कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

छात्राहरू नियमित विद्यालय

विभिन्न स्वास्थ्य, सरसफाइलगायत विषयमा किशोर–किशोरीहरूलाई साताको एकदिन विशेष कक्षा
तृप्ति शाही

(बैतडी) — यहाँका कतिपय विद्यालयमा छात्राहरू अझै नियमित विद्यालय जान पाउँदैनन् । महिनावारी भएका बेला र घरमा केही काम परेपछि छोरीहरूको पढाइ रोकिन्छ । तर बैतडीकै एउटा विद्यालय भने यस्तो छ, जहाँ छात्राहरूले कहिल्यै पढाइ छुटाउँदैनन् । 

छात्राहरू नियमित विद्यालय

पाटनमा रहेको ज्ञानेश्वर माविका छात्रा कहिल्यै गयल हुँदैनन् । यहाँ अध्ययनरत छात्राहरू पनि विगतमा महिनावारीका बेला विभिन्न कारणले विद्यालय आउँदैनथे । अहिले त्यो चलन छुटेको छ ।


‘पहिलेपहिले धेरै दिन विद्यालय छुट्थ्यो । बाटोमा पर्ने देवीदेउताका मन्दिर, विद्यालयमा शौचालय, पानी, प्याडको सुविधा नहुने भएकाले महिनावारीका बेला विद्यालय रोकिन्थ्यो’ कक्षा १२ मा अध्ययनरत शान्ती बिष्टले भनिन् ‘हिजोआज पहिलाको जस्तो छैन । विद्यालयमा पानी, प्याड, र शौचालयको व्यवस्था छ ।’ विद्यालयमै प्याड निर्माण गर्न थालिएकोले लाज पनि हट्दै गएको उनले बताइन् । विगतमा कुनै दिन बीचमै कक्षा छोडेर घर जानु नपरेको उनले सम्झिइन् ।


विगत जस्तो पढाइ छुटाउनु पर्ने बाध्यता विद्यालयका शिक्षक र शिक्षिकाहरूको सकारात्मक प्रयासले हटेको अर्की छात्रा विष्णा भण्डारी बताउँछिन् । केहि अघिसम्म महिनाको ५ दिनसम्म स्कुल छुट्दा पढाइ छुट्ने, केहि नबुझिने, परीक्षामा समस्या झेल्नु परेको उनले बताइन् । उनले भनिन्, ‘अहिले त पढाइमा निरन्तरता मात्रै हैन, हाम्रो विद्यालयमा त प्याड बनाउन पनि सिकाउँछन् । किताबी ज्ञानसँगै उमेर बढ्दै जाँदा हुने शारीरिक परिवर्तनलगायतका अन्य कुराहरू पनि सिकाउने गरिन्छ ।’


शिक्षकहरूले आफुहरूसँगै घरपरिवारका सदस्यहरूलाई पनि कार्यक्रमहरू गरेर महिनावारी भएको समयमा पनि छोरीहरूलाई विद्यालय पठाउनु पर्छ भनेर सम्झाउने गरेका छन् । केहि समय अघिसम्म कतिपय अभिभावकहरू बाटोमा देवीदेवताका मन्दिरहरू पर्ने भन्दै छोरीलाई महिनावारीका बेला विद्यालय जान रोक्थे । तर अहिले उनीहरू नै फरक नपर्ने भन्दै छोरीहरूलाई विद्यालय जान प्रेरित गर्ने गरेको जयन्ती भण्डारीले बताइन् ।


अहिले विद्यालयमा छात्र भन्दा छात्राहरूकै संख्या बढी रहेको छ । २ सय ६५ विद्यार्थीहरू रहेको ज्ञानेश्वरमा छात्राको संख्या २० बढि छ । कक्षा १२ मा ८ जना छात्रहरू रहेकोमा ३८ जना छात्राहरू रहेका छन् ।


छात्राहरूको सुविधामा जोड दिइएकोले यो अवस्थामा आइपुगेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । पानी, छात्राहरूको लागि बेग्लै शौचालय, आराम गर्ने कोठा, किशोर किशोरी मैत्री कक्षाकोठा भएकाले छात्राहरू महिनावारी भएको बेला पनि विद्यालयमा नियमित आउने गरेका उनले बताए ।


छात्राहरू महिनामा ४ दिन लगातार गयल हुन थालेपछि विद्यालयले सुधारको अभियान सुरु गरेको महराले बताए । उक्त अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले पनि सहयोग गरेका उनको भनाई छ । विद्यालयले छात्राहरूलाई प्याड बनाउन र प्रयोग गर्न सिकाउने गरेको शिक्षक महराले बताए । उनले भने, ‘विभिन्न स्वास्थ्य, सरसफाईलगायतका विषयमा किशोर किशोरीहरूलाई साताको एक दिन कक्षा पनि दिने गरेका छौ ।’


सबैको प्रयासले विद्यालयले शैक्षिक गुणस्तरमासमेत फड्को मार्न थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्ट बताउँछन् । विद्यालयलाई शिक्षा मन्त्रालयले नमूना विकास विद्यालयमा छनोट गरेको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?