कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य बिमाप्रति बढेन आकर्षण

निर्मला खडायत

धनगढी — कैलालीमा जनसंख्याको अनुपातमा स्वास्थ्य बिमा गराउनेको संख्या वृद्धि हुन सकेको छैन । बिमितहरूले स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिमाप्रति आकर्षण नबढेको हो ।उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आएका धनगढी उपमहानगरपालिका १९ का समिर कुवँर फार्मेसीमा औषधि नपाएपछि निजी क्लिनिकतिर धाइरहेका थिए ।

उनले भने ‘बिमा गरेर केही औषधि उपचारमा सहज भए पनि अधिकांश औषधि फार्मेसीमा पाइँदैनन् ।’ जसले गर्दा स्वास्थ बिमाप्रतिको विश्वास घट्दै गएको उनले बताए । ‘आखिर औषधि निजी क्लिनिकबाटै किन्नुपर्ने अवस्था आएपछि स्वास्थ्य बिमा किन गर्नु ?’ उनले भने, ‘सरकारले स्वास्थ्य बिमा गर्नेको संख्या बढाउनभन्दा सेवा गुणस्तरीय बनाउनमा ध्यान दिनुपर्छ ।’

बिमितले सहजै सुविधा पाए स्वतः बिमाबारे प्रचारप्रसार हुने उनको भनाइ छ । गोदावरी नगरपालिका ५ की सीता चौधरी पनि बिरामी छोराको औषधि किनेर फार्मेसीअघि उभिएकी थिइन् । सुरुकै वर्ष स्वास्थ्य बिमा गराएकी उनले दोस्रो वर्ष नवीकरण गराइनन् । ‘स्वास्थ्य बिमा गरेँ भन्नु मात्रै हो, अस्पतालमा आउँदा औषधि किन्नै पर्ने अवस्था छ । त्यसैले नवीकरण गराइनन्,’ सीताले भनिन् ।


स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार कैलालीका ५० प्रतिशतभन्दा बढी सर्वसाधारणले स्वास्थ्य बिमा गराएका छैनन् । पछिल्लो समय स्वास्थ्य बिमा गराउनेमा स्वास्थ्य सेवा नियमावलीले समेटेका वर्गअन्तर्गत अति गरिब, कुष्ठरोगी, टीबी, एचआईभी संक्रमित र ज्येष्ठ नागरिकहरू बढिरहेका छन् ।उनीहरूले आफ्नो स्वास्थ्यको चिन्ताले भन्दा पनि बिमा बोर्डले स्वास्थ्य बिमा निःशुल्क गरिदिने भएकाले संख्या बढी देखिएको स्वास्थ्य बिमा बोर्डका प्रदेश कार्यालय संयोजक जनकबहादुर साउँदले बताए ।

‘केहीमा बुझाइ कम भएकाले र केहीले सेवा प्रभावकारी नभएको भन्दै स्वास्थ्य बिमा गर्न नमानेका हुन्,’ उनले भने, ‘बिमितको गुनासो सुनेपछि हामी पनि स्वास्थ्य संस्थामा पुग्यौं, स्वास्थ्यकर्मीहरूले टेन्डरको समस्या देखाएर कुरा टारिदिए ।’ यो समस्या निजी अस्पतालमा भन्दा सरकारी अस्पतालमा बढिरहेको उनले बताए । बिमितले सेवा सहज रूपमा नपाउँदा स्वास्थ्य बिमा नवीकरण गराउनेको संख्या पनि न्यून रहेको उनले बताए । गत वर्ष ५२ प्रतिशतले स्वास्थ्य बिमा नवीकरण गराएका छन् । हालसम्म कैलालीमा १ लाख २४ हजार ६ सयले बिमा गरेको कार्यालयले जनाएको छ ।


सेती प्रादेशिक अस्पताल फार्मेसी अधिकृत महेश शाही भने अस्पतालले सकेजति बिरामीलाई औषधि प्रदान गरिरहेको बताउँछन् । उनले केही दिनयता मौसम परिवर्तनसँगै बिरामीको चाप बढेको तर औषधि सीमित रहेकोले केही अभाव भएको बताए । चालु आवको टेन्डर ढिलाइ भएको उनको भनाइ छ ।

उनले टेन्डरका माध्यमबाट खरिद गर्नुपर्दा अस्पतालमा औषधिको अभाव हुने गरेको बताए । ‘औषधि माग गरेको लामो समयपछि अस्पतालको फार्मेसीमा पुग्छ । झन्झटिलो टेन्डर प्रक्रिया नै यसको मुख्य बाधक हो । औषधि खरिद गर्ने प्रक्रिया परिवर्तन नगरेसम्म समस्या यथावत रहन्छ,’ अधिकृत शाहीले भने ।

प्रकाशित : आश्विन ६, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?