१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

तृप्ति शाही

बैतडी — तीन महिनाअघि भाइरलको प्रकोप सुरु भएको बैतडीमा अहिले डेंगु र स्क्रब टाइफसका बिरामीसमेत बढेका छन्  । ज्वरो र रुघाखोकीको समस्या देखिने भाइरलका बिरामी घरघरमा छन्  ।

जिल्ला अस्पतालसहित ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको संख्या धेरै छ । पाटन स्वास्थ्य केन्द्र, मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाहरूमा भाइरलका बिरामीको संख्या धेरै छ । ती संस्थाहरूले नियन्त्रणको प्रयास गरिरहेका छन् ।


भाइरलसँगै पछिल्लो २ सातामा डेंगु र स्क्रब टाइफसका बिरामी पनि देखिन थालेका हुन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार भदौ अन्तिम साता डेंगुका १ र स्क्रब टाइफसका ११ बिरामी भेटिएका थिए । गएको शुक्रबारसम्म डेंगुबाट प्रभावित बिरामीको संख्या २ जना र स्क्रब टाइफसका बिरामी २२ पुगेका छन् । यहाँबाट धनगढी रिफर गरिएका २ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले जानकारी दिए । यस्तै डडेल्धुरामा उपचारका लागि गएका २२ जना बैतडीका बासिन्दालाई स्क्रब टाइफस भेटिएको उनले बताए । पाटन नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ, दोगडाकेदार र सुर्नया गाउँपालिकाका बिरामीमा स्क्रब टाइफस भेटिएको उनले बताए ।


जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाहरूमा स्क्रब टाइफस पत्ता लगाउने किट भने उपलब्ध छैन । डेंगु, मलेरिया चेकजाँच गर्न किट भए पनि स्क्रब टाइफसको नभएको उनले बताए । उनले भने, ‘निर्देशनालयलाई पत्राचार गरिसकेको छु । केही दिनमै पुग्छ । जिल्ला अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्रहरूमा राख्ने तयारी छ ।’

अहिले देशका विभिन्न ठाउँमा देखिरहेको डेंगु, स्क्रब टाइफस, मलेरियाबाट बच्न जिल्लाका विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय, जिल्लाका स्वास्थ्य संस्थाहरूले यतिबेला जनचेतनामूलक कार्यक्रममा जोड दिइरहेका छन् ।

१० वटै पालिकाका स्वास्थ्य संयोजकको नेतृत्वमा द्रुत प्रतिकार्य टोली बनाइएको छ । सदरमुकामका साथै पालिकाहरूमा लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने कार्य चलिरहेको छ । स्वास्थ्य संस्थाका कर्मचारीहरूले आफ्नो कार्यालयसँगै बजार वरपर र बढी फोहोर भएको स्थानका सरसफाइ गरिरहेका छन् । स्वास्थ्य कार्यालयले जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयको वरपर, नयाँ बनेका भवनहरूको सरसफाइ र लार्भा नष्ट गर्ने कार्य भइरहेको भट्टले बताए ।

अन्य स्थानमा पनि स्वास्थ्यका कर्मचारीहरूले यो कार्यलाई निरन्तरता दिइरहेका उनले बताए । बिरामीहरूको पहिचानका लागि पनि स्वास्थ्यकर्मीहरू खटिरहेका छन् ।

प्रकाशित : आश्विन ६, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?