कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

व्यवस्थित बनेन ‘हिल स्टेसन’

डीआर पन्त

(डडेलधुरा) — एउटै भूगोल । सौन्दर्य पनि उस्तै । हावापानीमा फरक छैन । दूरी पनि ७० किमिभन्दा कम । सीमावर्ती भारत उत्तराखण्डको चम्पावतबाट डडेलधुरा देखिन्छ, डडेलधुराबाट पनि चम्पावत देखिन्छ । नेपालीहरूको वीरताको गाथा बताउने अमरगढी किल्ला डडेलधुरामा छ भने चम्पावतमा पनि नेपालीको सौर्यको प्रतीक बडाकाजी अमरसिंहकै नामको किल्ला छ ‘फोर्ट अफ अमरसिंह’ । फरक के छ भने चम्पावतमा बर्सेनि किल्ला र अन्य पर्यटकीय गन्तव्यमा ४/५ लाख पर्यटक आउँछन् । तर डडेलधुरामा भने ऐतिहासिक किल्लाको स्वरुप बिगारेर जमिनसमेत मासिन थालेको छ ।

समान किसिमका ‘हिल स्टेसन’ हुन चम्पावत र डडेलधुरा । चम्पावत भारतको उत्तराखण्ड राज्यको प्रमुख हिल स्टेसन वनेको छ । डडेलधुरा सुदूर प्रदेशको नाम मात्रको हिल स्टेसन भएको छ । डेढ दशकअघि चम्पावत र डडेलधुराको अवस्था उस्तै थियो । उत्तर प्रदेशबाट उत्तराखण्ड राज्य बनेपछि चम्पावतका दिन फेरिए । एक दशक नबित्दै चम्पावत उत्तर भारतको प्रमुख गन्तव्य वन्यो भने डडेलधुरा विगतभन्दा पनि ओरालो लाग्दै गयो ।


सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको केन्द्र मात्र नभई डडेलधुरा सीमापारि उत्तर प्रदेशको बुन्देलखण्डदेखि लखनउसम्मको हिल स्टेसनका रुपमा विकसित हुने सम्भावना धेरै भए पनि सरोकारवालाको चासो नजाँदा यो ग्रामीण क्षेत्रको बजारमै सीमित हुँदै गएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड, अपि र साइपाल हिमालसँगै मानसरोवरको प्रवेश द्वारका रुपमा विकास गर्न सकिने थुप्रै सम्भावना बोकेको छ । पछिल्लो दशकमा शहरीकरण तिर उन्मुख भए पनि ब्यबस्थित हुन नसक्दा सम्भावना पनि मर्ने अवस्थामा छन् । ‘नैनीताल र चम्पावत भन्दा डडेलधुरा धेरै सुन्दर छ,’ गत वर्ष भारतको उत्तर प्रदेश राज्यका समाजबादी पार्टीका प्रान्तीय प्रवक्ता जयपाल यादवले डडेलधुरा आउंँदा दिएको प्रतिक्रिया हो । जसलाइ भारतीय अखबार दैनिक जागरण र अमरउजालाले प्रमुख साथ प्रकाशन गरेका थिए । डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘व्यवस्थित गर्न सके यो उत्तर प्रदेशका वासिन्दाको गर्मी बिताउन आउने उपयुक्त गन्तव्य बन्न सक्छ ।’ चम्पावत र नैनीतालवाट हिमाल देख्न पाइँदैन तर डडेलधुराबाट अपी साइपालसँगै गणेश हिमालसम्मका १२ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।


हिउंँदमा पारिलो घाम र गर्मीमा सिरक ओढेर सुत्नुपर्ने उत्कृष्ट मौसम भएको डडेलधुरामा पछिल्ला ५ वर्षयता सीमा क्षेत्रका भारतीय आउने क्रम पनि सुरु भएको छ । तराइका कैलाली, कञ्चनपुर, वांके र वर्दियावाट गर्मि मौसममा घुम्न आउनेको संख्या बढ्दै गए पनि डडेलधुरालाइ ब्यबस्थित वनाउनेतर्फ कसैको ध्यान गएको छैन । उत्तराखण्ड राज्यको चम्पावत र नैनीताल पुग्न ४ सय ८० किमिको तुलनामा डडेलधुरा झन्डै ९० किमि नजिकको हिल स्टेसन हो ।


‘हामीले माल पाएर चाल नपाएका हौं,’ होटेल व्यवसायी दान भण्डारी भन्छन्, ‘नगरपालिका वनेको २२ वर्ष बितिसक्दा पनि डडेलधुरा गाउंँको डोके बजार जस्तै छ ।’ ०५४ सालमा नगरपालिका घोषणा भएको डडेलधुरामा अहिलेसम्म एउटा ब्यबस्थित वस पार्क वन्न सकेको छैन । ‘बजारमा दुइवटा यातायातका साधनसंँगै गुड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘एकपटक गठन भएको नगर विकास समिति समेत राजनीतिको शिकार भयो ।’ ढल निकास, ब्यबस्थित शहरीकरण, खानेपानीको उचित प्रवन्ध, सडक, वाटोघाटो र ऐतिहासिक तथा धार्मिक सम्पदाको उचित संरक्षण गरेर पर्यटकीय हिल स्टेसनका रुपमा विकसित गर्न सके डडेलधुरा यस क्षेत्रकै प्रसिद्ध हिल स्टेसन वन्न सक्ने भण्डारीको भनाइ छ ।


नगर विकास समितिका पूर्वअध्यक्ष डिल्लीराज जोशीले कार्यकाल सुरु नहुंदै समिति विघटन हुंदै गएपछि विकासको अभ्यास कुनै पनि समितिले गर्न नपाएको बताए । उनले भने, ‘रामचन्द्र चटौत नगर विकास समिति अध्यक्ष हुंँदा डडेलधुराको गुरु योजना निर्माण भएको हो तर त्यो कहिलेपनि कार्यान्वयन हुन भने पाएन ।’


नगर विकास समिति बन्ने बिघटन हुने क्रम चलिरहँंदा डडेलधुरा सदरमुकाम छेउछाउका धेरैजसो सार्वजनिक जग्गा पछिल्लो समय अतिक्रमण भइसकेका छन् । अतिक्रमणसँगै ठूला संरचनासमेत निर्माण भइसकेका छन् ।

प्रकाशित : आश्विन ४, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?