कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टिम अस्पतालमा राजनीतिक खिचातानी

‘सेवाभन्दा पनि व्यवसायका रुपमा अस्पताललाई चलाउन थालेपछि विवाद पनि बढ्न थाल्यो, चौतर्फी राजनीति हाबी भयो अनि अहिले झन्डै बन्दको अवस्थामा पुग्यो’
डीआर पन्त

(डडेलधुरा) — शताब्दी पुग्न थालेका जयबहादुर ऐरले डा. सिमन र टिम अस्पतालको नाम लिँदा आँंसु झार्दै भने, ‘त्यतिबेला हाम्रा लागि कोही भगवान थियो भने तिनी डा. सिमन नै हुन्  । कुनै मन्दिर थियो भने त्यो टिम अस्पताल हो  ।’ ५० वर्षअघिको सम्झना गर्दै उनले टिम अस्पतालको विकल्प नरहेको बताए ।

टिम अस्पतालमा राजनीतिक खिचातानी

उनका अनुसार सुदूरपश्चिमको कुरा छोडौं मध्यपश्चिमका बिरामीसमेत टिम अस्पताल आइपुग्थे । कैलाली र कञ्चनपुरका सीमा क्षेत्रका भारतीय नागरिकका लागि पनि यो अस्पताल उपचारको एकमात्र विकल्प थियो ।

‘अहिले एपेन्डिसाइड भन्छन् त्यतिबेला रोगबारे जानकारी नै हुन्थेन, धामी झाँक्रीको जमाना थियो,’ कोटेलीका वृद्ध हरि साउँदले टिम अस्पतालको सम्झना गर्दै भने, ‘डा. सिमनले रोगको प्रकृति सोधे, अप्रेसनपछि हुने पीडानाशक औषधि थिएन, तर पनि उनले अप्रेसन गरेर म निको भएको हुँ ।’

४१ वर्ष अघि डडेलधुराको टिम अस्पतालमा अप्रेसन गरी बाँचेका हरि अहिले पनि त्यो दिन बिर्सिंदैनन् र भन्छन्, ‘मेरो अप्रेसन भएको दिन गाउँका मान्छे लाश बोकेर लैजान आएका थिए ।’ डडेलधुरा मात्र होइन सुदूर प्रदेशका ९ वटै जिल्लामा टिम अस्पतालको सेवा पाएका धेरै बिरामी अझै भेटिन्छन् । टिम अस्पतालबाहेक उपचारका लागि भारतको लखनउ या पिथौरागढ पुग्नुबाहेक विकल्प थिएन । ‘कुष्ठरोगी, श्वासप्रश्वासका दीर्घरोगी, सुत्केरी बिग्रिएका महिलाका लागि अस्पताल भारतका पिलिभितदेखि नैमिशारण्यसम्मका बिरामी डडेलधुरा आइपुग्थे,’ अगुवा समाजसेवी केशव भट्टराईले भने, ‘अब सम्झना मात्र रह्यो टिम अस्पताल ।’

आधा शताब्दीअघिको सुदूरपश्चिम त्यसमा पनि धेरै रुढीवादी प्रथाले गाँजिएको, धामी–झाँक्री र पण्डा पुजारीले चिकित्सकको भूमिका निर्वाह गर्नुपर्ने त्यो समयमा अमेरिकाजस्तो समृद्ध देशको एमबीबीएस डाक्टर आएर डडेलधुरामा अस्पताल खोल्नु चानचुने कुरा थिएन । आफ्नै गाउँघरमा दलितलाई छोएपछि नुहाएर मात्र घरभित्र जाने कुप्रथा रहेको समयमा सात समुद्रपारिको मान्छे छोएर घर भित्रिने कुरै थिएन । हरि साउँदले पनि अप्रेसनपछि सत्यनारायणको कथासँगै धार्मिक विधिअनुसार प्रायश्चित गरेपछि मात्र घर प्रवेश गरेको सम्झना गर्दै भने, ‘आज सम्झँदा ग्लानि हुन्छ, मन कुँडिन्छ र छटपटी हुन्छ ।’

