कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपालीबाटै लुटिन्छन् कामदार

कञ्चनपुर — भारतको सिमलामा मजदुरी गरेर घर फर्किन लागेका जाजरकोटका ६३ वर्षीय वीरबहादुर रावल महेन्द्रनगर बजारमा अलपत्र अवस्थामा भेटिए । ५ महिनाअघि कामको खोजीमा भारत पसेका उनी घर फर्किंदा ल्याएको नगद र अन्य सामान सबै लुटिएपछि अलपत्र परेका हुन् । 

सिमलाबाट घर फर्किने क्रममा वीरबहादुरसँगै रुकुम घर बताउने अन्य ४ नेपाली पनि थिए । उनीहरू बस चढ्ने ठाउँबाटै वीरबहादुरसँग नजिक हुन खोजिरहेका थिए । जब चन्डिगढ पुगे उनीहरूले चिसो पेय पदार्थ ल्याए । वीरबहादुरलाई पनि दिए । चिसो पेय पदार्थ खाएपछि उनी बेहोस भए ।


‘म सँग भएको पैसा र सामान सबै लिएर गए,’ वीरबहादुरले भने, ‘दोस्रो दिन होसमा आउँदा त अस्पतालमा थिएँ ।’ सिमलाबाट घर फर्किदा उनीसँग ६० हजार भारु, एक थान मोबाइल र लुगा कपडा थिए । उनले आफ्नो शरीरमा रहेका लुगाबाहेक अरु केही पनि नरहेको बताए । उनलाई विभिन्न संघ–संस्था र प्रहरीको सहयोगमा घर सम्म पुग्ने व्यवस्था गरिएको हो ।


दुई साताअघि भारतमै मजदुरी गरी घर फर्किन लागेका कैलालीको भजनी नगरपालिकाका हेमन्त बुढामगर पनि नेपाल–भारत सीमा क्षेत्रमा बेहोस अवस्थामा भेटिए । उनलाई रिक्सा चालकले गड्डाचौकीस्थित सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको सहायता केन्द्र सम्म पुर्‍याएका हुन् ।


दिल्लीबाट घर फर्किएका बुढामगरलाई बनबसाबाट महेन्द्रनगर आउने क्रममासँगै आएका नेपाली कामदारहरूले नै बेहोस बनाएर छोडेका हुन् । उनीसँग भएका नगद तथा अन्य सामान सबै लुटेर सीमा क्षेत्रमा बेहोस भेटिएका बुढामगरलाई सहायता केन्द्रले महाकाली अस्पतालमा उपचार गराएर घर पठाएको थियो । ‘दिल्लीबाटै उनीहरू मसँगै आएका थिए, हाम्रो पनि उतै घर भनेपछि म पनि नजिक भएँ,’ उनले भने, ‘वनबसामा चिया पिएर अलि वरसम्म आए त्यसपछि बेहोस भइहाले ।’


दसैं तिहार नजिकिँदै गएपछि कामको खोजीमा भारत पसेका नेपालीहरू घर फर्किने क्रम बढ्दै गएको छ । तर सीमा क्षेत्रमा हुने लुटपाटका घटना पनि दिनहुँ बाहिर आउन थालेका छन् । खासगरि नशालु पदार्थ खुवाएर लुटिएका घटना बढी आउने गरेका छन् । यस्ता लुटपाटका घटनामा नेपालीहरू नै संलग्न भएका हुन्छन् ।


काम गर्ने ठाउँबाट पछि लागेर आउने बाटोमा नजिक भएर मौका पाउनेवितिक्कै चिसो पेय पदार्थ, चिया वा बिस्कुटमा मिसाइएको नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटने गरेको यसै साता भएका दुई घटनाले पनि दर्शाउछ । घर फर्किदा ठूलो रकम आफैंसंँग बोक्ने तथा नेपाली बोलेको देख्नेबितिक्कै आँखा चिम्लेर विश्वास गर्ने भएकाले पनि यस्ता घटना दोहोरिने गरेका हुन् ।


‘पछिल्लो एक/डेढ सातामा ३ जना लुटिएका कामदार हाम्रो सम्पर्कमा आएका छन्,’ सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता केन्द्रका नासु दानसिंह बोहराले भने, ‘उनीहरू तीनै जना नेपालीबाटै लुटिएको खुलेको छ ।’ दसैं–तिहारका बेला बेहोस बनाई लुटिनेमध्ये आधा भन्दा बढी नेपालीबाटै पीडित हुने गरेका छन् । नेपाली कामदारले बैंकबाट रकम पठाउन नसक्दासमेत लुटपाटका घटनाहरू बढी हुने गरेका हुन् । यात्राका क्रममा अपरिचितले दिएको नखाने र नेपाली नै भए पनि विश्वास नगर्नेलगायत सुरक्षित यात्राबारे जनचेतनासमेत फैलाउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?