कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अस्पतालमा छैनन् डाक्टर

कर्मचारी समायोजनले अस्पतालमा जनशक्ति नहुँदा बिरामीहरु उपचारबाट वञ्चित
गणेश चौधरी

टीकापुर — उपचारका लागि आएकी टीकापुर नगरपालिका १ की लक्ष्मी चौधरीलाई पेटको भिडियो एक्सरे गर्नुपर्ने भयो  । तर अस्पतालमा भिडियो एक्सरेका लागि डाक्टर नहुँदा उनले निजी क्लिनिकमा जानुपर्ने बाध्यता भयो  ।

अस्पतालमा छैनन् डाक्टर

(टीकापुर) : उपचारका लागि आएकी टीकापुर नगरपालिका १ की लक्ष्मी चौधरीलाई पेटको भिडियो एक्सरे गर्नुपर्ने भयो । तर अस्पतालमा भिडियो एक्सरेका लागि डाक्टर नहुँदा उनले निजी क्लिनिकमा जानुपर्ने बाध्यता भयो । अस्पतालमा उपकरण भएर पनि चलाउने जनशक्ति नहुँदा उनले महँगो शुल्क तिरेर भिडियो एक्सरे गराइन् ।
स्वास्थ्यकर्मी अभावमा टीकापुर अस्पतालका बिरामीले उपचार सेवा सहज पाउन सकेका छैनन् । कर्मचारी समायोजनले अस्पतालमा जनशक्ति नहुँदा बिरामीहरू उपचारबाट वञ्चित भएका हुन् । अस्पतालमा विशेषज्ञसहित १७ डाक्टरको दरबन्दी भए पनि ४ जना मात्र कार्यरत छन् । बिरामीको चापअनुसार डाक्टर नहुँदा उपचार सहज नभएको स्वयं अस्पतालकै कर्मचारी बताउँछन् ।
बिरामी जाँचका लागि फिजिसियन, स्त्रीरोग, हाडजोर्नी र बालरोग विशेषज्ञ डाक्टर एक/एक छन् । तर बिरामीको चाप धेरै हुँदा उपचारबिनै फर्कनुपर्ने अवस्था छ । एक डाक्टरले दिनमा ६०/७० भन्दा बढी बिरामी हेर्न नभ्याउने भएकाले ओपीडीका लागि १२ बजेपछि बिरामी पुर्जा बन्द गरिने अस्पताल प्रशासनले जनाएको छ । कोटा पुगेपछि त्योभन्दा पहिले नै टिकट काउन्टर बन्द गर्नुपरिरहेको काउन्टरका कर्मचारी जानकी धमलाले बताइन् ।
हालसम्म अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिटेन्डेन्ट पनि नहुँदा अस्पताल अभिभावकविहीन जस्तै बनेको छ । यसअघि मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनाल हुँदा हाइड्रोसिल, हर्निया, एपेन्डिक्सलगायत रोगको शल्यक्रिया टीकापुर अस्पतालमा हुँदै आए पनि अहिले यो सेवा ठप्प छ । टीकापुर अस्पतालमै उपलब्ध उपचार सेवा लिन पनि बिरामीहरूलाई नेपालगन्ज लैजानुपर्ने बाध्यता छ । अहिले टीकापुरमा रहेका ५ एम्बुलेन्स बिरामी बोकेर लगातार नेपालगन्ज कुदिरहेका छन् । एम्बुलेन्स चालक कृष्ण शाहले भने, ‘डा. खनाल हुँदा जटिल अवस्थाका बिरामीलाई मात्र कोहलपुर बोकेर आउथें । अहिले एक दिनमा ४ पटकसम्म नेपालगन्ज दौडनुपर्ने अवस्था छ ।’
५१ शय्याको अस्पताल घोषणा गरी विशेषज्ञसहित ११ डाक्टरको दरबन्दी राखिए पनि त्यो पूरा नहुँदा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र जस्तै बनेको कर्मचारी पुष्प धमला बताउँछन् । उनले भने, ‘बिरामीको चाप धेरै छ । डाक्टर छैनन् । टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले २ विशेषज्ञ डाक्टरलाई नगरपालिकाले नियुक्त गरेको थप डाक्टरका लागि प्रदेश सरकारमा पहल गरिरहेको बताए । कोरियन सहयोग नियोग (कोइका) को सहयोगमा उपकरणहरूसहित भौतिक पूर्वाधारसम्पन्न अस्पताल भवन बनाइदिए पनि जनशक्ति अभावमा भवन र कतिपय सर–सामानको उपयोग हुन सकेको छैन । भवनमा ताला लगाइएको छ । टीकापुर अस्पतालमा डाक्टर निवाससहित १२ भवन छन् ।
गत वर्ष ७० हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । अहिले पनि उपचारका लागि एक दिनमा करिब ६ सय बिरामी आउँछन् । यो अस्पताललाई कैलालीको पूर्वी तथा बर्दियाको राजापुर क्षेत्रका करिब ८ लाख नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने बाध्यता छ ।

प्रकाशित : आश्विन ६, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?