अस्पताल अहिले भने सुनसान छ । त्यतिबेला बनेका घर जीर्ण भइसकेका छन् । डडेलधुराको पोखरा बजारनजिकै नदीकिनार रहेको अस्पतालले धेरैको जीवन बचायो । बझाङ, बैतडी र दार्चुलाबाट आउने मूल सडकवाट देखिने अस्पतालतिर फर्केर आउने जाने अहिले पनि श्रद्धाले शिर निहुँराउछन् र डा. सिमनलाइ सम्झने गर्छन् ।

‘अस्पताल २०५० मा पोखराबाट डडेलधुरा सदरमुकाम सरेपछि बिस्तारै उपचारभन्दा राजनीति सुरु हुन थालेको हो,’ डा. सिमनसँग काम गरेका कोटेलीका रुद्र भट्टले भने, ‘डा. सिमन अमेरिका फर्किएपछि अस्पताल डडेलधुरा सदरमुकाम सारियो पछि विस्तारै अस्पतालको स्वरूप फेरिन थालेको हो ।’ सेवाभन्दा पनि व्यवसायका रुपमा अस्पताल चल्न थालेपछि विवाद पनि बढ्न थालेको उनको बुझाइ छ । उनले भने, ‘७ वर्षअघि क्रिस्चियन धर्मको प्रचारको केन्द्र भएको भन्दै चर्को विरोध हुन थालेपछि सरकारले टिम अस्पताल र जिल्ला अस्पताल गाभेर उपक्षेत्रीय अस्पताल घोषणा गर्‍यो ।आधा शताब्दीसम्म सुदूरका जनताले पाउँदै आएको उपचार सेवाबाट वञ्चित हुनु परेको हो ।’ हुन पनि टिम अस्पताल छँदा उपचार नपाएर यहाँ सुत्केरीले ज्यान गुमाउनु परेन, कुष्ठरोगीले उपचारका लागि भौंतारिनु परेन, ठूला खाले शल्यक्रियाबाहेक उपचारका लागि सीमावर्ती भारतीय बजारमा पसल जस्तै खुलेका अस्पतालमा पुगेर लुटिनु परेन र गरिबले उपचार गर्ने खर्च नभएर मर्नु परेन । डा. सिमनका सहयोगी रहेका भट्टले भने, ‘आधा जीवन मैले डा. सिमनसँग काम गरे तर मलाई उनले क्रिस्चियन हुन कहिले पनि आग्रह गरेनन् ।’

डा. सिमन का उत्तराधिकारी अमेरिकी नागरिक डा. रेन्डीले १० वर्ष सेवा गरे । उनले पनि धर्म परिवर्तनको कुरा छोडौं कसैसँग यस विषयमा चर्चासमेत गरेको आफूले नसुनेको भट्ट बताउँछन् । निजी अस्पताल खोल्न चाहनेहरूले जनताको धार्मिक भावना भड्काएर टिम अस्पताल बन्द गराए जसको परिणाम अहिले सुदूर पहाडी जिल्लाका बिरामी सामान्य उपचारका लागि पनि कैलाली, कञ्चनपुर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सरकारले ७ वर्षअघि टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरा गाभेर उपक्षेत्रीय अस्पताल घोषणा गरेपछि सुदूर पहाडी जिल्लाका बिरामीले आधा शताब्दीदेखि पाउँदै आएको सेवाबाट वञ्चित हुन परेको छ । उप–क्षेत्रीय अस्पतालको घोषणा भएको दिनदेखि अस्पतालमा चिकित्सक नहुनु, सामान्य उपचार नपाउनु, अस्पताल राजनीतिक आडमा कर्मचारी भर्नाको केन्द्र बन्नु र आर्थिक अनियमितता हुनुबाहेक कुनै सेवा सर्वसाधारणले पाउन सकेका छैनन् ।
नागरिक समाज डडेलधुराका अध्यक्ष रमेश जोशी भन्छन्, ‘चिकित्सक अभाव, स्वास्थयकर्मी नहुनु र भएका स्वास्थ्यकर्मी र चिकित्सकलाई समय समयमा आक्रमण हुनुबाहेक अस्पतालमा हुनुपर्ने कुनै पनि गतिविधि सन्तोषजनक भएन ।’ पछिल्ला २ महिनामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका ३ घटना भएको उनले बताए ।

