२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तिंकरमा झोलुंगेको योजना

मनोज बडू

(दार्चुला) — दार्चुलाको तिंकर सडकसँग जोड्न दुहु गाउँपालिकाले बहुउद्देश्यीय झोलुंगे पुल निर्माण सुरु गरेको छ । बञ्जीजम्पको लागिसमेत उपयोग हुनेगरि प्रदेशकै सर्वाधिक उचाई र लम्बाईको पुल निर्माण हुन लागेको हो । 

गत आर्थिक वर्षदेखि गाउँपालिकाले पुल निर्माणको काम सुरु गरिसकेको छ । वडा नम्बर २ र ५ को सीमा नदी कालागाड खोलामाथि बञ्जिजम्पसहितको बहुउद्देश्यीय झोलुंगे पुल निर्माण हुने गाउँपालिकाले जनाएको छ । ‘पिल्लर निर्माण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘चालु आर्थिक वर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।’ उक्त पुल प्रदेशकै नमुना हुने गाउँपालिकाले जनाएको छ । पुल निर्माणले पैदल मार्गको दूरी घटाउनुका साथै पर्यटकहरूको आकर्षण बढाउने उद्देश्य रहेको अध्यक्ष कार्कीको भनाई छ ।


उक्त पुलले गाउँपालिकाका २ र ५ लाई सीधै जोड्ने हुँदा गाउँपालिकाको केन्द्र पुग्न आधा घण्टाभन्दा कम लाग्ने र आवतजावत सहज हुने स्थानीय बासिन्दा बताउँछन् । पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका ४ हजार जनसंख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा वर्षातका कारण पुल निर्माणमा प्रगति देखिएको छैन । निर्माण सामग्री ढुवानीमा समस्या आएपछि हाल निर्माण कार्य प्रभावित छ ।


दसैंलगत्तै निर्माण कम्पनीले निर्माण सामग्री ढुवानी गरिने जनाएको छ । पुलका मोटो फलामे तारहरू भारतबाट ल्याउनुपर्ने हुँदा सामग्री आयातमा समय लागेको निर्माण कम्पनीले जनाएको छ । ‘गाउँपालिकाको ठूलो र बृहद् योजनाको रूपमा यो पुलको निर्माण अघि बढाइएका हो,’ उनले भने, ‘गाउँपालिकाको पर्यटन प्रवर्द्धनसँगै आर्थिक आर्जनको रूपमा विकास गर्ने योजना बनाउँदै छौं ।’ गाउँपालिकाको दुई वर्षअघिको गाउँसभाले पुल निर्माणको निर्णय गरेको थियो ।


गाउँपालिकाका प्रवक्ता गोविन्दसिंह डडालले भने, ‘पुल सडकबाट डेढ सय मिटरको दूरीमा छ । सदरमुकाम खलंगाबाट यहाँ पुग्न एक घण्टाभन्दा कम समय लाग्ने हुनाले खलंगा पुगेका पर्यटकका लागि पुल अवलोकन स्थल हुनेछ । बन्जिजम्पको पनि अध्ययन अगाडी बढेको हुनाले विदेशी पर्यटक आउने सम्भावना रहेको उनको भनाइ छ । यसले आन्तरिक आम्दानीमा सहयोग पुग्छ ।


हेल्भेटास नेपालको प्राविधिक सहयोग र गाउँपालिकाको लगानीमा निर्माण भइरहेको उक्त बहुउद्देश्यीय झोलुंगे पुलको लम्बाइ ३ सय ७२ मिटर रहेको छ । २ सय ४० मिटरको उचाइमा पुल बन्नेछ । १ करोड ७७ लाखको लागतमा उक्त पुल जगदम्बा दोभान संगम जेभीले निर्माण गरिरहेको छ । सुदूरको पहाडी जिल्लाकै सर्वाधिक उचाइ र लम्बाइ रहेको पुल गाउँपालिकाकै बजेटबाट निर्माण गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताए । पुल निर्माणपश्चात् साहसिक खेल बन्जिजम्पको लागिसमेत उपयुक्त सम्भावना रहेको पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको हेल्भेटास नेपालले बताएको छ । त्यसका लागि अध्ययनसमेत सुरु गरिएको छ । पुल निर्माण हुने स्थानमा निकै कडा खालको चट्टान रहेको तथा गहिरो गल्छी भएका कारण बन्जिजम्पका लागि उपयुक्त मानिएको हेल्भेटास नेपालले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?