर सामुहिक नवरात्र बस्नेका लागि सिंगारिएका हुन्थे । कहिँ कहिँ मात्र सामुहिक नवरात्र वसेको देखिन्छ ।

कुनै समय नवरात्रअघि नै सिंगारिने अधिकांस मन्दिरको सरसफाइ भएको पनि देखिदैन । एक/डेढ दशक अघिसम्म सुदूर पहाडका गाउँहरूमा देखिने चहलपहलमा निकै कमि आएको छ । वसाइ सराईंले रित्तीन थालेका गाउँमा दशैंको समय देवीदेवताको पूजाका लागि आउनेहरूको सँख्या पनि हरेक बर्ष कम हुँदै जान थालेको छ ।


केही बर्ष अघिसम्म मठ मन्दिरमा नवरात्र वस्नेको घुईंचो लाग्ने गरेको भागेश्वर ४ को प्रसिद्ध भगवति मन्दिरमा गत बर्षको नवरात्रमा ६ जना पनि पुगेनन् । यस वर्ष नवरात्र सुरु हुँदा ४ गाउँका ५ व्रतालु मात्र मन्दिरमा देखिएका छन । ‘नवरात्र वस्ने १० जना पनि पुगेनन्,’ ४ गाउँका ५० भन्दा वढी पुरुष सामुहिक नवरात्र वसेको देखेका भागेश्वर ४ धामी गाउँंका बृद्ध हिरासिंह मडैले भने, ‘भगवती मन्दिरमा नवरात्र वस्नेको संख्या धेरै भएपछि भागेश्वर मन्दिरमा पनि नवरात्र वस्ने चलन थियो ।’


यस्तै स्थिति अजयमेरु गाउँपालिकाको प्रसिद्ध डागेश्वर मन्दिरको पनि छ । ठूलो जनसंख्या भएको क्षेत्रमा पर्ने डागेश्वर मन्दिरमा नवरात्र वस्नेले धेरै दिन अगाडी नै जानकारी दिनुपर्थ्यो । तर पछिल्ला केही बर्ष यता भने उक्त मन्दिरमा नवरात्र वस्ने खोज्नु पर्ने स्थिति आएको छ । पिलकोट गर्खाका बिभिन्न मठ मन्दिरसंँगै यो मन्दिरमा नवरात्र वस्नेको भिड लाग्ने गर्थ्यो । ९ दिन नित्य सामुहिक पूजा हुने, कथा प्रवचन र सामुहिक भजन किर्तन हुने यो मन्दिरमा दशक यता यो परम्परा विस्तारै हराउँदै जान थालेको छ ।


यि दुई मन्दिरमा मात्र होइन पछिल्लो समय सुदूर पहाडका गाउँमा मनाइने परम्परागत दसैं बिस्तारै लोप हुन थालेको छ । देशका अन्य भागमा मनाइने दसैं भन्दा भिन्न शैली र वैदिक परम्पराअनुसार मनाइने गरेको दशैंको मौलिकता गुम्दै जान थालेको छ । पछिल्लो पुस्ताले परम्परागत दसैंका बिषयमा चासो राख्न छाडेको छ । सोह्रश्राद्धको पितृ बिसर्जन नसकिंदै नवरात्र वस्ने मठ मन्दिरको सरसफाइ, सामुहिक रुपमा नवरात्र वस्नेका लागि आवश्यक प्रवन्ध र दैनिक पूजा आजाका लागि सामग्री जुटाउने काम भइसक्थ्यो ।


सामुहिक नवरात्रमा सबै जातजातिको समान सहभागीता सुनिश्चित हुन्थ्यो । तर पछिल्लो समय भने यस्ता सवै खाले परम्परा लोप हुन थालेका छन । दशैं मनाउने चलन पनि परिवर्तन हुँदै गएको छ । ९ दिन सामूहिक रुपमा मठमन्दिरमा निराहार वसेर पूजा गर्ने दशमीका दिन आफ्ना आफ्ना कुल देवताको पूजा गरेर मात्र दसैंको टिका लगाउने चलन हराउँदै गएको छ ।


‘परम्परागत दसैं बिस्थापित हुँदै जान थालेको छ’ सुदूर संस्कृतिका अनुसन्धानकर्ता डा. मोहन भट्टले भने, ‘सुदूरको परम्परागत दसैंको ठाउँ टिका प्रधान दशैंले लिन लागेको छ ।’ धेरै जसो पुराना परम्परालाइ पछिल्लो समय बिस्थापित हुँदै जान थालेको पनि डा. भट्टले वताए । ‘पुराना मान्यता र असल परम्पराको सट्टा यस क्षेत्रमा पनि दसैंमा विकृति निम्तीन थालेको छ,’ डा. भट्टले भने, ‘संस्कृतिले समाज र सभ्यतालाइ जोगाएर राख्छ भन्ने कुरा विस्तारै वैदिक संस्कृतिका अनुयायी विर्सदै जान थालेका छन् ।


‘सुदूरमा मनाइने दशैं पूजा प्रधान दसैं हो,’ अर्का संस्कृतिविद् गोबिन्दराज पन्त भन्छन्, ‘घटस्थापना देखि वैदिक बिधि अनुरुप देवीको दैनिक पूजा अर्चना, अष्टमीका दिन कुभिण्डोका वलि र महाष्टमी पूजा, नवमीका दिन हवन यज्ञ र दशमीका दिन कुल देवताको पूजा गर्ने परम्परा हो ।’ यस क्षेत्रमा मनाइने दसैं र देशका अन्य भागमा मनाइने दशैंमा केही भिन्नता रहेको आचार्य पन्त बताउछन । ‘राम्रो मीठो खान पिन, राम्रो लुगा लगाउने, इष्ट मित्रकहाँ जाने , घुमफिर गर्ने , रमाइलो गर्ने परम्परा यस क्षेत्रमा थिएन’ आचार्य पन्तले बताए । नौ दिनसम्म एक छाक शुद्ध खाना खाने, सामुहिक रुपमा मठ मन्दिरमा वस्ने, राती पनि मठ मन्दिरमा वस्ने, नवमीका दिन हवन यज्ञ गरेर मात्र घर जाने परम्परा रहेको आचार्य पन्तले वताए ।


‘सञ्चारको विकासले आधुनिक दसैं यस क्षेत्रमा प्रवेश गरेको लामो समय भएको छैन,’ संस्कृतिविद पं देवेन्द्रराज चटौत भन्छन्, ‘वसाइ सराइ गर्दै देशका बिभिन्न भागमा यस क्षेत्रका वासिन्दा जान थालेपछि दसैंपनि बिस्तारै आधुनिक हुन थालेको हो ।’ चटौतका अनुसार डेढ दशक यता मात्र सुदूरका पहाडी जिल्लामा फरक शैलीमा दशैं मनाउनेको जमात वढ्दै जान थालेको हो । ‘नयाँ पुस्ता परम्परागत दसैं भन्दा आयातिततर्फ आकर्षित बन्दा लोप हुन थालेको हो,’ गोविन्दराज पन्त भन्छन्, ‘अन्य समुदायका राम्रा कुरा लिने र आफ्ना वैदिक परम्परालाई पनि नबिर्सिने गरि दसैं मनाउनुपर्छ ।’

प्रकाशित : आश्विन १३, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?