उनले भने, ‘आउन चाहने चिकित्सक पनि अस्पतालमा आउनुभन्दा सरकारी जागिर छोड्न थालेका छन् ।’ अस्पताल बन्द भएपछि राजनीतिक गतिविधिको केन्द्र बनेको डडेलधुरा अस्पतालमा ७ वर्षसम्म कुनै सुधार हुन सकेको छैन । उपचारका लागि आउने बिरामीको नाम लेख्ने र उपचार हुन नसक्ने भन्दै कैलाली कञ्चनपुर रिफर गर्ने कामबाहेक अरू हुन सकेको छैन । पछिल्लो समय सरकारले देशका ५ अत्याधुनिक अस्पतालमध्ये डडेलधुरा अस्पताल पनि परेपछि ठूला भवन बन्न थालेका छन् । केही भवन बनिसकेका छन् । धमाधम निर्माण चलिरहेको छ तर उपचारका लागि आउने बिरामीले भने अस्पतालमा उपचार पाउन सक्ने वातावरण छैन । ४२ विशेषज्ञ चिकित्सक, ४० बढी स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् । दर्जन जति स्वास्थयकर्मी पनि अस्पतालमा छैनन् । २ वर्षदेखि अस्पताल विकास समितिसमेत बन्न सकेको छैन ।

करोडौंका अत्याधुनिक उपकरण अस्पतालमा छन् । तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन । सबैखाले औषधिका लागि आधुनिक फार्मेसी छ । तर जनशक्ति अभाव छ । सबै उपचार हुनुपर्ने अस्पतालमा सामान्य ज्वरो आएको बिरामीको समेत उपचार हुन सक्ने अवस्था छैन । स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रेमबहादुर महर भन्छन्, ‘घोषणा मात्र भयो तर कार्यान्वयन अहिलेसम्म हुन नसक्दा अस्पताल नाम मात्रको बन्यो ।’ कुनै समय दैनिक हजार सेवाग्राही उपचारका लागि आउने अस्पतालमा पछिल्लो समय सय बिरामी पनि आउँदैनन् ।

गत महिना सुरक्षाको कारण देखाएर डडेलधुरा अस्पतालका सबै चिकित्सक धनगढी पुगेर प्रदेश सरकारसँंग सुरक्षाको माग गरेका थिए । सरकारले सुरक्षाको प्रत्याभूति दिएपछि मात्रै अस्पतालमा फर्केका चिकित्सकमध्ये धेरैले आफ्नो सरुवा गराइसकेका छन् । कर्मचारी समायोजन गर्दा बिदामा बसेका, अध्ययनका लागि विदेश गएका र भर्खर सेवा प्रवेश गरेका चिकित्सकको मात्र दरबन्दी कायम गरिएको छ । अहिले अस्पताल सुनसान देखिन्छ ।

अस्पताल लक्षित गरी खुलेका होटल र पसलहरू पनि बन्द हुन थालेका छन् । अस्पताल छेउछाउमा अकासिएको जमिनको खरिद बिक्री ठप्प भएको छ । स्थानीय सुरेन्द्र विष्ट भन्छन्, ‘टिम अस्पतालको सम्झना मात्र रह्यो उपचार र सबैखाले सेवा अस्पतालसँगै समाप्त भएका छन् ।’

प्रकाशित : आश्विन ८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?