कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बालिकामाथि हुने हिंसा बढ्यो 

धनगढी — धनगढीकी १६ वर्षीया तुलसी पाण्डेले (नाम परिवर्तन) गत भदौदेखि बाल हेल्प लाइन धनगढीको कार्यालयमा आश्रय लिएकी छिन् । उनी आफन्तबाटै हिंसामा परेकी हुन् । सानै छँदा उनका बुवाले दोस्रो विवाह गरे ।

केही महिनापछि उनकी आमाले पनि अर्को विवाह गरिन् । ‘बुबाआमा छोराछोरीप्रति जिम्मेवार नबन्दा साह्रै दु:ख हुँदो रहेछ,’ तुलसीले भनिन् ‘बुबाले मलाई पिट्न थालेपछि आमासँगै सौतेलो बुबाको घर गएँ । त्यहाँ पनि राम्रो व्यवहार भएन ।’


आमा भएको ठाउँमा पनि उनीमाथि हिंसा र दुर्व्यवहार रोकिएन । फुपाजुले पढाइदिन्छु भन्दै आफ्नो घर कैलाली ल्याए । फुपाजुको घरमा केहि समयको बसाइपछि काका र काकाका छोरा दाजु नाता पर्नेसँग विवाह गर्न दबाब आयो । त्यसबेला तुलसी १४ वर्षकी थिइन् । काका र फुपाजुले भनेपछि उनले टार्न सकिनन् । ‘त्यो केटाले विवाह गरी मलाई काठमाडौं लिएर विभिन्न वहानामा यातना दिन थालियो,’ उनले सुनाइन् । आफ्नै पतिबाटै यातना हुन थालेपछि उनी बाल हेल्प लाइन धनगढीको सम्पर्कमा आएकी हुन् । ‘धेरै समय त चुपचाप सहेर बसेँ । तर पनि म माथिको यातना रोकिएन,’ उनले भनिन्, ‘शरीर दुखेर खपिनसक्नु पीडा हुन्छ ।’


सुदूरपश्चिममा बालिकामाथि हिंसा बढ्दो क्रममा रहेको बाल अधिकारकर्मीहरू बताउँछन् । सिबिन नेपाल कैलालीका संयोजक विष्णु पौडेल भन्छिन्, ‘पछिल्लो तथ्यांकअनुसार बालबालिकाहरू माथि हुने गरेको हिंसाका घटना बढेका देखिएका छन् । आफ्नै घरपरिवार र आफन्तबाट हिंसामा पर्नेको संख्या अत्यधिक देखिन्छ ।’ कतिपय बालबालिकहरू आफ्नै आमाबुबाबाट त केही आफ्नै नातागोताबाट हिंसामा परेका उनले बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा पनि बाल हिंसाका घटनाको उजुरी आउने क्रम बढ्दो छ । गत आव ०७५/७६ मा ३७ बालिकामाथि जबरजस्तीकरणी, ९ बालिकामाथि जबरजस्तीकरणी प्रयास (उद्योग), १ जनाको बाल विवाह, १ बालिकाको गर्भपतन र २ बालिका बेचबिखनमा परेका छन् ।


चालु आवको हालसम्म ६ बालिका जबरजस्तीकरणी, १ बालिका जबरजस्तीकरणी उद्योग, २ बालिका मानव बेचबिखन तथा ओसारपसारका घटनामा परेका छन् । कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले लागूऔषध, सामाजिक सञ्जालको दुरुपयोगका कारण बाल हिंसाका घटनामा वृद्धि भइरहेको बताए । उनले स्थानीय सरकारबाटै यससम्बन्धी जनचेतनाका कार्यक्रम सञ्चालन गरिनुपर्ने औंल्याए । विद्यालय जाने उमेरका बालबालिकाहरूले जोखिमयुक्त काममा लाग्नुपर्ने बाध्यतासमेत बालकालिकामा छ ।

प्रकाशित : आश्विन ३, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?