१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

किसानलाई ज्ञान पार्क

डीआर पन्त

डडेलधुरा — कृषि प्रणालीलाई जलवायुमैत्री बनाउन र प्रतिकूल अवस्थामा पनि कृषि प्रणालीलाई अनुकूल बनाउन भागेश्वर गाउँपालिकाको बगरकोटमा ज्ञान पार्क निर्माणको काम सुरु भएको छ  । प्रविधि विस्तारका लागि कृषकहरूलाइ व्यवहारिक वनाउन सार्क राष्ट्रहरूले सुरु गरेको जलवायुमैत्री कृषि प्रणाली सुधार कार्यक्रमअन्तर्गत जलवायु अनुकूलन कार्यक्रम नेपालको काभ्रे र डडेलधुरामा नमुना परिक्षणका रुपमा आरम्भ गरिएको हो  ।

‘पहिलो चरणमा भागेश्वर गाँउपालिकाका ५ कृषक समूहमा कार्यक्रमले अनुसन्धान सुरु गरेको छ,’ कार्यक्रमका वरिष्ठ कृषि प्राविधिक भवानी पन्तले भने, ‘वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्रले यो अनुसन्धान सुरु गरेको हो ।’ सार्कका ८ वटै राष्ट्रको लगानी र नेपाल सरकारको वातावरण विभागको समन्वयमा भइरहेको यो प्रयास दक्षिण एशियाकै लागि नयाँ भएको पनि उनले वताए । ‘मौसम प्रणालीमा देखापरेको परिवर्तनले कृषि प्रणालीलाई पनि विस्तारै परिवर्तन गरी लैजानुपर्ने अवस्था आएपछि यो प्रयास सुरु गरिएको हो,’ उनले भने ।


भागेश्वर गाउँपालिका केन्द्रनजिकै स्थानीय अगुवा कृषक ईश्वरी पन्तको बारीमा स्थापना भएको ज्ञान पार्कमा स्थापना भएको २ महिना पनि नबित्दै देशका ४० स्थानीय तहका अगुवा कृषक र जनप्रतिनिधिले समेत अवलोकन गरिसकेका छन् । भागेश्वर कृषि समूहको नेतृत्वमा स्थापना भएको पार्कमा तरकारी खेतीमा हुने समस्या, लाग्ने रोग, विभिन्न किरा तथा पुतलीका कारण हुने क्षति र अन्य समस्याको सामाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान दिने गरिएको छ ।


विभिन्न रङमा आकर्षित हुने कीराहरू बालीमा लाग्न नदिन सामान्य प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ । भागेश्वर कृषक समूह अध्यक्ष देवकी पन्तले भनिन्, ‘मकैमा लाग्ने फौजी किरा रोक्न किसानले विना कुनै खर्चमा सहज रुपमा पासो तयार गर्न सक्छन् ।’ उनका अनुसार एउटा प्लास्टिक ट्रे बनाएर राख्दा फौजी किरा नियन्त्रण हुन्छन् । उनले भनिन्, ‘नीलो रङमा आकर्षित हुने किराका लागि नीलो च्याँप पासो बनाउन सकिन्छ ।’ एउटा कृषकले विषादी खरिद गर्ने रकमले ५ कृषकको बाली जोगिने मात्र होइन स्वस्थसमेत हुने प्रबिधिको सिकाइ ज्ञान पार्कमा हुने गरेको उनले जानकारी दिए ।


१ रोपनीभन्दा सानो बारीमा स्थापना गरिएको पार्कमा उपलब्ध सीप र प्रबिधिअनुरुप यस क्षेत्रका कृषकहरूले पहिलोपटक तरकारी खेती पनि सुरु गरेका छन् । तुलनात्मक अध्ययनका लागि पनि पार्क नजिकै विषादी प्रयोग गरी भइरहेको तरकारी खेतीसँगै पार्कको सिप र प्रबिधि प्रयोग गरि तरकारी खेती गरिएको छ । ज्ञान पार्क स्थापनामा धेरै लगानी पनि भएको छैन । कार्यक्रमका वरिष्ठ प्राविधिक पन्तले भने एउटा पार्क स्थापना गर्न मुस्किलले ६०/७० हजार रुपैयाँभन्दा बढी खर्च भएको छैन । पहिलो चरणमा देशमै २ जिल्लामा सुरु भएको यो कार्यक्रमको सफलतापछि सरकारले अन्य जिल्लामा समेत लागू गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । कार्यक्रमको अनुगमन र निरीक्षणको जिम्मा स्थानीय तहलाई दिइएको छ ।

प्रकाशित : आश्विन ६, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?