३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नमुना बन्यो बादी टोल 

वसन्तप्रताप सिंह

(बझाङ) — हरिना बादी, उमेर ४० वर्ष । ३१ वर्ष पहिला उनले पहिलोपटक चैनपुर टेकेकी थिइन् । ‘मारे पाप पाले पुण्य’ भन्दै, उनका आमाबुवाले ९ वर्षकै उमेरमा चैनपुरका पदम बादीसँग बिहे गराइदिए ।

नमुना बन्यो बादी टोल 

डोटीमा रहेको माइतीघर पहिलोपटक छोड्दाका यादहरू धुमिल भए पनि उनको स्मृतिमा ताजै छन् । डोटीदेखि बझाङसम्मको पैदल यात्राका एकाध घटना अहिले पनि उनको मानसपटलमा घुमिरहन्छन् । तर, बझाङ बसाइको ३१ वर्षे अवधिमा भोगेका दु:ख सायदै बिर्सिन्छिन होला उनी । त्यसैले त भन्छिन्, ‘यी दुख त मर्‍याका धुकाल झान्ना’ अर्थ्ता यो अवधिमा भोगेको दु:खका सम्झनाहरू मरेर जलिसके पछि धुवाँ भएर मात्र हराउने छन् । कहिल्यै बिर्सिन नसकिनेछन् ।


बिर्सिनु पनि कसरी ? मध्य पुसको जाडोमा टिनको टहरामा कठ्यांग्रिएर अढाइ वर्षीया छोरी बेहोस भएको, साउने झरीमा नवजात शिशुलाई प्लास्टिकले छोपेर रात बिताएको, बर्खा भरी चिसो भुइँमा सुतेका कारण सुन्निएर २ वर्षअघि पति गुमाएको, कुन दु:ख पो बिर्सिनु । ‘हिउँदमा रातभरि आगो तापेर बस्थ्यौं । बर्खामा छाता र बर्सादी (प्लास्टिक) ओढेर रात काट्थ्यौं,’ हरिनाले दु:खको पोयो फुकाइन्, ‘हाम्राजस्ता दु:ख त पशुले पनि पाएन होला सर । ती दु:ख एकैदिन भनेर सकिन्या छैनन् ।’


सौभाग्यको कुरा, उनले मात्र होइन । चैनपुरको दक्षिणी कुनामा बस्ने १५ परिवार बादीले पुस्तौंदेखि भोग्दै आएको दु:खको यो साझा कहानी भनिरहँदा उनी आफ्नै आधुनिक घरको पिँढीमा बसिरहेकी थिइन् । रङरोगन लगाएर चिटिक्क पारिएको पक्की घर । खाटमा सुकिला विस्तारा लगाइएका सुत्ने कोठाको भित्तामा पंखाहरू जोडिएका थिए । भुइँमा कार्पेट । अलग्गै कोठामा ग्यास जोडिएको सफा भान्सा । छुट्टै शौचालय र स्नानगार । बढारकुडार गरेको आँगनमा केटाकेटी उन्मुक्त खेलिरहेका थिए । पुस्तौंदेखि सेतीको दूषित पानी खाइरहेका उनीहरूको आँगनमै चौबीसै घण्टा बग्ने शुद्ध खानेपानीका धारा जोडिएका थिए ।


झन्डै २ साताअघिको कष्टकर जिन्दगी र अहिलेको दैनिकीमा आएको परिर्वतन उनीहरूलाई सपना जस्तै लागेको थियो । किनकि २ साताअघि मात्र उनीहरू आधुनिक पक्की घरमा सरेका थिए । ग्यास, छुट्टै शौचालय, नुहाउने कोठा, पंखा, सुकिलो ओच्छ्यान सबैका लागि नौला थिए ।


जनता आवास कार्यक्रमले बादी समुदायका लागि बनाइदिएको घरलाई जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नै लगानीमा सिँगार्दिए । ‘विष्टले हाम्रो मुक्ति गरिदिनुभएको छ,’ राधा बादीले खुसी हुँदै भनिन्, ‘पक्की घरमा यस्तो सुविधासँग बस्न पाउँला भनेर सपनामा पनि सोचेका थिएनौं । उहाँको कृपाले हामीले नयाँ जीवन पायौं ।’


जनता आवास कार्यक्रमले ८ परिवार बादीका घर निर्माण गर्न २ वर्षअघि १८ लाख ३६ हजार रुपैयाँ उपलब्ध गराएको थियो । निर्माण व्यवसायीसमेत रहेका वडाध्यक्ष विष्टले उनीहरूका घर निर्माणको जिम्मा लिएका थिए । त्यसैमा उनले आफ्नो व्यक्तिगत लगानीसमेत गरी सुविधायुक्त घर बनाइदिएका हुन् । अहिले १६ कोठा भएको २ पक्की भवनमा ८ परिवार बादीलाई सारिएको छ । बाँकी रहेका परिवारका लागि अर्को भवन सम्पन्न हुने अवस्थामा छ ।


वडाध्यक्ष विष्टले खानेपानीको हाहाकार भएको सदरमुकाममा बस्ने बादी समुदायका लागि आफ्नै मुहानबाट चौबीसै घण्टा चल्ने खानेपानीका धारा पनि जडान गरिदिएका छन् । आफूले चुनावका बेला गरेको बाचा पूरा गर्न व्यक्तिगत लगानीमा बादीको आवास सिँंगारिदिएको वडाध्यक्ष विष्टको भनाइ छ । ‘मैले चुनावकै बेला मेरो वडामा रहेका सबैभन्दा विपन्न बादीको जीवनस्तर उठाउने बाचा गरेको थिएँ,’ उनले भने, ‘त्यही पुरा गर्न यो सबै गरेको हुँ ।’ उनले आफ्नो कार्यकालमा अहिलेसम्म सामाजिक मुलप्रवाहमा आउन नसकेका बादी समुदायलाई आत्मनिर्भर बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : आश्विन ४, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?