१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भुवा नाचको रौनक : एक हातमा तरबार, अर्कोमा ढाल

भुवा नाच समिति अध्यक्ष वीरबहादुर सुनार भन्छन्, ‘धेरैजसो कार्यक्रममा नाचका लागि बोलाउँछन्, एकपटकको प्रस्तुतिका लागि १० देखि ४० हजार रुपैयाासम्म लिन्छौं’ 
निर्मला खडायत

(धनगढी) — नेपाली पोसाकमा सजिएका पुरुषहरू एक हातमा तरवार र अर्को हातमा ढाल समातेर मञ्च अगाडि आइपुगे । उनीहरू शुक्रबार धनगढीमा आयोजित संविधान दिवसको कार्यक्रममा सुदूरपश्चिमका पहाडी जिल्लामा खेलिने भुवा नाच प्रस्तुत गर्ने तयारीमा थिए । 

भुवा नाचको रौनक : एक हातमा तरबार, अर्कोमा ढाल

बीचमा बसेर ३ जनाले दमाहा बजाए । वरिपरि ढाल र तरवार नचाउँदै भुवा नाच सुरु भयो । पहाडी नाच हेर्न दर्शक झुम्मिए । हिजोआज धनगढीमा आयोजना गरिने जुनसूकै औपचारिक कार्यक्रममा भुवा नाच प्रस्तुत गरिन्छ । ‘भुवा नाच साहसिक लाग्यो,’ नाच हेर्न आएका धनगढीका तेज बोहराले भने, ‘दमाहाको लयमा ढाल तरवार नचाउनु चानचुने होइन ।’ सेतो रंगको दौरा सुरुवाल, कम्मरमा रंगिन पटुका र शिरमा सेतै पगरी भुवा नाच खेल्नेहरूको पहिरन आकर्षक देखिन्छ । दमाहाका बाजाको लयसँगै पाइला र ढाल तरवार चलाउने खेल हेर्दै हिम्मतिलो र आकर्षक लाग्छ ।


‘धेरैजसो कार्यक्रममा हाम्रो नाच प्रस्तुतिका लागि आमन्त्रण गरिरहन्छन्,’ बडिमालिका बाजुरेली सेवा भुवा नाच समिति अध्यक्ष वीरबहादुर सुनारले भने, ‘एकपटक नाच देखाएबापत १० देखि ४० हजार रुपैयाँसम्म लिन्छौं ।’ उनले पछिल्लो समय औपचारिक कार्यक्रमहरूले मौलिक लोकसंस्कृतिलाई मान्यता दिएपछि त्यसअन्तर्गत भुवा नाच पनि परेको बताए । ‘पहाडतिर पुसमा मात्रै भुवा खेलिन्छ । यहाँ भने विभिन्न कार्यक्रममा प्रस्तुत गर्छौं,’ उनले भने । ०५२ सालमा गठन भएको समिति ४/५ वर्षयता निकै व्यस्त हुन थालेको सुनारले बताए । ४० सदस्य जुटेर समिति नै गठन गरेको उनले सुनाए ।


‘अहिले पनि पुसमा हाम्रो समूह अलि व्यस्त रहन्छ,’ भुवा नाचका गुरु उदयदेव भुलले भने । त्यसबेला घरमा गएर भुवा खेल्ने चलन छ । त्यसबापत गच्छेअनुसार रकम दिने गरेको उनले बताए । उनले सुदूरपश्चिमबाहेक अन्य जिल्लामासमेत भुवा नाच प्रस्तुत गर्ने गरेको बताए । भुवा नाच तरबार लिई ५ पाण्डवको गाथा गाएर खेलिन्छ । भुवाको मुख्य आकर्षण विभिन्न बाजाको लयमा खेलिने चाली हुन् ।


चाली अनुसार भुवा नाचिन्छ । पाण्डव र कौरवको युद्धपछि पाण्डवहरूले वनबास भोगेका बेलाको कथाअनुसार भुवा खेल्ने परम्परा आरम्भ भएको दलबहादुर रावलले बताए । द्रोपतीको चीर हरणलाई लिएर देवर–भाउजू ठट्यौली पाराले भुवा खेल्छन् । भुवा मंसिर शुक्लपूर्णिमादेखि सुरु भएर पुस कृष्णपक्षमा बिसर्जन गर्ने चलन छ ।


प्रकाशित : आश्विन ४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?