‘ए ग्रेड’ स्याउ २५ रुपैयाँ किलो

अर्जुन शाह

(धनगढी) — बाजुरा जुकोटका ध्वजबहादुर शाहीसमेतका किसान पोहोरसम्म आफ्नो बारीमा फलेका स्याउ बजार पुर्‍याउन नसकेर गाईवस्तुलाई खुवाउन बाध्य थिए  । यसपाली बारीबाटै सबै स्याउ बिक्री भयो  । पहिलोपटक उनीहरूले मिहिनेतको कमाई पाए ।

‘ए ग्रेड’ स्याउ २५ रुपैयाँ किलो

बाजुरामा उत्पादित स्याउ पहिलोपटक बजारमा पुर्‍याइएको हो । बुधबार बिहान धनगढी पुर्‍याएको स्याउ धमाधम बिक्री भयो । उपभोक्ताले पनि भारतीयभन्दा गुणस्तरीय र सस्तो रहेको प्रतिक्रिया दिए । पहाडबाट ल्याइएको स्याउ प्रतिकिलो ९० रुपैयाँ निर्धारण गरिएको सहकारी संस्थाका अध्यक्ष शाहीले बताएका छन् । भारतबाट आयातित स्याउको मूल्य प्रतिकिलो १५० भन्दा माथि छ ।

आफ्नै पहाडमा फलेको अर्ग्यानिक स्याउ सस्तोमा किन्न पाएपछि धनगढीमा उपभोक्ताहरू बिहानैदेखि ट्रककै वरिपरि झुम्मिएका थिए । ‘बाजुराबाट आएको स्याउ रसिलो हुनुका साथै सस्तो पनि भएकाले धेरैको आकर्षण छ,’ धनगढीका बृष पाण्डेले भने ‘आफ्नै क्षेत्रको उत्पादनलाई सबैले महत्व दिनु पर्छ ।’ कृषि ज्ञान केन्द्रले ढुवानीमा अनुदान उपलब्ध गराएपछि जुकोट, साप्पाटा, जगन्नाथ र पाण्डुसेनका किसानहरूका स्याउ बारीमै पुगेर ४ सहकारी संस्थाले २५ रुपैयाँ प्रतिकिलो खरिद गरेका छन् ।

जुकोटमा २ सय बढी परिवारका स्याउ बारी छन् । उनीहरूले ‘ए’ ग्रेडको स्याउको मूल्य प्रतिकिलो २५ रुपैयाँ पाएका छन् । यस्तै ‘बी’ ग्रेडको २० र ‘सी’ ग्रेडको १५ रुपैयाँ प्रतिकिलो पाएको कृषि प्रसार अधिकृत जैशीले बताए ।

यसअघि एक रुपैयामा ३ दाना स्याउ दिन्थे जुकोटका किसान । त्यै पनि बिक्री हुदैनथ्यो । ज्ञान केन्द्रले ६ सय क्विन्टल स्याउ ढुवानीका लागि प्रति किलो १८ रुपैयाँ अनुदान दिएको छ । त्यही अनुदानबाट जुकोटदेखि पीलुचौरसम्म खच्चडबाट ढुवानी गराएको स्वामीकार्तिक सहकारी संस्थाका अध्यक्ष मेघराज शाहीले बताएका छन् । ‘पीलुचौरदेखि कर्णाली करिडोरको सडकबाट सुर्खेत हुँदै धनगढी पुर्‍याएका हौं’ मेघराज शाहीले भने ।

बाजुरामा स्वामीकार्तिकको जुकोट र साप्पाटा, जगन्नाथ अनि पाण्डुसेन स्याउको भण्डार मानिन्छ । कर्णाली करिडोरको सडक पीलुचौर हुँदै निर्माण भएको सडक सञ्चालनमा रहेकोले ज्ञान केन्द्रले यस वर्षदेखि बजारिकरणमा प्रवर्द्धन गर्ने योजना बनाएको हो । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैसीले बाजुरामा २ सय ३० हेक्टरमा स्याउ खेती गरिएको बताएका छन् । ‘यो वर्ष १ हजार ५० टन स्याउ उत्पादन भएको छ’ उनले भने, ‘एक हजार क्विन्टल बजारमा पुर्‍याउन सकिने अवस्था छ ।’

पहिलो चरणमा ६० क्विन्टल धनगढी र १२० क्विन्टल काठमाडौंको बजारमा पठाउन लागिएको जैशीले बताए । केन्द्रले ढुवानी अनुदानमा १५ लाख खर्च गर्ने बताउँदै उनले भने, ‘सुरुको चरण भएकाले भारतबाट आउने स्याउको परम्परागत बजारसँग सामना गर्न अप्ठ्यारो हुनसक्ने देखिएको छ ।’

प्रकाशित : आश्विन ९, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?